कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी खेतीमा अनुदान

 साना किसानलाई प्रोत्साहन, ६४ लाखको बजेटमध्ये ५० लाख रूपैयाँ वितरण
हरिराम उप्रेती

गोरखा — व्यावसायिक तरकारी खेतीमा आकर्षण बढाउन किसानलाई अनुदान उपलब्ध गराइएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको क्षेत्रफलमा आधारित तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका किसानलाई अनुदानस्वरूप रकम उपलब्ध गराइएको हो ।

तरकारी खेतीमा अनुदान

घ्याल्चोक तरकारी उत्पादनको पकेट क्षेत्र हो । यी दुई वडाका किसानलाई ४७ लाख रुपैयाँ वितरण भइसकेको छ । व्यावसायिक तरकारी खेती गर्दै आएका गण्डकी–७ का गोपाल तामाङले अनुदानस्वरूप ९ हजार रुपैयाँ पाए । उक्त रकमले मल खरिद गर्ने उनको योजना छ । उनले भने, ‘यसरी अनुदान पाए साना किसानलाई फाइदा हुन्छ, खेती किसानीमा हौसला थपिन्छ ।’

वडा–७ मा ७ सय २० रोपनीमा तरकारी खेती गर्ने २ सय ७५ किसानलाई २१ लाख ६० हजार रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराएको कृषि ज्ञान केन्द्र गोरखाका कृषि प्राविधिक उमेश विष्टले बताए । बढीमा ३ र कम्तीमा २ रोपनी जग्गा हुनेलाई रकम उपलब्ध गराएको केन्द्रले जनाएको छ ।

वडा–८ मा भने ८ सय ५३ रोपनीमा तरकारी खेती गर्ने ३ सय २६ किसानलाई २५ लाख ६५ हजार रुपैयाँ अनुदान वितरण भएको छ । खुला जमिनमा तरकारी खेतीका लागि प्रतिरोपनी ३ हजार र प्लास्टिक घरभित्र गरिने खेतीका लागि प्रतिएक सय वर्गमिटर ३ हजार रुपैयाँ प्रोत्साहनस्वरूप वितरण गरिएको उनले बताए । चालु आर्थिक वर्ष तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत ६४ लाख बजेट आएको छ ।

हालसम्म झन्डै ५० लाख रुपैयाँ वितरण भइसकेको छ । ज्ञान केन्द्रले निवेदन मागेर स्थलगत निरीक्षणपछि अनुदान वितरण थालेको हो । जिल्लाका ९ सय किसानले अनुदानका लागि आवेदन दिएका थिए । प्रक्रिया पुगेकालाई स्थलगत निरीक्षणपछि रकम उपलब्ध गराएको विष्टले बताए । कार्यक्रमले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रोत्साहन भएको तथा तरकारी खेतीमा रुचि राख्ने किसानको आकर्षण बढ्ने ज्ञान केन्द्रको अपेक्षा छ ।

‘अझै केही किसान प्रक्रियामा हुनुहुन्छ, उहाँहरूलाई रकम वितरणको प्रक्रियामा छौँ,’ उनले भने । वडा कार्यालयको सिफारिसमा रोपनी खुलेको कागजात वा लालपुर्जा वा भाडामा लिएको भए करारनामासहितको सम्झौतापत्रको आधारमा अनुदान उपलब्ध गराउने प्रावधान छ । अनुदान वितरणसँगै किसानका खेतबारीमा कृषि प्राविधिकले नियमित स्थलगत अध्ययन गरे सहज हुने घ्याल्चोकका फणीन्द्र खनालले बताए ।

‘७/८ रोपनीमा तरकारी खेती गरेको छु, मल, बीउका लागि अनुदान लिएको थिइनँ,’ उनले भने, ‘अनुदानसँगै कृषि प्राविधिकबाट नियमित निरीक्षण भए हाम्रा समस्या सुनाउन पाउथ्यौं ।’

प्रकाशित : असार ४, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?