निषेधाज्ञा खुकुलो बनाइँदै

पोखरा — कोरोना संक्रमणको दर घटेसँगै गण्डकी प्रदेशका जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । गण्डकीका ११ जिल्लामध्ये मनाङमा निषेधाज्ञा छैन । अन्य १० जिल्लामा निषेधाज्ञा खुकुलो बनाएर लम्ब्याइएको छ । 

निषेधाज्ञा खुकुलो बनाइँदै

कास्कीमा सोमबारबाट असार १५ सम्म निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारीसाधन चल्न पाउने छैनन् । निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

दैनिक उपभोग्य सामान बिक्रीवितरण गर्ने खाद्यान्न पसल बिहान ५ बजेदेखि मध्याह्न १२ बजेसम्म खोल्न पाइने छ । पसल सञ्चालन गर्दा अनिवार्य २ मिटरको भौतिक दूरी कायम राखी स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासनको आदेशमा उल्लेख छ ।

स्याङ्जामा पनि सोमबारदेखि असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको छ । निजी सवारीसाधन जोरबिजोरका आधारमा चल्न पाउनेछन् । सार्वजनिक सवारीसाधनले जिल्लाको सिद्धार्थ राजमार्ग खण्डमा यात्रु चढाउने र ओराल्ने गर्न पाउने छैनन् । बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा सञ्चालन गर्न पाउने छन् ।

लमजुङमा असार २ देखि थप भएको निषेधाज्ञा असार १० सम्म जारी छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थालाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिइएको छ । म्याग्दीमा आइतबार थपिएको निषेधाज्ञा असार १४ सम्म जारी रहनेछ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई परिमार्जन गर्दै सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू गरेको छ । निजी सवारी जोरबिजोरका आधारमा चल्ने बताइएको छ । तनहुँमा भने संक्रमण कम नभएको र गाउँगाउँमा कोरोना फैलिएको भन्दै असार १६ सम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

बागलुङमा सोमबार राति १२ बजेदेखि असार १५ सम्म परिमार्जनसहित निषेधाज्ञा लम्ब्याइएको छ । सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा चल्नेछन् । वित्तीय संस्था बिहान ९ देखि मध्याह्न १२ बजेसम्म र अत्यावश्यकबाहेकका पसल बिहान ७ देखि मध्याह्न १२ बजेसम्म खुल्न पाउनेछन् । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले असार ११ सम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार रातिदेखि असार ११ गते मध्यरातसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

समितिको बैठकले जिल्लाभर कोभिड संक्रमणको दर घट्दै गए पनि जोखिम भने रहेको जानकारी दिँदै नागरिकलाई सचेतना अपनाउन अनुरोध गरेको छ । मुस्ताङको थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा असार १५ सम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रकाशित : असार ९, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?