कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बाढीले सेतीवेणी बजार क्षेत्र डुबानमा

अगन्धर तिवारी

पर्वत — कालीगण्डकी नदीमा पानीको सतह अत्याधिक बढेपछि पर्वतका नदीतटीय क्षेत्र डुबानको चपेटामा पर्न थालेका छन् । सोमबारदेखि निरन्तर परेको वर्षापछि नदीमा आएको बाढीले बिहादी गाउँपालिकामा पर्ने सेतीवेणी बजार डुबानमा परेको हो ।

बाढीले सेतीवेणी बजार क्षेत्र डुबानमा

गुल्मी, स्याङ्जा र पर्वतको सिमानामा पर्ने सेतीवेणी बजारक्षेत्रमा बिहानैदेखि कालीगण्डकी र स्थानीय सेतीखोलाको सतह बढेसँगै बजारक्षेत्र डुबानमा परेको पर्वत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप पौडेलका अनुसार बजार क्षेत्रका घरहरुमा अहिलेसम्म क्षति पुगेको छैन ।

कालीगण्डकी किनारमा रहेको शालिग्राम शिला र संस्कृत भाषाको पढाइ हुने पाठशाला, मन्दिर, धर्मशाला लगायतका संरचना डुबेका छन् । नदीमा पानीको सतह बढ्दो क्रममा रहेकोले बजारक्षेत्रका व्यवसायी तथा सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । ‘हाम्रो टोली सेतीवेणी बजारमै छ । अहिलेसम्म पर्वत क्षेत्रमा खासै क्षति भएको छैन,’ पौडेलले भने, ‘स्याङ्जा खण्डमा केहि घरहरु डुबानमा परेको खबर छ । बजारबासीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।’

देशकै ठूलो कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधका कारण थुनिएको कालीगण्डकीको सतह हरेक वर्षाको समय बजारसम्म आउने गरेको छ । सेतीवेणी क्षेत्र शालिग्राम शिलाका कारण पनि चर्चामा छ ।


कालीगण्डकी र सेतीखोलाले हरेक वर्षा बहाव परिवर्तन गर्दा सेतीवेणी बजारको केही क्षेत्र र कालीगण्डकी शिला कहिले पर्वत त कहिले स्याङ्जा जिल्लातर्फ पर्ने गरेको छ । कहिले कुन कहिले कुन जिल्लामा पर्ने भएकोले पनि डुबानको समस्या समाधान गर्न कुनै जिल्लाले पनि प्रभावकारी कदम नचालेको स्थानीय गोपाल शर्माले गुनासो गरे । उनका अनुसार मंगलबार बिहान सबेरैदेखि बजारक्षेत्रमा पानीको सतह पसेको हो । ‘नदीको सतह अहिले पनि बढिरहेको छ,’ उनले भने, ‘साँझसम्म यस्तै हुने हो भने बजारक्षेत्रका धेरै घर खतरामा हुन्छन् ।’ उनका अनुसार बजारका करिब एक दर्जन घर डुबानमा परिसकेका छन् ।

प्रकाशित : असार १, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?