कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोभिडबाट निधन भएकाका परिवारलाई राहत

हरिराम उप्रेती

गोरखा — जिल्लाका केही स्थानीय तहले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । सहिद लखन गाउँपालिकाले १० मृतकका परिवारलाई घरमै पुगेर रकम सहयोग गरिएको अध्यक्ष रमेश थापाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले काजकिरिया तथा सामाजिक संस्कारका लागि राहतस्वरूप रकम उपलब्ध गराइएको बताए । गाउँकार्यपालिका बैठकको निर्णयपछि रकम हस्तान्तरण गरिएको हो । ‘मृतकको रिपोर्ट, परिवारका सदस्यको नागरिकताको फोटोकपी र वडाको सिफारिसका आधारमा रकम प्रदान गरेका छौँ,’ उनले भने ।

विपद् कोषको रकम मृतकका परिवारलाई उपलब्ध गराइएको उनले बताए । परिवारलाई थोरै भए पनि राहत र संस्कारको काम गर्न सहजता होस् भनेर रकम उपलब्ध गराएको उनको भनाइ छ । ‘विदेश वा स्वदेशमा जहाँ मृत्यु भए पनि उहाँका परिवारलाइ रकम उपलब्ध गराएका छौँ,’ उनले भने ।

सिरानचोक गाउँपालिकाले पनि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यहाँ पनि १० संक्रमितको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘उहाँहरूको परिवारलाई रकम उपलब्ध गराउन प्रक्रिया सुरु गरिसकेका छौँ ।’ गाउँपालिकास्तरीय कोभिड १९ रोकथाम तथा उपचार निर्देशक समितिको निर्णयपछि रकम उपलब्ध गराइने छ । वडास्तरीय स्वास्थ्य चौकी ब्यवस्थापन समितिले आफ्ना वडामा मृत्यु भएकाको प्रमाण पुर्‍याएर उत्त समितिसमक्ष मागदाबी गर्ने प्रावधान रहेको अध्यक्ष गुरुङले बताए ।

बारपाक सुलीकोट गाउँपालिकाले कोभिडले मृत्यु भएका ५ मध्ये २ जनालाई राहतस्वरूप २५ हजार रकम उपलब्ध गराएको छ । अन्यको भुक्तानी प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । रिपोर्ट र स्वास्थ्य शाखाको रेकर्डका आधारमा भुक्तानी दिने गरेको उनले बताए । ‘कोभिड कोष छ, त्यहिँबाट रकम उपलब्ध गराउँछौँ,’ उनले भने । त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीको तीन दिनको पारिश्रमिक कोराना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको कार्यपालिका बैठकले पालिका मातहतकको कोभिड नियन्त्रण कोषमा रकम जम्मा गर्ने निर्णय भएको भण्डारीले बताए ।

मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा पालुङटार नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समेट्ने तयारी थालेको छ । ‘मृतकका परिवारलाई यथाशक्य राहत उपलब्ध गराउन यस वर्षको नीति तथा कार्यक्रममा समेट्ने कुरा उठिरहेको छ,’ पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले भने ।

प्रकाशित : असार ३, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?