अन्त घट्दो, तनहुँमा बढ्दो

ग्रामीण बस्तीमा फैलिँदै कोरोना संक्रमण
सम्झना रसाइली

तनहुँ — गण्डकी प्रदेशका जिल्लामा कोरोना संक्रमणको दर घट्दै गए पनि तनहुँमा भने अझै बढ्दो छ । गत वैशाख महिनादेखि जिल्लामा दोस्रो लहरको कोरोना भाइरस संक्रमित भेटिन थालेका थिए । सुरुआती चरणमा बजार क्षेत्रमा देखिएको संक्रमण अहिले ग्रामीण क्षेत्रमा बढ्दै गएको हो ।

अन्त घट्दो, तनहुँमा बढ्दो

समुदायस्तरमै संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनीकरणका लागि भन्दै स्थानीय प्रशासनले गत वैशाख २३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । संक्रमणको जोखिम अझै कायमै रहेको भन्दै प्रशासनले असार १६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । निषेधाज्ञा जारी गरिए पनि संक्रमण दर भने घट्न सकेको छैन ।

निषेधाज्ञा जारी गरिएसँगै बजार क्षेत्रका बसिन्दा आ–आफ्नो गाउँघर फर्कंदा अहिले ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । विभिन्न सेवा सुविधा तथा रोजगारीका सिलसिलामा अन्यत्र गएका नागरिक पनि गाउँमै फर्किन थाले । ग्रामीण क्षेत्रमा प्रहरी प्रशासनको पनि सहज पहुँच नभएको र नागरिकको लापरबाहीका कारण गाउँगाउँमा कोरोना संक्रमणको दर बढ्दै गएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

‘निषेधाज्ञा जारी भएसँगै बजार क्षेत्रमा बसोबास गर्दै आएका नागरिक आ–आफ्नो गाउँतर्फ फर्किए,’ उनले भने, ‘गाउँमा विवाह, भोजभतेर, व्रतबन्धलगायतका शुभकार्य तथा अन्य भीडभाडजन्य गतिविधि बढ्न थाल्यो । त्यस्ता गतिविधिमा सहभागीले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सहभागी हुँदा गाउँमा कोरोना संक्रमण देखिन थाल्यो ।’ संक्रमण पुष्टि भएका पनि होम आइसोलेसनमा नबस्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी लापरबाही गर्दा अहिले गाउँगाउँमा कोरोना संक्रमण बढेको उनको भनाइ छ ।

सुरुआतमा बजार क्षेत्रमा देखिएको कोरोना संक्रमण अहिले ग्रामीण क्षेत्रका बासिन्दामा देखिन थालेपछि संक्रमण नियन्त्रणका लागि विभिन्न चुनौती झेल्दै आउनुपरेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । ‘कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका स्थानीयले परीक्षण गर्न नखोज्दा संक्रमित पहिचान गरी उपचारको दायरामा ल्याउन समस्या भएको छ,’ उनले भने, ‘जिल्लाका १० वटै पालिकामा रहेका स्वास्थ्य शाखा तथा इकाइलाई परिचालन गरी कोरोनसँग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिलाई परीक्षणको दायरामा ल्याउने, होम आइसोलेसनमा बसेकाको स्वास्थ्य अवस्था बुझ्ने तथा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारेका छौं ।’

अधिकांश संक्रमित ग्रामीण क्षेत्रका भएको हुँदा अहिले स्थानीय तहले संक्रमण देखिएका क्षेत्रको पहिचान गरी स्वास्थ्यकर्मीको टोलीसहित जनप्रतिनिधिसमेत कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणमा खटिँदै आएको भीमाद नगरपालिका प्रमुख मेखबहादुर थापाले बताए । अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बस्ने गरेका छन् ।

होम आइसोलेसनमा बस्दा खानपिन, रेखदेखमा पारिवारिक वातावरण हुने भए पनि केही संक्रमितको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल आउँदा उपचारमा समस्या आउने गरेको दमौली अस्पतालका प्रमुख डा.सुनील पौड्यालले बताए । उनले भने, ‘होम आइसोलेसनमा बस्ने पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाई सामाजिक तथा भौतिक दूरी कायम गरी बस्ने हो भने नियन्त्रणमा केही सहज हुने थियो ।’

तेस्रो लहरको कोभिड संक्रमणलाई समेत लक्षित गरी अहिले कोभिड अस्पताल तथा केन्द्रलाई व्यवस्थित र आवश्यक पूर्वाधार थप्दै लगिएको र अक्सिजन प्लान्ट निर्माणको कामलाई पनि प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ ।

जिल्लामा हालसम्म २ हजार ८ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख गरिएको छ । संक्रमितमध्ये ५५ जनाको कोभिड अस्पतालको आइसोलेसन, आईसीयू तथा एचडीयूमा राखेर उपचार भइरहेको छ । वैशाख महिनायता कोरोना संक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ भने पहिलो लहरको कोरोना संक्रमणबाट तनहुँका २५ जनाले ज्यान गुमाएका थिए । कोरोना संक्रमणबाट जिल्लामा १ सय २ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार ८, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?