पहिरोले म्याग्दीका सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीबाट छुट्ने सबै सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ । मुस्ताङ हुँदै चीन जोड्ने अन्तर्देशीय बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ४१ किलोमिटर खण्डमा पहिरोले गाडी  गुड्न सकेका छैनन् । 

बेनी–घाँसा सडक खण्डको चमेरे, तिप्ल्याङ, तातोपानी, गुइठे, काप्रेभिरमा पहिरो सडक छेकेको छ भने म्याग्दीको बेगखोला र मुस्ताङको मार्फाखोला तथा लुप्राखोलामा खहरे बढेकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसै गरी सदरमुकामबाट पश्चिम दरबाङतर्फ छुट्ने बेनी–दरबाङ २४ किमी सडकको फापरखेतमा पहिरोले बेससहित सडक बगाएकोले यातायात अवरुद्ध छ । बेनी–बाग्लुङ सडकको रत्नेचौर क्षेत्र र बाहिरी जिल्लाबाट म्याग्दी भित्रने बेनी–मालढुङ्गा सडकमा पनि पहिरो गएको छ ।

प्रहरीका अनुसार दरवाङबाट पश्चिम बाग्लुङ जोड्ने रुम सडक, ताकम र विम सडकमा पनि यातायात चल्न सकेका छैनन् । बेनी–पाखापानी, भकिम्ली, कुहुँ र गलेश्वर–भगवती, पोखरे–शिख, महभीर–राम्चेसहितका सडक पहिरो र खहरेले अवरुद्ध भएका छन् ।

‘लगातारको झरीपछि आएको बाढीपहिरोले क्षति पुर्‍याएकाले जिल्लाका कुनै पनि सडक सवारी चल्न सक्ने अवस्थामा छैनन्,’ प्रहरी नायब श्याम राईले भने, ‘झरी नरोकिएकाले तत्काल सडक मर्मत सम्भव छैन ।’


प्रकाशित : असार १, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?