पर्वतका सबैजसो सडक अवरुद्ध

गाउँमा खाद्यान्न ढुवानीसमेत रोकियो
अगन्धर तिवारी

पर्वत — अविरल वर्षाका कारण ठाउँठाउँमा बाढीपहिरोले ल्याएको गेग्रानले सडक भत्किएपछि पर्वतका सबैजसो ग्रामीण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । निषेधाज्ञा खुकुलिएर ग्रामीण बस्तीमा खाद्यान्न पुर्‍याउने समयमै सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीसमेत रोकिएको छ ।

पर्वतका सबैजसो सडक अवरुद्ध

बिहादी, पैयँुं र महाशिला जोड्ने तथा कुश्मा, जलजला र मोदीका ग्रामीण क्षेत्रमा पुग्ने सडक अवरुद्ध भएका हुन् । कुश्मा–जलजला र कुश्मा–फलेबास जोड्ने मुख्य सडकसमेत लगातारको वर्षाका कारण दैनिकजसो अवरुद्ध छन् । पर्वतको मुख्य मध्यपहाडी राजमार्गसमेत दैनिकजसो अवरुद्ध हुँदा उक्त सडकको यात्रा असहज भएको छ । पर्वतको कुश्मा–४ डम्डारेखोला र कुश्मा–१ सहस्रधारामा दैनिकजसो पहिरो खसेपछि पन्छाएर सवारी सञ्चालन गर्न समस्या भएको पर्वत प्रहरीले जनाएको छ । ‘यो साता दिनदिनै सडकको पहिराकै चिन्ता छ,’ पर्वत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रदीप पौडेलले भने, ‘गेग्रान हटाएर नसक्दै अर्को पहिरो खसिसक्छ । सहस्रधाराको पहिरोले निधै दुःख दिएको छ ।’ शुक्रबार राति खसेको पहिरो शनिबार दिउँसोतिर खुलाइएको उनले बताए ।

कुश्मा र फलेबासकै मुख्य सडकसमेत अवरुद्ध भएपछि सर्वसाधारणले सवारीसाधन छोडेर पैदल यात्रा गर्नसमेत सहज छैन । तीन साताअघि बिहादी–३ खहरेखोलामा खसेको पहिरो हटाउन पहल नहुँदा दक्षिणको बिहादी र पैयुँका कतिपय गाउँपालिकामा खाद्यान्न ढुवानी रोकिएको छ । ‘ठूलै पहिरो खसेको थियो,’ बिहादी गाउँपालिकाका इन्जिनियर सञ्जय लामिछानेले भने, ‘खसेको पहिरो जति फाले पनि माथिबाट खस्न नरोकिएपछि समस्या भएको छ ।’ उनका अनुसार खबराको भीरमा पैदल हिँड्नसमेत मुस्किल छ । बिहादीवासीलाई कुश्मा हुँदै अन्य जिल्ला पुग्ने एक मात्रै मुख्य सडक अवरुद्ध हुँदा दैनिक अत्यावश्यक सामान ढुवानीमा गम्भीर समस्या भएको बिहादीका चन्द्रबहादुर विकले बताए ।

निरन्तरको झरीका कारण पर्वतको दक्षिणका प्रायः सबै सडक अवरुद्ध भएपछि तीन गाउँपालिका र एक नगरपालिकासहित २५ वडाका बासिन्दा र छिमेकी बागलुङको जैमिनी नगरपालिकाका सर्वसाधारण समस्यामा परेका छन् । दक्षिणका पाङ्राङ, बाच्छा, होस्राङ्दी, टकलाक, सरौंखोला, रानीपानी, हुवास, भोर्ले, त्रिवेणीलगायत दुई दर्जन वडा जोड्ने खानीगाउँ–पाङ्राङ–त्रिवेणी र चिर्दी–लुङ्खु–हुवास सडक अवरुद्ध छ । ‘सडक बिग्रिएपछि बिरामी भइहाले अस्पताल पुग्न पनि गाह्रो छ,’ पैयुँको टोपप्रसाद बस्यालले भने, ‘बर्खामा सधैं यस्तै हो । अहिले त सुरुमै ध्वस्त भयो ।’ सडकका ठाउँठाउँका पहिराले पुरेपछि गम्भीर बिरामीलाई स्ट्रेचरमा बोकेर लैजान पनि समस्या परेको पाङ्राङका राधाकृष्ण पाठकले बताए ।

असार सुरु भएसँगै जिल्लाका सबैजसो ग्रामीण कच्ची सडकमा सवारी गुडेका छैनन् । वर्षा नरोकिएकाले अझै कुन स्थानमा कति क्षति हुने हो भन्न नसकिने स्थानीय तहका प्रमुख र सरोकारवालाले बताएका छन् । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार निरन्तर झरी परिरहेको र केही सडकसमेत अवरुद्ध भएकाले क्षतिग्रस्त सबै क्षेत्रको अवलोकनसमेत गर्न सकिएको छैन । बाढीका कारण पर्वतको जलजलाका मात्रै करिब ७० परिवार विस्थापित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

प्रकाशित : असार ६, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?