अघिल्लो वर्ष पहिरोमा घर गुमाउनेले अझै पाएनन् अनुदान- गण्डकी - कान्तिपुर समाचार

अघिल्लो वर्ष पहिरोमा घर गुमाउनेले अझै पाएनन् अनुदान

प्रतीक्षा काफ्ले

कास्की — पर्वतको पैयुँ गाउँपालिका–५ का सूर्य परियार पहिरोपीडित हुन् । गत असारमा आएको पहिरोले उनको घरजग्गा पुरेको थियो । तत्काल उनको परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरियो । तर, अर्को बर्खा आउँदा पनि उनले घर बनाउन सकेनन् । 

स्याङ्जाको वालिङ नगरपालिका–१४ मा गत वर्ष गएको पहिरो । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर

‘न पैसा छ, न जग्गा,’ उनले गुनासो गरे । सोही ठाउँका टेकबहादुर दर्जी, अर्जुन दर्जी, ख्यामबहादुर दर्जीको पीडा पनि उस्तै छ । पहिरोले सिंगो गाउँ नै पुरेको थियो । ‘घरमा आम्दानी गरेर एक रुपैयाँ भित्र्याउने कोही छैन,’ ख्यामबहादुर भन्छन्, ‘घर बनाउने पैसा छैन । सरकारले दिने भनेको अनुदान पनि आएको छैन ।’ यो समस्या सिंगो गण्डकी प्रदेशकै हो ।

पहिरोमा परी स्याङ्जाको वालिङ नगरपालिका–१४ मा एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए । गिरबहादुर खनालको सहित दुई परिवार विस्थापित भए । घर बनाउन ६ महिनादेखि खाल्डो खनेर बसेका खनालले अहिलेसम्म जग हाल्न सकेका छैनन् । ‘सरकारले अनुदान दिन्छु भनेको थियो,’ उनले भने, ‘त्यही पैसाले घर बनाउँला भनेको हो तर अहिलेसम्म आएन ।’

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले संघ र प्रदेश सरकारले अनुदान पठाउन ढिला गरेको बताए । ‘हामीले घर बनाउन पहल गरेका छौं,’ उनले भने, ‘जग्गा नहुनेलाई जग्गाको व्यवस्था भएको छ । कतिपयको आफ्नै जग्गा छ । तर, हामीले दिने १५ प्रतिशत अनुदानले घर बन्ने अवस्था छैन ।’ जिल्ला प्रशासन कार्यालयमा प्रदेशबाट अनुदान आएको जानकारी पाए पनि संघको टुंगो नभएको उनको भनाइ छ ।

गण्डकीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रदेश सरकारले अनुदानबापतको रकम सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा पठाइसकिएको बताए । २०७७ जेठ ३० देखि असोज ३० सम्मका विपद् पीडितका लागि गण्डकीका चार जिल्लालाई ३ करोड ३३ लाख रुपैयाँ पठाइसकिएको उनको भनाइ छ । शर्माका अनुसार स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीमा अनुदान पठाइएको छ । गण्डकी प्रदेशले ३० प्रतिशत अनुदान दिनुपर्ने व्यवस्था छ ।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुन:स्थापना अनुदान कार्यविधि, २०७७ मा महानगरले र उपमहानगरको हकमा २० प्रतिशत, नगरपालिकाको हकमा १५ र गाउँपालिकाले १० प्रतिशत अनुदान दिने र बाँकी संघले बेहोर्नुपर्ने उल्लेख छ । कार्यविधिअनुसार घर निर्माणका लागि प्रतिपरिवार तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाख दिनुपर्छ ।

पुनर्निर्माण प्राधिकरणबाट आएको तथ्यांकका आधारमा ४ जिल्लालाई मात्र अनुदान गएको शर्माले बताए । गत वर्षको जेठ ३० देखि असोज ३० सम्म नवलपुर, मनाङ र मुस्ताङ प्रभावित नभएको जनाउँदै उनले भने, ‘कास्की, गोरखा, तनहुँ र लमजुङको भने तथ्यांक नआएकाले अनुदान दिएका छैनौं । जिल्ला विपद् समितिले प्राधिकरणमा तथ्यांक टिपाएको भन्छ तर माथिबाट आएको छैन ।’ प्रदेश विपद् कोषबाट अनुदान दिइने मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशले कात्तिक मसान्तसम्म विपद् व्यवस्थापनका नाममा मात्रै १ करोड ३१ लाख खर्चिइएको जनाएको छ । प्रदेशले बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण तथा मर्मत सम्भारका लागि संघ सरकारसँग २ अर्ब १७ करोड रुपैयाँ माग गरेको थियो ।

प्रकाशित : असार ४, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

कठपुतलीकी एक्ली सारथि

शंकर आचार्य

पर्सा — ६५ वर्षमा पनि सरस्वतीलाई कठपुतलीवालीको उत्तिकै जाँगर चल्छ । अहिले पनि कठपुतली नचाएर गीत गाउन थालिन् भने उनको गति रोकिँदैन । तर, अचेल कठपुतली गीत र नृत्य सुन्ने, हेर्ने कम हुँदै जाँदा उनलाई समस्या भएको छ । कठपुतली (काठको लुगा लगाएर बनाएको खेलौंना) नचाउने उनको पुर्ख्यौली पेसा नै संकटमा पर्ने अवस्था आएको छ । 

