बाढीपहिरो पीडित : कोही त्रिपालमा, कोही छिमेकीका घरमा- गण्डकी - कान्तिपुर समाचार

बाढीपहिरो पीडित : कोही त्रिपालमा, कोही छिमेकीका घरमा

ज्यान बच्यो तर खान, लाउन र बस्नको चिन्ता सुरू, राहतका लागि पहल गर्दै जनप्रतिनिधि
प्रदेश ब्युरो

पोखरा — बूढीगण्डकी नदी बस्तीतर्फ सोझिएपछि चुमनुब्री गाउँपालिका–३ सल्लेरिका चार घर बगाएको छ । जोखिम बढेपछि गाउँका सबै जना घर छाडेर पखेरामा त्रिपाल टाँगेर बसेका छन् ।

बूढीगण्डकी उर्लिएपछि घर छाडेर पखेरामा त्रिपाल टाँगेर बसेका चुमनुब्री–३ सल्लेरीका स्थानीय । तस्बिर सौजन्य : राजेन्द्र पराजुली

विस्थापित बनेकालाई ओतसँगै खानाको चिन्ता छ । ‘घरमा बस्ने स्थिति छैन, गण्डकीको छाल आँगनसम्मै आएको छ,’ पीडित इन्द्रबहादुर गुरुङले भने, ‘गाउँको कुनाको भित्ताको पाखामा टेन्ट टाँगेर बसेका छौँ, ठूलो पानी परे त्यहाँ पनि जोखिम छ । खानेकुराको पनि उस्तै समस्या छ ।’ खाद्य संस्थानबाट खरिद गरेको चामलले अहिले छाक टरेको उनले बताए । सल्लेरीका २५ घरपरिवार अहिले पखेरामा त्रिपाल हालेर बसेको स्थानीयले बताए ।

सूर्यबहादुर गुरुङको ६, सुन्दर गुरुङको ७, लक्ष्मण गुरुङको ४ र थरपति गुरुङको १ जनाको परिवार बुधबारबाट आमा समूहको भवनमा छन् । बुधबारका तुलनामा बिहीबार बूढीगण्डकीको बहाव घटे पनि बस्तीका घरमा गएर बस्ने अवस्था नरहेको स्थानीय गणेश कार्कीले बताए । गाउँको बाटोमुनिका ९ घर उच्च जोखिममा छन् । पुरानो घर भत्काएर जस्तापाता सार्ने अवस्था पनि नरहेको उनले बताए । दुवैतर्फ चट्टान रहेको र बीचमा सल्लेरी गाउँ र तल बूढीगण्डकी छ ।

बिहीबार हेलिकप्टबारबाट त्रिपाल म्याटलगायत सामग्री पुगेपछि केही राहत भएको कार्कीले बताए । हेलिकप्टर चार्टर गरेर आरुपोखरीका राजेन्द्र पराजुलीले सल्लेरीमा ४० थान त्रिपाल वितरण गरेका हुन् । त्यस्तै २८ वाक्सा चाउचाउ, तीन रोल म्याट्रेस, १ बोरा डोरी पुर्‍याएको पराजुलीले बताए । धार्चे गाउँपालिका–५ सिङलाका सुकबहादुर, साइँला गुरुङ, अर्का सुकबहादुर गुरुङको पनि घर बगाएको वडाध्यक्ष तुलबहादुर गुरुङले बताए । पीडित आफन्तको शरणमा पुगेका छन् । माछाखोलामा विस्थापित १० परिवार पनि आफन्तकोमा बसेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

छिमेकमा बास, पालिकाको गाँस

वर्षापछिको पहिरोले बुधबार ताराखोला गाउँपालिका–५ सिपका डिलबहादुर सुनारको घर पुरिएको छ । उनको घरका ५ जनाले भागेर ज्यान बचाए । ‘ज्यान बच्यो तर खाने, बस्ने केही बाँकी रहेन,’ सुनारले भने, ‘हारगुहार गर्दागर्दै घरको सबै सामान पुरियो ।’ उनको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको छ ।

