१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पहिरोले मध्यपहाडी र मालढुंगा–बेनी सडक अवरुद्ध

अगन्धर तिवारी

पर्वत — पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत सहस्रधारामा पहिरो खसेपछि पर्वत–बागलुङ खण्डमा यातायात अवरुद्ध भएको छ । मालढुंगा–बेनी खण्डमा पनि पहिरो खसेपछि मंगलबार बिहानदेखि गाडी गुड्न सकेका छैनन् ।  

पहिरोले मध्यपहाडी र मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत प्रहरीका अनुसार कुस्मा–१ पाङमा पर्ने सहस्रधारामा पहिरो खसेको छ । मालढुंगा हुँदै बेनी र मुस्ताङ जाने सडकखण्डको लस्ती, केराबारी, ज्यामिरे, लामाखेतलगायत ठाउँमा पनि पहिरो गएको छ । पर्वत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार सडक अवरुद्ध भएपछि बागलुङ, म्याग्दी र मुस्ताङसम्मको सडक सम्पर्क टुटेको छ ।

निषेधाज्ञामा अत्यावश्यक कामका लागि ओहोरदोहोर गर्ने सवारी कुस्मा नगरपालिकाका अर्मादी, जलजलाको लामाखेत तथा बागलुङको मालढुंगामा रोकिएका छन् । ‘पहिरो हटाउन प्रयास गरेको हो,’ प्रहरी निरिक्षक पौडेलले भने, ‘वर्षा नरोकिएकोले सकिएको छैन ।’

सोमबार दिउँसोदेखिको वर्षाले नदीखोलाहरूमा बाढी आएको छ । कालीगण्डकी र मोदीखोलामा पानीको बहाव बढेको छ । जलजला गाउँपालिका, मोदी गाउँपालिका र बिहादी गाउँपालिकाका केही बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको पर्वत प्रशासनले जनाएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सामाजिक सञ्जालमार्फत कालीण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिनभर कास्कीको लुम्ले तथा म्याग्दीको घोडेपानी क्षेत्रमा अत्यधिक वर्षा हुने जनाएको छ । कुस्मा–१ नयाँपुलका होम पुनका अनुसार कालीगण्डकीको सतह अत्यधिक बढेको छ । ‘कालीखोलो चार–पाँच वर्षयताकै ठूलो भएको छ,’ पुनले भने, ‘हामी किनारमा बस्न नसकेर माथि आएका छौं ।’ नयाँपुलमा र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका पुनका अनुसार किनारमा बनाइएका कटेजसमेत असुरक्षित छन् ।

प्रकाशित : असार १, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?