पोखरा — मर्स्याङ्दीको बाढीले तालगाउँ डुबानमा परेपछि ५३ वर्षीय केशबहादुर गुरुङलाई घरमा रहेका दुई छोराको चिन्ताले सताएको छ । उनी जागिरको सिलिसिलामा माथिल्लो मनाङमा छन् । तालगाउँमा छोराहरूले आफन्तकहाँ शरण लिएको थाहा भए पनि सम्पर्क हुन सकेको छैन । सदरमुकाम चामेमा रहेको होटल घट्टेखोलाको बाढीले जोखिममा छ ।
मनाङमा धेरै घरमा छाना माटोको छ । अत्यधिक वर्षाले छानो चुहिन थालेको उनले बताए । ‘मनाङमा यति धेरै पानी परेको पहिलोपल्ट थाहा पाएको हुँ,’ गुरुङले भने, ‘कहिल्यै केही नभएको तालगाउँ अहिले डुब्यो । चामेको ठाडो खोलामा बाढी आयो ।’ झन्डै ३५ सय मिटर उचाइमा रहेका मनाङका बस्तीमा शनिबारदेखि झरी परिरहेको छ । ४ हजार मिटरमाथि भने हल्का हिमपात भइरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमलाई पनि स्थानीय बूढापाकाले यतिबिघ्न पानी यसअघि कहिल्यै नपरेको सुनाए । चामेको बीच भागबाट बग्ने घट्टेखोलामा अत्यधिक वर्षाले पहिरोसहितको बाढी आयो । लमजुङ हिमालको फेदीबाट आउने यो खोलामा यसअघि जेठ १६ मा पनि बाढी आएको थियो । बजार छिरेको दुई ठाडो खोलाले त्यतिबेला सामान्य क्षति पुर्याए पनि मंगलबार ६ घर बगायो । अन्य ५ घर अझैं जोखिममा छन् । मर्स्याङ्दी, घट्टेखोला, स्यार्क्युखोला, तिमाङखोला, धारापानीमा आएको बाढीपहिरोले बिजुलीको पोल ढालेका छन् । फोनको तार चुडालेका छन् । बेलिब्रिज र काठेपुल बगाएका छन् । जेठ १६ देखि नै यातायातबाट सम्बन्धविच्छेद भएको मनाङमा सडक, पुल मर्मत गरेर सञ्चालनमा आउन अझैं ६ महिना लाग्न सक्ने गौतम बताउँछन् ।
उनका अनुसार गएको हिउँदमा मंसिर, पुसमा पर्नुपर्ने हिउँ माघको अन्त्यमा मात्रै पर्यो । गत वर्ष कम मात्रामा हिमपात भयो । अघिल्लो वर्षहरूमा हिउँदमा परेको हिउँ वैशाखसम्मे रहने भए पनि यो वर्ष फागुनमै पग्लियो । ‘अहिले फेरि मनसुनी वर्षाले बाढीपहिरो आयो,’ उनले भने, ‘यसलाई जलवायु परिवर्तनकै प्रभावका रूपमा लिन सकिन्छ ।’
हिमालपारिकै जिल्ला मुस्ताङको ठिनी खोलामा मंगलबार ठूलै बाढी आयो । नीलगिरि हिमालको फेदैफेद बग्ने यो खोलामा यति ठूलो बाढी आएको स्थानीयले पहिलोपल्ट देखेका हुन् । मुस्ताङका जिल्ला समन्वय समिति सदस्य एवं ठिनीका स्थानीय ४२ वर्षीय सञ्जय थकालीलाई ठिनीको बाढीले अचम्मित तुल्यायो । ‘ससानो बाढी पहिला पनि आउँथ्यो,’ उनले भने, ‘यसरी उर्लिएको पहिलोपल्ट देखेँ ।’ शनिबारदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । यति लामो अवधिसम्म निरन्तर पानी परेको थकालीले यसअघ थाहा पाएका थिएनन् । ठिनी मात्रै होइन, मुस्ताङका अन्य ठाडो खोलाहरूमा पनि बाढी आएका छन् । मार्फा खोला बढ्दा मंगलबार जोमसोम–मार्फा सडक खण्ड नै अवरुद्ध भयो ।
टुकुचे हिमालबाट उत्पत्ति भएको थापा खोला उर्लिंदा निर्माणाधीन १३ मेगावाटको हाइड्रोमा क्षति पुग्यो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ऐतिहासिक लुप्रा गाउँ नै जोखिममा पर्ने गरी सोमबार पान्डा खोलामा बाढी आयो । लेदोसहितको बाढीले खेत पुर्यो । कालीगण्डकी नदीमा पानीको बहाव उच्च भयो । गएको हिउँदमा प्रशस्त हिमपात नहुँदा अहिले बाढी आएको थकालीको मान्यता छ । ‘हिउँदमा परेको हिउँ बर्खासम्म जम्थ्यो र पो त्यसले पानीलाई बग्न दिने थिएन,’ उनले भने, ‘हिउँ परेन भने खोला बहुलाउँछ भन्थे बूढापाकाले, अहिले त्यस्तै भएको छ ।’