टीकाराम विक, मिठे विक र कुमार विकको घर पनि पुरिएकाले उनीहरूको परिवारको पनि बिचल्ली भएको छ । के खाने, के लाउने भन्ने चिन्तामा परेका बेला बिहीबार बिहान गाउँपालिका अध्यक्ष प्रकाश घर्तीसहितको टोलीले उनीहरूलाई खाद्यान्नसहित राहत वितरण गरेको छ । चामल, दाल, नुन, तेल र केही लत्ताकपडा वितरण गरेको घर्तीले बताए । ‘बस्ने खाने केही पनि बाँकी रहेन, त्यसैले सहयोग लिएर गयौं,’ उनले भने, ‘बस्नका लागि भने छिमेकीको घरका कोठा खोजेका छौं ।’ पूर्णरूपमा घर क्षति भएकोले गाउँपालिका र जिल्ला दैवीप्रकोप उद्धार समितिमा सहयोगका लागि लेखी पठाउने तयारी भएको उनले बताए ।

‘कम्तीमा ३ लाख रुपैयाँ उपलब्ध गराउन सकियो भने सानोतिनो घर बनाएर बस्न सक्छन्,’ घर्तीले भने, ‘प्रहरीले मुचुल्का बनाइसकेको छ ।’ जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरका अनुसार जिल्लाका ३० परिवार विस्थापित भए पनि २० घरले मर्मत गरेर बस्न सक्ने अवस्थाका छन् । १० घर पूर्ण क्षतिग्रस्त बनेका छन् । ताराखोलाका ४, बागलुङ नगरपालिका–७ का १ र काठेखोलामा ५ घरमा बढी क्षति भएको हो ।

वर्षाको समयमा पाल टाँगेरभन्दा बसिरहेको घरकै कोठा मर्मत गरेर राख्न जनप्रतिनिधिले पहल गरेको बताए । ‘तत्कालै घर बनाउने, मर्मत गर्ने अवस्था छैन त्यसैले छिमेकीकै घरमा सुरक्षित राख्ने र राहत स्वरूप खाद्यान्न दिने भएका छौं,’ काठेखोला–७ का अध्यक्ष प्रेम लामिछानेले भने, ‘मर्मत गरेर बस्न सक्नेलाई मौसम सफा भएपछि सहयोग गर्नेछौं ।’

बाढीपीडितलाई राहत बाँड्न सुरु

बाढीपहिरोले घर भत्किएका बाढीपीडितका लागि राहत वितरण सुरु गरिएको छ । अस्थायी बसोबास तथा तत्कालका लागि परिवारको गर्जो टार्न सहजताका लागि जिल्ला प्रशासन र रेडक्रसले राहत वितरण सुरु गरेका हुन् । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार जलजला गाउँपालिकाको विभिन्न वडामा घर गुमाएका परिवारका लागि नगद, खाद्यान्न, लत्ताकपडा तथा अस्थायी टहरो निर्माणका लागि त्रिपाल वितरण गरिएको छ ।

‘सबै क्षेत्रको तथ्यांक आइसकेको छैन,’ खत्रीले भनिन्, ‘जलजलामा १५ घर भत्किएका छन् ।’ जलजलाको नाङ्लिबाङमा ७ र अन्यत्र ८ घर भत्किएको उनले बताइन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा घर पूर्णरूपमा क्षति भएकालाई प्रतिपरिवार १५ हजार, लत्ताकपडा, खाद्यान्न वितरण गरिएको छ । त्यस्तै जिल्ला रेडक्रसले घर भत्किएका परिवारलाई त्रिपाल, लत्ताकपडा तथा भाँडाकुँडा वितरण गरेको छ ।

जलजला गाउँपालिकाले पनि बाढीपीडितलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार घर पूर्णरूपमा क्षतिग्रस्त भएका १५ सहित पालिकाभर करिब ७० परिवार विस्थापित भएका छन् । ‘परिवारको अवस्था हेरेर २ देखि २० हजारसम्म राहत दिने निर्णय भएको छ,’ उनले भने, ‘वितरण पनि सुरु गरेका छौं ।’ ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

कालीगण्डकीको डेढगाउँ पुल भासियो

पूर्वी नवलपरासीको पहाडी क्षेत्र डेढगाउँ र तनहुँ जोडने कालीगण्डकी नदीमाथिको पक्की पुल जोखिममा परेको छ । बाढीले पुलको उत्तरी किनार खोल्दै लगेर भासिएका कारण पुल बग्ने जोखिम भएको हो ।

बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार पुलको उत्तरतर्फको तटबन्धन भासिएका कारण गाडी खस्ने भएकाले आउजाउ बन्द भएको छ । तटबन्धन भासिएका कारण पुल कति खेर खस्छ भन्ने त्रास बढेको उनले सुनाए । यो जिल्लाको दुर्गम उत्तरी भूभाग र तनहुँ जोडने एकमात्र पक्की पुल हो ।

