कोरोनाले योजना फरफारकमा बाधा

प्रकाश बराल

बागलुङ — निसीखोला गाउँपालिकाका अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पटकपटक कार्यालय बन्द भयो । आर्थिक वर्षको अन्तिममा योजना फरफारक गर्नुसाटो कार्यालय बन्द गरेर बस्दा विकास निर्माण प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए । 

कोरोनाले योजना फरफारकमा बाधा

कहिले इन्जिनियर संक्रमित, कहिले प्रशासन र स्वास्थ्य शाखाका कर्मचारी । पालैपालो संक्रमणमा परेपछि कार्यालय सञ्चालन जोखिम भएको उनले बताए । जोखिमले अधिकांश काम रोकिएका हुन् । ‘विकास निर्माण रोकेनौं, तेल ढुवानीमा समस्या र धेरै मजदुर परिचालन गर्न नसक्दा काम प्रभावित भयो,’ शाक्यले भने, ‘स्वास्थ्य मापदण्ड पालना गर्दै गरेको कामले ७५ प्रतिशत सफल हुने आस गरिएको छ ।’

अहिले पनि संक्रमण बाँकी भएकोले योजना फरफारक गर्न नसकेको उनले बताए । बरु दाताले दिएका सामग्री स्वास्थ्य संस्था, वडा र संक्रमितको घरघरमा लैजाने काममा बढी खटिनु परेको उनले गुनासो गरे । यहाँ अहिले पनि चारजना कर्मचारी संक्रमित छन् ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजासहित धेरै कर्मचारी र जनप्रतिनिधि पनि संक्रमित छन् । स्वास्थ्य शाखाकी अनमी र प्रशासनका कर्मचारीले अभिभावक समेत गुमाए । गाउँगाउँमा जोखिम बढेपछि विकास निर्माण ठप्पै भयो । वैशाख र जेठभर कुनै पनि काम गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले बताए । ‘बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनमा बढी समय दिनुपर्‍यो, अत्याश्यक सेवा सहज बनाएर अब फरफारकका काम थाल्दैछौं,’ सुवेदीले भने, ‘सोचेजति प्रगति गर्न सकिँदैन ।’ तर कतिपय काम नरोकेको वित्तीय र भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी नै हुने उनले बताए ।

कोरोना संक्रमणबाट गलकोट बढी प्रभावित छ । यहाँ १६ जनाको मृत्यु भयो । ३ सय बढी संक्रमित छन् । संस्थागत आइसोलेसनमा पनि बिरामी राखिएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए । उपभोक्ता समितिका पदाधिकारी संक्रमित भएर होम आइसोलेसन परेपछि काम रोकिएको उनले बताए । ‘केही ठूला आयोजना क्रमागतमा छन्, तर मझौला योजना सक्न हम्मे छ,’ भण्डारीले भने, ‘रातदिन स्वास्थ्य सेवा र विकासमा खटिँदा पनि शतप्रतिशत प्रगति गर्न नसकिने भयो ।’ ग्रामीण सडक, खानेपानी र सिँचाइका आयोजनाको ८० प्रतिशत प्रगति निकाल्ने तयारी गरेको उनले बताए । निर्माणाधीन नरेठाँटीको मोटररेबल पुल भने यो वर्ष थालनी मात्रै भएको छ । आगामी वर्ष मात्रै काम सक्ने गरी एउटा पिलर मात्रै ठडिएको छ ।

बागलुङ नगरपालिकाले निर्माणाधीन बसपार्क, बलेवा विमानस्थल लगायत आयोजनामा सफलता पाउन नसकेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘ठूला आयोजनामा निषेधाज्ञाले धेरै सूचक पूरा गर्न सकिएको छैन,’ पौडेलले भने, ‘नगरस्तरीय योजना भने अधिकांश पूरा भएका छन् ।’ बजार क्षेत्रमा कालोपत्रे तथा सडक मर्मत भएको, पञ्चकोटस्थित अग्लो कलशका लागि ५० लाख रुपैयाँको काम गरिएको, भैरवस्थान जाने सडक स्तरीय बनेको उनले बताए ।

सबै पालिकाले अस्थायी कोभिड अस्पताल व्यवस्थापनमा अगुवाइ गरेको दाबी गरेका छन । दरबन्दी व्यवस्थापन, स्वास्थ्य सामग्री वर्षाभर पुग्ने गरी संकलन गरेको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । वैशाखयता बागलुङका सबै पालिकामा कर्मचारीमा संक्रमण निरन्तर देखियो ।

सातादेखि बागलुङ नगरपालिका बन्द छ । कर्मचारीमा संक्रमण देखिएपछि कार्यालय बन्द हुँदा सेवाग्राही फर्केका छन् । ‘पटकपटक भुक्तानीका लागि आए पनि फर्कनुपरेको छ,’ सिगानास्थित सडक निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर खड्काले भने, ‘कार्यालय खुल्दा पछि गरौंला भने, अहिले बन्द छ, लाखौं रकम भुक्तानी बाँकी रह्यो ।’

प्रकाशित : जेष्ठ ३१, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?