वातावरणविद् नवराज पोखरेल हिमाली भेगमा अस्वाभाविक बर्खा भएर बाढी पहिरो आउनुमा जलवायु परिवर्तनलाई नै कारक मान्छन् । कालीगण्डकी बेसिनमा जलवायु परिवर्तनले पारेको असरबारे विद्यावारिधि गरिरहेका उनले मनसुन सुरु भएको पहिलो सातामै हिमाली भेगमा आएको बाढीपहिरो र त्यसले गरेको असर अस्वाभाविक भएको उनी बताउँछन् । ‘पहिला सबैभन्दा धेरै पानी पर्ने पोखराको लुम्लेपट्टि वार्षिक ४ हजार २ सय मिलिमिटर पानी पर्दा मनाङमा २ सय मात्रै पर्थ्यो,’ उनले भने, ‘अहिले यो ट्रेन्ड परिवर्तन भएको छ ।’ उनका अनुसार पृथ्वीको तापक्रम ०.०६ प्रतिशतले वृद्धि भइरहेको छ । त्यसकै असरस्वरूप हिमरेखाको उचाइ बढ्दै गएको छ । हिमनदी पग्लने क्रममा वृद्धि र बरफ सञ्चयको मात्रा घटेको छ ।
मुस्ताङको पान्डा खोलामा सोमबार आएको बाढी । तस्बिर सौजन्य : निरज थकाली
बढ्दो तापक्रमले नदी उत्पत्ति भएका हिमालमा समस्या आएको छ । हिमनदी तीव्र रूपमा पग्लिरहेका छन् । ‘जलवायु परिवर्तनको असरले पानीको वितरणमा औसतभन्दा फरकपन आएको छ,’ जल तथा मौसम विज्ञान विभागमा विज्ञका रूपमा रहेर काम गरिसकेका उनले भने, ‘तापक्रम बढ्दै जाँदा हिउँ पानीको रूपमा पर्न थालेको छ ।’ हिमाली भेगका बस्ती र त्यहाँका स्थानीयलाई जलवायु परिवर्तनसँग अनुकूलन हुने गरी योजना बनाउनुपर्ने उनी बताउँछन् । धेरै पानी पर्दा थेग्ने किसिमको संरचना नभएकोले अनुकूलन योजना नहुने हो भने क्षति बढी हुने उनको आकलन छ । ‘हिउँसँग अनुकूल हुने गरी घर बनाइएका छन्,’ उनले भने, ‘पूर्वतयारी नगर्ने हो भने क्षति बढ्दै जान्छ ।’
त्रिभुवन विश्वविद्यालयका वातावरण विज्ञान प्राध्यापक मदन कोइराला भूमण्डलको सबैभन्दा माथिल्लो तह थर्मोस्फियरमा संरचनात्मक फेरबदल भइरहँदा पानीको मात्रामा घटबढ भइरहने बताउँछन् । चीनको तिब्बत र भारतको यूपी, विहारको गतिविधिले नेपालको वायुमण्डललाई असर गरिरहेको उनले बताए । जलवायु परिवर्तनबाट सिर्जित हुने बाढीपहिरोजस्ता प्रकोपबाट धेरै क्षति हुन नदिन भू–सूचना प्रणालीलाई सक्रिय गराउनुपर्ने उनको तर्क छ । ‘तल्लो तटीय क्षेत्रका मानिसलाई सचेत गराउन पूर्वजानकारी प्रणाली जडान गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ ।’
हिमालपारि वर्षा औसतभन्दा अधिक
विगत ३० वर्षको तथ्यांक केलाउँदा मुस्ताङमा भएको वर्षा हालसम्मकै अत्यधिक हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मुस्ताङमा सन् १९९१ देखि २०२० सम्म वार्षिक औसत वर्षा २ सय ८९ मिलिलिटर थियो ।
प्रि–मनसुन (मार्चदेखि मे) मा ७० मिलिलिटर, मनसुन (जुनदेखि सेप्टेम्बर) मा १ सय ६० मिलिलिटर र जुन महिनामा ३२ मिलिलिटर औसत पानी परेको रेकर्ड छ । तर यस वर्ष सन् २०२१ को जुन १७ सम्म २ सय ५० मिलिलिटर पानी परिसकेको छ । प्रि–मनसुनमा १ सय ४२ मिललिटर र मनसुनको १७ दिन (जुन १७ सम्म) मा १ सय ४२ मिलिलिटर पानी परिसकेको छ । वर्षाको दर विगत ३० वर्षको भन्दा ५ गुणा बढी हो ।
मनाङको हुम्डे विमानस्थलमा सन् २०१५ देखि २०२० सम्म रेकर्ड भएको वर्षाको तथ्यांकभन्दा यस वर्ष ८ गुणा बढी पानी परेको छ । यस वर्ष जुन महिनाको १ देखि १७ सम्म एक सय ९७ मिलिलिटर पानी परिसकेको छ । जबकि पाँच वर्षमा उक्त अवधिमा जम्मा २३ मिलिलिटर पानी परेको थियो । जुन महिनाभरि पाँच वर्षको औसत वर्षा ४२ मिलिलिटर मात्रै छ ।
पाँच वर्षमा मनाङको औसत वार्षिक वर्षा ३ सय ७५ मिलिलिटर, प्रि–मनसुनमा १ सय ३५ मिलिलिटर र मनसुनमा २ सय ३४ मिलिलिटर छ । यो वर्षको जुन १७ सम्म मात्रै ४ सय ५६ मिलिलिटर पानी परिसकेको छ । प्रि–मनसुनमा २ सय ३२ मिलिलिटर पानी परेको छ ।
प्रकाशित : असार ४, २०७८ ०९:४२