मुस्ताङमा बाढीले सडक अवरुद्ध, यात्रु अलपत्र

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडकको मुस्ताङ खण्डको मार्फा खोलामा आएको बाढीले सडकको कल्भर्ट बगाउँदा यातायात अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका यात्रु अलपत्र परेका छन् ।

मुस्ताङमा बाढीले सडक अवरुद्ध, यात्रु अलपत्र

मार्फा खोलामाथि पक्की पुल निर्माणाधीन रहेको र कच्ची अस्थायी मोटरपुल बाढीले बगाएकोले यातायात अवरुद्ध भएको हो । बाढीले यातायात अवरुद्ध भएपछि तलबाट माथि लोमान्थाङतर्फ फर्केका शिक्षक, विद्यार्थी र धर्मगुरुहरु समेत कम्तिमा ४० जना यात्रु मार्फा खोलामा अलपत्र परेका छन् ।

‘मार्फा खोलामा आएको बाढीले ल्याएको लेदो थुप्रो लागेको र खोलामा पानीको सतह समेत अधिक वृद्धि भएकोले यातायात अवरुद्ध हुँदा बिहान नौ बजेदेखि हामी अलपत्र परेका छौं,’ घर बिदाबाट कार्यस्थल फर्कंदै गरेका कोरला सीमावर्ती छोसेरको दिव्यज्याेति माविका शिक्षक भोजराज तिवारीले भने, ‘बाटो खुलाउन आएको एस्काभेटर समेत बिग्रेपछि झन् समस्या छ । पैदल तरेर खोलापारी जान पनि सक्दैनौं, वारी बास पनि पाएका छैनौं ।’

धवलागिरी र टुक्चे पीक क्षेत्रमा परेको भारी वर्षापछि मार्फा खोलामा आएको बाढीले ल्याएको लेदो सहितको गेग्रान सडक थुप्रो लागेकोले सोमबार बिहानैदेखि याताताय अवरुद्ध भएको हो ।

‘मार्फा खोलामा बाढीले सास्ती दिएको छ । दिउँसो अबेर पहिरो पन्छ्याएर याताताय सञ्चालन गरिए पनि पुन:बाढी आएकोले यातायात अवरुद्ध भएको छ । आज सडक खुलाउन सकिने अवस्था छैन’मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन्, ‘ठाडो खोलामा जबरजस्ती गाडी हाल्न रोक लगाएका छौं । अलपत्र परेका यात्रुलाई सुरक्षित बासका लागी मैले पहल गर्छु ।’

प्रकाशित : जेष्ठ ३१, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?