कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पोखरा महानगरको नीति तथा कार्यक्रम : पुरानै योजनालाई निरन्तरता

जनप्रतिनिधिलाई ५ दिन पर्यटन बिदा
बहुउद्देश्यीय टावर र घण्टाघर निर्माण गरिने 
दीपक परियार

पोखरा — अधिकांश चालु वर्षकै योजनालाई निरन्तरता दिने गरी पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । महानगरले नयाँ योजनाको घोषणा नगरी क्रमागत योजनाहरू सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिएको हो ।

पोखरा महानगरको नीति तथा कार्यक्रम : पुरानै योजनालाई निरन्तरता

महानगर प्रमुख मानबहादुर जीसीले नवौं नगरसभामा आगामी वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । कोभिड नियन्त्रण, पूर्वाधार, सुशासन तथा सेवा प्रवाह, शिक्षा, खेलकुद, भाषा, कला, साहित्य, संस्कृति, युवा तथा स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य तथा सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, पर्यटन, सहकारी, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति, राजस्व प्रशासन सुधारतर्फ आगामी वर्षको योजना उनले सुनाए । आगामी आर्थिक वर्षमा जनताले विकासको प्रतिफल महसुस गर्न पाउने गरी नीति तथा कार्यक्रम आएको उनको दाबी छ ।

संघ सरकारले कर्मचारीको हकमा छुट्याएको १० दिनको पर्यटन बिदाको अवधारणालाई पछ्याउँदै पोखरा महानगरले जनप्रतिनिधिलाई ५ दिन त्यस्तो बिदा दिने भएको छ । पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रको साझेदारीमा पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गर्ने महानगरले जनाएको छ । निजी क्षेत्रको सहकार्यमा पोखरा कोसेली घर सञ्चालन गरिने र पोखरा घण्टाघर निर्माणलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि उत्पादनलाई पर्यटन स्तरीय होटल एवं रेस्टुरासँग आवद्ध गर्ने नीति निर्धारण गरिएको छ । पोखरा–१९ लाई ट्राउट माछा उत्पादन पकेट क्षेत्र घोषणा गरी ट्राउट माछा फर्म विस्तार तथा प्रवर्द्धन गरिने भएको छ ।

कोभिडको महामारीमा करको भार नपार्ने भन्दै आगामी आर्थिक वर्षमा करका दरमा महानगरले वृद्धि गर्न प्रस्ताव गरेको छैन । तर सबै प्रकारका कर दस्तुर तथा शुल्कलाई वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटि सच्याउने महानगरले बताएको छ । कोभिड १९ को कारणले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीलाई समय सीमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गर्ने नीति महानगरले लिएको छ ।

फेवाताललगायत पोखराका अन्य ७ तालको सीमांकन सम्पन्न भइसकेकोले उक्त तालको मापदण्ड निर्धारण आगामी आर्थिक वर्षमा गर्ने महानगरको योजना छ ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन हाल पोखरा–१४ मा रहेको ल्यान्डफिल साइट हटाउनुपर्छ । ल्यान्डफिल साइट व्यवस्थापनको लागि जमिन खरिद गरी निर्माण सुरु समिति बनाएर जग्गा खोज्ने जिम्मा महानगरले दिएको छ । स्थायी स्यानिटरी ल्यान्डफिल व्यवस्थापन नभएसम्म अस्थायी ल्यान्डफिलको व्यवस्थापन गरेर विमानस्थल सञ्चालनमा सहजीकरण गर्ने योजना महानगरको छ ।

पूर्वाधारतर्फ कनेक्टिङ सडक, अस्फाल्ट पिच, उज्याले पोखरा अभियानलाई निरन्तरता दिइएको छ । तालचोक–बेगनास सडक निर्माण सुरु हुने बताइएको छ । महानगरको प्रशासकीय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । भवन निर्माणपश्चात् हाल न्युरोडमा रहेको कार्यालय पोखरा–१२ मा स्थानान्तरण हुने छ । पोखरा सभागृह जीर्णोद्धारको कार्य थालनी महानगरले गर्ने छ । पोखराको सिटी बस टर्मिनल निर्माण, लामेआहालमा प्रस्तावित बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समिति एवं गण्डकी प्रदेश सरकारका सम्बन्धित कार्यालयसँग सहकार्य गर्ने, पोखरा–१४ बीपीमार्ग नजिकै स्थानीय बसपार्क निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखराको बाहिरी चक्रपथ निर्माणको पूर्व सम्भाव्यता अध्ययन समेतका आधार विस्तृत सम्भाव्यता अध्ययन थाल्ने जनाइएको छ ।

कोरोना महामारीले अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई उकास्नका लागि व्यावसायिक तथा व्यापारिक भवन निर्माणमा नक्सा पास दस्तुर छुट गर्ने नीति महानगरले लिएको । घर नक्सा पास गर्दा अनिवार्य रुपमा गुगल प्लस कोड अंकित गरिने बताइएको छ । वडा कार्यालयहरुको भवन निर्माण अभियानलाई महानगरले निरन्तरता दिने भएको छ । सहरमा सीसीटीभीको नेटवर्क जडान गरी जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम स्थापना गर्ने, सार्वजनिक सम्पत्तिको निगरानी तथा नियन्त्रणको लागि नगर प्रहरीलाई थप जनशक्ति तथा स्रोत साधनयुक्त बनाइने महानगर प्रमुख जीसीले बताए । व्यवसाय करलाई डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने पूर्वाधार निर्माण गरी सेवा आरम्भ गर्ने महानगरको योजना छ ।

फिर्के खोला, विजयपुर खोला, सुइखेत खोला, भोटी खोला, स्यानी खोला, स्याङखुदी खोला, गुप्तेश्वर गुफा क्षेत्र र फुस्रे खोला क्षेत्रको मापदण्ड विज्ञ कार्यदलको सुझावका आधारमा परिमार्जन गर्ने महानगरले जनाएको छ । शिक्षातर्फ स्थानीय विषयवस्तु र परिवेश समेटी तयार गरिएको स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने बताइएको छ । सामुदायिक स्वास्थ्य संस्थाको सहकार्यमा एक विद्यालय एक प्राथमिक उपचार एकाइ, एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम कार्यान्वयन गर्दै लगिने उल्लेख छ ।

‘एक टोल, एक खुल्ला क्षेत्र, एक खुल्ला क्षेत्र एक व्यायामशाला कार्यक्रम’ कार्यक्रमलाई निरन्तरता दिँदै महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्ने छ । पोखरा–२७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइएको छ । विपद् उत्थानकार्यमा युवा परिचालन गर्न एक वडा एक विपद् उद्धार समूह तयार गरी परिचालन गरिनेछ । सीमान्तकृत तथा एकल महिलालाई लक्षित गरिएको उपमेयरसँग महिला कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । महानगरले कर्मचारी सेवा विधेयक, २०७८ पनि नगरसभामा पेश गरेको छ ।

प्रकाशित : असार ९, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?