कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अर्नाकोट विमानस्थल बनाउन अध्ययन गरिने

२ सय ७९ रोपनी जमिन अधिग्रहणका लागि सर्वेक्षण
प्रकाश बराल

बागलुङ — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा बागलुङको अर्नाकोट विमानस्थल निर्माण योजनालाई समेटेपछि स्थानीय उत्साहित भएका छन् ।

अर्नाकोट विमानस्थल बनाउन अध्ययन गरिने

ढोरपाटन नगरपालिका–२ र निसीखोला गाउँपालिका–२ को बीचमा पर्ने अर्नाकोटमा विमानस्थल बनाउन तीन वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको थियो । यसपल्टको बजेटले सम्बोधन गरेपछि विमानस्थल बन्नेमा स्थानीय आशावादी छन् ।

सरकारी लगानीमै बनेको डीपीआरअनुसारको काम गर्न प्रदेश सरकारले अध्ययन गर्ने बजेटमा उल्लेख छ । सरकारी लगानीमा कन्सल्ट्यान्टमार्फत बनाइएको डीपीआरअनुसार विमानस्थल निर्माण गर्न स्थानीयले माग गरिरहेका थिए । अर्नाकोटका चूडामणि पौडेल विमानस्थलबाट पश्चिम बागलुङसहित रुकुम र रोल्पावासीले पनि फाइदा लिन सक्ने बताउँछन् । ‘चर्चा चल्यो, डीपीआर पनि भयो, तर अलपत्र जस्तै थियो, अहिले बजेटमा सुन्न पाइयो,’ उनले भने । यहाँबाट सिकार आरक्ष पुग्ने पहाडी पदमार्ग छ । मध्यपहाडी लोकमार्ग हुँदै रुकुमतर्फ जान सडक कालोपत्रे भइसकेको छ ।

यो विमानस्थल बनेमा बुर्तिवाङदेखि अर्नाकोटसम्मको ५ किलोमिटर सडक स्तरीय बनाउन नगरपालिकालाई पनि दबाब पुग्नेछ । हाल कच्ची सडक मात्रै यहाँ पुगेको छ । विमानस्थल बन्ने भएमा सडक कालोपत्रे बनाउन लगानी गर्ने ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बताए । नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा विमानस्थल निर्माणको सैद्धान्तिक सहमतिका लागि डीपीआर पठाएका थिए । प्रदेश सरकारले पनि चासो राखेपछि लगानी जुट्नेमा स्थानीय ढुक्क बनेको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । ‘बजेटमा बोलिएको छ, लगानी भइदिए हुन्थ्यो,’ उनले भने, ‘पश्चिम बागलुङको गौरवको आयोजना भएकाले सबैको साझा चासो छ ।’

विमानस्थल निर्माण गर्न अर्नाकोटको २ सय ७९ रोपनी जमिन अधिग्रहणका लागि सर्वेक्षण भइसकेको हो । यहाँको केही खण्ड आवादी छ भने केही खण्ड झाडी छ । एयरपोर्ट सञ्चालन गर्न झन्डै एक सय घरसमेत सार्नुपर्छ । स्थानीयले आवादीसहित केही झाडी भएको खण्ड फाँडेर भए पनि विमानस्थल बनाउन सक्रियता देखाएका थिए । मध्यपहाडी लोकमार्ग र गोरुसिंगे, सालझन्डी ढोरपाटन मार्गले यो विमानस्थलको भूगोल नजिक बनाएको छ । अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्न सक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि रियल पार्ट इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर गुरुप्रसाद अधिकारी नेतत्वमा डीपीआर बनाइएको थियो । ७ सय मिटर रनवेसहित झन्डै एक किलोमिटर लामो मैदान बनाउन सकिने डीपीआरमा उल्लेख छ । ढोरपाटन सिकार आरक्ष जाने पर्यटक लक्षित यो विमानस्थल निर्माण भएमा गुल्मी, प्यूठान र बागलुङका धेरैले उपयोग गर्ने पौडेलले बताए ।

‘सात सय मिटर लामो र एक सय मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ,’ अधिकारीले भने, ‘समुद्री सतहबाट २ हजार मिटर उचाइमा भएकाले पर्यटककीय दृष्टिले पनि उत्तम देखियो ।’ यो स्थान बुर्तिवाङ बजारदेखि ५ किलोमिटर कच्ची सडकमा पुग्न सकिन्छ । यहाँबाट आरक्षसम्म पदमार्ग बनाउने नगरपालिकाको योजना छ । त्रिभुवन विमानस्थलबाट यो प्रस्तावित विमानस्थल १ सय २४ ‘नटिकल माइल’को दूरीमा छ ।

आरक्षभित्र पनि दसकौं अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीयले बताए । नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाई मैदान उपयोगी हुने स्थानीयको मत छ । डीपीआरले २ अर्ब रुपैयाँमा ट्वीनअटर विमान आउने स्तरीय हवाइ मैदान बनाउन सकिने सुझाव दिएको थियो । यहाँ अध्ययन र प्रतिवेदनका लागि ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित : असार ९, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?