कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पुल भत्किएपछि खाद्यान्न संकट

नारायण शर्मा

पूर्वी नवलपरासी — डेढगाउँ पुल भत्किएपछि पहाडी भेगमा खाद्यान्न संकट सुरु भएको छ । तनहुँ र नवलपरासीको पहाडी उत्तरी भूभाग जोड्ने कालीगण्डकी नदीमाथि रहेको पुल भत्किएको एक सातामै खाद्यान्न संकट भएको हो ।

पुल भत्किएपछि खाद्यान्न संकट

तनहुँको रिसिङ र नवलपरासीको डेढगाउँ बीचमा रहेको कालीगण्डकी नदीमाथि रहेको पक्की पुल बाढीले एक साताअघि भत्काएपछि त्यहाँ आउजाउ बन्द भएको छ ।

तनहुँको दुलेगाैंडा र अन्य बजारबाट खाद्यान्न लगायतका सामाग्री आपूर्ति भएर पहाडी जनजीवन धानिँदै आएको थियो । नवलपरासीकै दक्षिणी भूभागमा पर्ने खोलामा रहेको पुल बाढीले बगेपछि यहाँबाट खाद्यान्न लगायतका सामाग्री ढुवानी हुन सकेको छैन । पुल भत्किएका कारण दुर्गम भेगका डेढ लाख भन्दा बढी स्थानीयलाई खाद्यान्न लगायतका समाग्री अभाव भएको हो । दुर्गममा उब्जिएको अन्नपातले वर्षभरि खान नपुग्ने हुदा चामल, मकै कोदो, गहुँ लगायत किनेर जोहो गर्न पर्ने अवस्थामा स्थानीय रहेका छन् । ‘पहाडमा खाद्यान्न संकट भइसक्यो’, डेढगाउँका प्रदेशसभा सदस्य विष्णु लामिछानेले भने, ‘पुल चाँडो मर्मत गरेर यातायात सञ्चालन गर्न नसके स्थानीयहरु भोकमरीमा पर्ने जोखिम बढेको छ ।’

लामिछानेले पुलको मर्मत सम्भारका लागि संघीय सडक निर्देशनालय पोखराका निर्देशक देवकुमार तामाङसँग सोमबार दमौलीमा छलफल गरेका छन् । तामाङले सोमबार नै दुई जना प्राविधिक खटाएर पुलको अवस्थाका बारेमा सर्भे गर्न खटाएको जानकारी टेलिफोनमा जानकारी दिए । उनले पुल मर्मतको काम तत्काल अघि बढाउन सडक डिभिजन कार्यालय दमौलीलाई निर्देशन दिएका छन् ।

प्रकाशित : असार ७, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?