२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राजमार्गको विकल्पमा नयाँ सडक

बागलुङ — मध्यपहाडी लोकमार्गको बुर्तिबाङदेखि रुकुमतर्फको खण्डमा जेठबाटै दर्जनौं पहिरो खसेको छ । पहिरोले सडक क्षतविक्षत बनाएको छ । दैनिकजसो झर्ने पहिरोले सडक अवरुद्ध भइरहेको छ ।


गत वर्ष पनि यो समस्या थियो । यो सडकको झन्डै ४० किमि खण्ड निसीखोला गाउँपालिकामा पर्छ । अत्यावश्यक सेवामा समेत असर परेपछि पालिकाले दुई वर्षदेखि वैकल्पिक सडकमा लगानी बढाएको छ ।

बायखोला झिम्पा निसी १५ किमि सडकका लागि गत वर्ष २ करोड र चालु वर्ष १ करोड रुपैयाँ लगानी गरेर स्तरीय बनाइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए । ‘यो खण्डमा खोला नभएकाले पहिरोको जोखिम छैन, दुई वर्षको लगानीले ग्राभेलजस्तै सडक बनिसकेको छ,’ शाक्यले भने, ‘मध्यपहाडीमा अवरोध आएमा यो सडक प्रयोग गर्न सकिन्छ ।’ निसीखोलाको पश्चिम किनारामा लोकमार्ग छ । पूर्वी किनारमा निर्माणाधीन सडकले व्याङ्ग्र, बायखोला, झिम्पालगायत बस्ती जोड्छ ।

पाँच वर्षअघि १५ करोड रुपैयाँमा यहाँको १९ किमि सडकको ट्र्याक खुलेको थियो । त्योमध्ये १५ किमि लोकमार्गको विकल्पकै रूपमा स्थापित भइसकेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । ‘यो सडकलाई वैकल्पिक सडक बनाउन १० मिटर चौडा पार्न संघीय र प्रदेश सरकारमा लगानी खोजिरहेका छौं,’ पौडेलले भने, ‘नियमित चलाउन सकियो भने रुकुम सीमादेखि बुर्तिवाङसम्म झन्डै १ घण्टा छोटो समयमा पुगिन्छ ।’ पूर्व–पश्चिम गुड्ने सवारीका लागि यो सडक झनै उपयोगी हुने उनले बताए ।

लोकमार्गको देवीस्थान, बाँयखोला र झिवाखोलामा बढी पहिरो खस्ने गरेको छ । वर्षातमा सडक छियाछिया भएकाले सवारी गुड्न सकेका थिएनन् । ‘कमजोर भूगोलका कारण नियमित पहिरो खस्ने र राजमार्ग अवरुद्ध हुने भइरहेको छ, विकल्पको सडकले सहज बनाएको छ,’ गाउँपालिका उपाध्यक्ष शोभा कार्कीले भनिन्, ‘यो सडक नहुँदा निसीदेखिका बासिन्दाले खाद्यान ढुवानी गर्न सक्दैनन् ।’ सडक अभावमा पिठ्युँमा भारी बोक्ने समस्या हटाउन पनि विकल्पको सडक उपयोगी छ ।

सडकको बुर्तिवाङतर्फको सुरुवाती खण्ड भने अप्ठ्यारो छ । खोलाछेवैमा सडक निर्माण गरे पनि झन्डै २ किमि जोखिम भएकाले स्थानीयले उक्त खण्ड पनि स्तरीय बनाउन माग गरेका छन् ।

प्रकाशित : असार ९, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?