कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार

आश गुरुङ

लमजुङ — बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।

मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार

हेलिकप्टरले मनाङको नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

यस्तै, नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास भइरहेको छ । विघटित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले चामेमा पानीको अभाव भएपछि निजी हेलिकप्टरमार्फत खानेपानी लगिएको बताए । उनका अनुसार ३ दिनदेखि बाढीका कारण फसेकाहरुको उद्धार गरिरहेको बताए ।‘बाढीका कारण भौगोलिक रुपमै समस्यामा परेकालाई उद्धार गरेका छौं । सुरक्षित ठाउँमा बसेकालाई ठाउँठाउँमा राहत पुर्‍याएका छौं,’ उनले भने । उनका अनुसार उद्धार प्रयास जारी छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकमा ७५ जना फसिरहेका छन् । पोल्देन छोपाङले ल्याएको हेलिकप्टरमार्फत् उनीहरु बस्ने ठाउँ पत्ता लगाइएको र उनीहरुको अवस्था बुझेर हेलिकप्टर फर्केको छ । फू गाउँको नामु लेक समुद्री सतहदेखि करीब ५ हजार मिटर उचाइमा हिमालमुनि उनीहरु रहेको र उद्धार गर्नुपर्ने अवस्था रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

यस्तै, प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ । राहत लिएर पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ पनि मनाङ पुगेका छन् ।

प्रकाशित : असार ३, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?