१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अझै खुलेन चामेको ताल, बाढी नघट्दा जोखिम उस्तै

आश गुरुङ

लमजुङ — मनाङको माथिल्लो क्षेत्र हुम्डेमा पहिरो खसेपछि स्वाभाविक लयमा बग्न नसकेको मस्र्याङ्दी नदी आइतबार ठूलो भेलले खुलाइदिएको छ । चामेमा बनेको ताल भने अझै फुटाउन सकिएको छैन । 

अझै खुलेन चामेको ताल, बाढी नघट्दा जोखिम उस्तै

वर्षासँगै माथिल्लो क्षेत्रबाट बाढी आइरहेकाले जोखिम कायमै रहेको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका–१, तल्लो पिसाङमा बाढीका कारण ५ घर कोल्टिएका छन् ।

सदरमुकाम चामेमा भने शनिबार बिहानदेखि मनाङ जाने बेलिब्रिजमाथिबाट बाढी बगिरहेको छ । चामे बजारबाट बग्ने घट्टेखोलाले ल्याएका रूख र ठूलाठूला ढुंगा मस्र्याङ्दीमा अड्किएकाले उक्त क्षेत्रमा ताल बनेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले मस्र्याङ्दी नदीको बाढीमा कुनै कमी नआएकाले जोखिम कायमै रहेको बताए । उनका अनुसार नेपाली सेनाले बम विस्फोट गराएर ताल फुटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । ‘ठूलो ड्रिलिङ मेसिन चाहिनेमा त्यो हाल मनाङमा छैन । पानीमा बम विस्फोट गराउँदा जोखिम बढ्ने, बम नपड्किने समस्या हुन्छ । निरन्तर पानी परिरहेकाले समस्या परेको छ,’ लामिछानेले भने ।

सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीले चामेमा बनेको ताल खुलाउने प्रयास भइरहेको बताए । ‘सशस्त्रको सबै शक्ति उक्त ठाउँको बाढी खुलाउन लागेको छ तर निरन्तरको वर्षाले बाढी नघट्दा समस्या परेको छ,’ उनले भने ।

जेठ ३१ रातिदेखि परेको वर्षाले मनाङमा ५६ घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । २ सय घर जोखिममा पारेको छ । मस्र्याङ्दी नदी र शाखाका खोलानालामाथि बनेका बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् आयोजना प्राय: सबै बगाएको छ ।

प्रकाशित : असार ६, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?