कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संक्रमितको शव व्यवस्थापन समुदायस्तरबाट

रेडक्रसका तालिम प्राप्त स्वयंसेवक निःशुल्क खटिए 
घनश्याम खड्का

म्याग्दी — देशभर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको भए पनि यहाँ भने रेडक्रसका स्वयंसेवकले गरिरहेका छन् । संक्रमितको शव व्यवस्थापनमा खटिने कम्तीमा ५ सैनिकलाई १० दिन क्वारेन्टाइन बस्दाको खाना भत्ता, शव बोक्ने छुट्टै गाडी, पीपीईसमेत स्वास्थ्य सुरक्षा सामग्रीको खर्च व्यहोर्ने निकाय फेला नपरेपछि रेडक्रसका स्वयंसेवकले निःशुल्क गरेका हुन् । 

संक्रमितको शव व्यवस्थापन समुदायस्तरबाट

‘कोरोना संक्रमणको पहिलो वर्ष नै कोरोना कन्ट्रोल कमान्ड पोस्टले रेडक्रसलाई प्यासेन्ट रिसिभिङ टिम (पीआरटी) को जिम्मा दिएको थियो । पछि शव व्यवस्थापनमा खर्चसमेतको प्राविधिक कुरा उठेपछि रेडक्रस अघि सरेको हो,’ रेडक्रस सभापति लेखबहादुर हमालले भने, ‘कोभिडका कारण मृत्यु भएकाको शव व्यवस्थापन तालिमप्राप्त जनशक्ति भएकाले जिम्मेवारी लिन सजिलो भएको हो ।’

यस्ता शवको समुदायस्तरबाट व्यवस्थापन गरिएको यो नेपालको पहिलो अभ्यास भएको रेडक्रसले दाबी गरेको छ । रेडक्रसका अनुसार विपत्पछिको शव व्यवस्थापनसम्बन्धी तालिम लिएका स्वयंसेवकलाई नै कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी एकदिने तालिम दिएर काम जिम्मा लगाइएको हो ।

शव व्यवस्थापनमा पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष रहेका रेडक्रस म्याग्दीका उपमन्त्री सुरत केसीको नेतृत्वमा आनन्द रिजाल, जनक सोनाम, कृष्ण बानियाँ, रजनी विक र सृष्टि रोकामगरको टिम सक्रिय छ । संक्रमित शव अस्पताल/घरदेखि घाटसम्म बोक्न केसीले निजी गाडी प्रयोग गर्छन् । ‘विपत्मा आफैंले केही गर्न नसक्दा अरूको सहयोग खोजिन्छ । संक्रमित शव व्यवस्थापन गर्न परिवारलाई बोझिलो र खर्चिलो देखें त्यसैले आफैं लागेको हुँ,’ केसीले भने, ‘जिल्लामा शववाहन छैन, राज्यले छुट्टै गाडी व्यवस्थापन गरेको छैन, भाडाका र व्यक्तिगत गाडीले बोक्दैनन् । त्यसैले आफ्नै गाडीमा शव बोकेर दाहसंस्कार गर्न लैजान्छु ।’

कोरोना संकेत/लक्षण भएका तर पुष्टि नभएका बिरामीको मृत्युपछि पनि परिवारकै आग्रहमा पनि शवको दाहसंस्कार गर्दै आएको छ । रेडक्रसका अनुसार एक क्रिस्चियन धर्म समुदायबाहेक अन्य सबै हिन्दु धर्म सम्प्रदायका व्यक्तिको दाहसंस्कार गरिएको छ । दाहसंस्कार गरिएकामध्ये परिवारको स्वीकृतिमा केहीलाई गाडिएको र अधिकांश जलाउने गरिएको छ ।

कोरोना संक्रमण भई ५९ जिल्लावासीको मृत्यु भएकोमा टोलीले २७ को दाहसंस्कार गरिसकेको छ । बाँकीको जिल्लाबाट थप उपचार क्रममा पोखरा, काठमाडौंका अस्पतालमा मृत्यु भएकाले उतै सेनाले व्यवस्थापन गरेको थियो ।

जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न रेडक्रसले तालिमप्राप्त जनशक्तिसहित इच्छा देखाएकाले जिम्मा दिएको दाबी गरेको छ । क्वारेन्टाइन खर्च, शववाहनसमेत सबै स्वास्थ्य सुरक्षा सामग्रीसमेतको खर्च रेडक्रसले व्यहोर्ने भएपछि स्थानीय तह पनि सहजै सहमत भएका हुन् । ‘शव व्यवस्थापन समुदायले गर्ने कुरा अन्य निकायसँगको समन्वय अभावले होइन । स्वाभाविक खर्चको कुरा थियो । तर रेडक्रसले सबै हामी गर्छौं भनेपछि जिम्मा दिइएको हो,’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘शव व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति र रेडक्रसले शव व्यवस्थापन गर्दा सजिलो भएको छ । झन् राम्रो भएको छ ।’

कोभिड–१९ का कारणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमित शवको अन्तिम संस्कार गर्न आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गर्न लगाई परिवारलाई दिने, परिवारले नसक्ने भए समुदाय र समुदायले पनि नसके नेपाली सेनालाई दिने भनिएको छ ।

यसरी गरिन्छ संक्रमितको दाहसंस्कार

कोरोना संक्रमितको उपचारक्रममा स्वास्थ्य संस्था वा घरमै मृत्यु भएपछि रेडक्रसको शव व्यवस्थापन टिमलाई खबर आउँछ । त्यसपछि टोलीले घटनास्थल पुगेर आवश्यक पीपीई, मास्क, चस्मा, पन्जा, बुटसमेतका स्वास्थ्य सुरक्षा सामग्री लगाउँछन् ।

शवलाई पीपीईजस्तै सुरक्षित ब्यागभित्र प्याक गर्छन् । शव प्याक गरिएको ब्यागलाई गाडीको पछाडि ढालामा राख्छन् । र, आफूहरू अगाडि बसेर गाडी चलाएर घाटमा पुर्‍याउँछन् । शव व्यवस्थापनमा खटिएकाले नै चित्ता बनाउनुपर्छ । संक्रमित शवलाई चित्तारोहण गरेपछि मृतकका आफन्तलाई दाहसंस्कारका लागि अलग्गै दागबत्ती दिने, धुप बाल्ने र आगो सल्काउन लगाउँछन् ।

अन्त्यमा शव व्यवस्थापन टिमका सदस्यले लगाएको पीपीई, पन्जा, टोपी, चस्मा, बुट समेतका सामग्री खोलेर प्लास्टिक ब्यागमा प्याक गरी सोही बलिरहेको चित्ताछेउमा राखेर जलाई घर फर्कन्छन् । शवको अस्तु भने परिवारका सदस्यले अन्तिममा अन्त्येष्टि गर्छन् ।

प्रकाशित : असार ३, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?