-हरिराम उप्रेती (गोरखा), प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी, (पर्वत) नारायण शर्मा (पूर्वी नवलपरासी)

प्रकाशित : असार ५, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘बजेटमा वीरगन्जलाई उपेक्षा’

कान्तिपुर संवाददाता

वीरगन्ज — प्रदेश २ सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटको बारेमा वीरगन्जका सरोकारवालाहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । धेरैले वीरगन्ज र पर्सा बारा औद्योगिक करिडोरलाई उपेक्षा गरिएको गुनासो गरेका छन् ।

विश्लेषक मनोज उपाध्यायले बजेटले प्रदेशवासीलाई उत्साहित पार्न नसकेको बताए । वीरगन्जको पोखरिया अस्पतालको सुदृढीकरणका लागि बजेट विनियोजन गर्नु राम्रो भए पनि कोरोनाले प्रभावित सर्वसाधारण र उद्योग वाणिज्य क्षेत्रलाई तत्काल राहत हुने गरी योजना र कार्यक्रम घोषणा हुन नसकेको उनले भनाइ छ । ‘प्रदेश २ का ८ लाख ४० हजार युवा वैदेशिक रोजगारमा छन् । मुलुकको कुल विप्रेषणमा झन्डै १२/१३ प्रतिशतको हिस्सा यस प्रदेशले ओगटेको छ,’ उनले भने, ‘विप्रेषणलाई कसरी उत्पादनशील बनाउने र सँगसँगै ग्रामीण उद्यमशीलता कसरी प्रवर्द्धन गर्ने भन्नेबारे बजेटले बोल्नुपर्थ्यो ।’ पर्यटन, सीमावर्ती भारतीय राज्य बिहारबाट लगानी भित्र्याउने कार्यक्रम र निजी क्षेत्र मैत्री लगानी नीति आउन नसकेको उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्न नसकेको बताए । लगाउने वातावरण मिलाउन सरकारले केही कदम चालेको छैन । कृषिलाई व्यावसायिक रूपमा प्रवर्द्धनमा नारा मात्रै देखिएको उनको भनाइ छ । ‘सीपमूलक र पोलिटेक्निकल इन्स्टिच्युटको सोच कहीं देखिएन । धार्मिक पर्यटनको ठूलो सम्भाव्यता हुँदाहुँदै भारत तथा तेस्रो मुलुकसम्मका पर्यटकलाई तान्न पहल देखिएन,’ उनले भने ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पोखरी र मठमन्दिरको सौन्दर्यीकरण गरेर मात्र प्रदेशको पर्यटन क्षेत्रको विकास नहुने बताए । ‘प्रदेशकै एक मात्र निकुन्ज पर्सा राष्ट्रिय निकुन्जमा पर्यटकको आगमन बढाउन प्रदेश सरकारले के कस्तो लगानी गर्छ अनि प्रदेश २ कै शक्तिपीठ गढिमाईलाई पनि धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि बजेट मौन छ । देशकै आर्थिक राजधानी वीरगन्जलाई उपेक्षा गरिएको छ,’ उनले भने । उद्योगी मनोज दासले शिक्षा र स्वास्थ्य क्षेत्रमा अत्यन्त न्यून रकम विनियोजन भएको आरोप लगाए ।

प्रदेश २ उद्योग वाणिज्य महासंघका अध्यक्ष गणेश लाठले सबैलाई खुसी पार्न अलि अलि बजेट बाँड्ने काम भएको टिप्पणी गरे । गत वर्षकै बजेट खर्च गर्न नसकेको अवस्थामा यस वर्ष फेरि खर्च होला भन्नेमा आशंका रहेको उनको भनाइ छ । ‘हामीले भनेको अन्तर्राष्ट्रियस्तरको तरकारी बजार, सौर्य ऊर्जा, पोलिटेक्निकल इन्स्टिच्युट, राज्यस्तरको औद्योगिक क्षेत्र निर्माणमा बजेट बिल्कुल मौन छ । साहित्य क्षेत्रमा शून्य विनियोजन छ । स्वरोजगारमा केही रकम विनियोजन गरिएको छ त्यो सकारात्मक हो,’ उनले भने ।

प्रकाशित : असार ५, २०७८ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×