वीरगन्ज महानगरपालिका–२७ प्रसौनीविर्ताको १० घरधुरी कठपुतलीवाली टोलमा अहिले ६५ वर्षीया सरस्वतीलाई मात्र यो कला आउँछ । उनको शेषपछि यो परम्परागत कला पनि मासिने निश्चित छ । तीन दशक अघिसम्म सरस्वतीले कठपुतलीले गीत गाएर नृत्य देखाउँदा सर्वसाधारण उनको वरिपरि झुम्मिन्थे र मनोरञ्जन लिन्थे । त्यतिखेर अहिलेको जस्तो घरघरै टेलिभिजन र हातहातमा मोबाइल थिएन । बिस्तारै टेलिभिजनको युग आयो ।

त्यसपछि मोबाइलबाट गीत/संगीतको मज्जा लिने जमाना पनि आयो । अनि सरस्वतीको कठपुतली नाचको महत्त्व घट्दै गयो । अब मानिसले मनोरञ्जनका लागि नभएर दया गरेर उनको गीत सुन्न थाले । अहिले उनको परम्परागत कला केवल रोजीरोटीमा सीमित बनेको छ ।

बाराको मधुवन माइती भएकी सरस्वतीले गीत गाउने र कठपुतली नचाउने कला आफ्ना बुबाआमाबाटै सिकिन् । कुनै समयमा शरीरमा तागत हुँदा सरस्वती कठपुतली च्यापेर देश देशावर गर्थिन् । पश्चिममा धनगढी, टीकापुर, रामपुर, पाल्पा, रिडी, तम्घास अनि पूर्वमा जनकपुर, जयनगर, जलेश्वरसम्म पनि पुगेकी थिइन् । कहिलेकाहीँ भारतका सहरहरूसम्म पनि पुग्थिन् । एकपटक यात्रामा निस्कँदा ३/४ महिना घरबाहिरै हुन्थिन् । फर्किंदा १/२ बोरा चामल अनि २/४ हजार रुपैयाँ कमाइ ।

गीत गाउन थालेपछि उनी सबै कुरो भुल्छिन् । उनलाई झन्डै ५ सय गीत कण्ठस्थ छ । भजन, निर्गुन अनि फिल्मी गीतहरू पनि मज्जाले गाउँछिन् । उनका लोकगीतहरूमा माया, प्रेम, भक्ति, वीरता र देशभक्तिका गाथाहरू मात्र हुँदैनन्, तराई–मधेसको सामाजिक संरचना, विधि, परम्परा, रीति, थिति, संस्कृति र व्यथाहरू पनि गुन्जिछन् ।

उनको परिवारमा अहिले ४ सदस्य छन् । पति सतन, सौता भुखली र नाति प्रमोद । सरस्वतीले दैनिक कमाएर ल्याउने तीन/चार सय रुपैयाँले उनीहरूको मुखमा माड लाग्छ । उनीबाट २ छोरी र १ छोरा गरी ३ सन्तान जन्मिएका थिए । लक्का जवान छोरा शम्भु ३५ वर्षको उमेरमा करिब १८ वर्षअघि बितेका रहेछन् । त्यसपछि बुहारी घर छोडेर हिँडिन् । १८ वर्षीय नाति प्रमोद अहिले परिवारका चौथो सदस्य छन् । जायजेथाका नाममा यो परिवारसँग २ धुर जग्गामा बनेको कच्ची घर छ । सौता भुखलीतर्फका २ छोराहरू प्रभु र नन्दु भने आफ्ना बालबच्चासहित छुट्टै घरजम गरेर बसेका छन् ।

छोरा प्रभु बढईले कठपुतली नचाउने पुर्ख्यौली पेसा अपनाउने विचार नगरेका होइनन् तर बढ्दो आधुनिकतासँगै परम्परागत कठपुतली नाचप्रति सर्वसाधारणको रुचि नै नरहेपछि उनले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको बताए । ‘कुनै समय मैले पनि बाउबाजेको मुख्य पेसा कठपुतली नचाउने काम गर्ने सोच नबनाएको होइन,’ उनले भने, ‘तर सर्वसाधारणमा सिनेमा, टेलिभिजन, मोबाइलबाट मनोरञ्जन हुन्छ भने कठपुतलीको नृत्य किन हेर्ने भन्ने मानसिकता छ अनि म पछि हटें ।’

प्रभुकी पत्नी संगीतादेवी कहिलेकाहीँ सासू सरस्वतीसँग कठपुतली यात्रामा पनि निस्किन्छिन् । तर उनलाई पनि कठपुतली नाचप्रति समाजको घट्दो रुचिका कारण सासूजस्तै यसलाई पेसा नै बनाउने मन छैन । ‘अचेल कसैलाई कठपुतली नृत्य हेर्न रुचि हुँदैन,’ संगीताले भनिन्, ‘अनि जबर्जस्ती यो नृत्य देखाएर के गर्ने ।’

स्थानीय बासिन्दा एवम् सामाजिक अभियन्ता अनिशकान्त कुशवाहा कला, संस्कृति र परम्परा धान्दै र जोगाउँदै आएका सरस्वती जस्ता प्रतिभाहरूलाई प्रोत्साहित गर्नु समाज र सरकारको दायित्व रहेको बताउँछन् । ‘सरस्वतीको शेषपछि कठपुतली गीत र नृत्य हाम्रो गाउँघरमा देखिने र गुन्जिने छैन,’ उनले भने ।

प्रकाशित : असार ४, २०७८ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×