लिची बिक्रीमा व्यस्त किसान

हरिराम उप्रेती

गोरखा — निषेधाज्ञाका बीच पालुङटार नगरपालिका–६, ७ र ८ वडाका किसान लिची बिक्रीमा व्यस्त छन् । पछिल्लो एक सातायता ठेकेदार लिची खरिदका लागि किसानका बगैचा पुगेका छन् । यहाँको लिची काठमाडौं, पोखरा, दमौलीलगायत बजारमा बिक्रीका लागि लगिन्छ ।

लिची बिक्रीमा व्यस्त किसान

निषेधाज्ञाका बेला फलफूल बिक्री गर्ने सवारी सञ्चालनमा समस्या नहुँदा लिची किसानलाई राहत भएको छ । विगतमा जस्तै डोकोमा बोकेर पृथ्वीराजमार्ग आसपास लगेर बिक्री गर्न भने नपाएको किसानको दुःखेसो छ । राजमार्गमा लगेर बिक्री गर्दा किसानले प्रतिकेजी एक सय रुपैयाँसम्म भाउ पाउँथे ।

निषेधाज्ञाका बीच उत्पादन गरेको कृषि उपज कम मूल्यमा लैजान खोज्ने गरेको पालुङटार–६ का राजेश काफ्लेले बताए । ‘निषेधाज्ञा भन्दै ठेकेदारले कम भाउमा खरिद गर्न खोज्छन्,’ उनले भने, ‘अघिल्लो वर्ष पनि लकडाउन थियो, बिक्री गर्न त्यति सहज भएन, दुई वर्षअघि ७० रुपैयाँ प्रतिकेजी बिक्री हुने लिची यो वर्ष ५०–६० रुपैयाँमा लैजान बार्गेनिङ गरिरहेका छन् ।’

पालुङटार–६ का रणबहादुर सुवेदीले धान र मकै खेती हुने जग्गामा लिची लगाएका छन् । ‘लिचीका बोट हुर्कंदै छन्, धान, मकैभन्दा लिची खेती गर्न सजिलो छ,’ उनले भने, ‘निषेधाज्ञाले बिक्रीमा गाह्रो भएको हो, नत्र लिची किन्न आउने व्यापारीको यतिखेर भीड लागिसक्थ्यो ।’ अघिल्ला वर्षजस्तो व्यापारीको भीडभाड नभए पनि बिक्री नै नहुने डर भने नरहेको किसान बताउँछन् । उक्त क्षेत्रमा ५–७ बोट भएका किसानले सिजनका बेला कम्तीमा पनि २० हजार रुपैयाँसम्म कमाइ गर्ने उनले बताए ।

असार ५ सम्म लिची बिक्री नभए झरेर खेर जाने किसान बताउँछन् । लिची पकेट क्षेत्रअन्तर्गत वडा ८ को धुवाकोट र वडा ७ को च्याङ्लीमा लिची बिक्रीका लागि समस्या नरहेको पालुङटार नगरकी कृषि शाखाकी प्राविधिक लक्ष्मी देवकोटाले बताइन् । ‘वडा ६ मा पनि ठूलो समस्या त होइन, केही किसानको बिक्री भएन भन्ने छ, नगरपालिकाले सहजीकरण गरेर भए पनि बिक्रीमा सघाउँछौँ, बिक्री नभएर त्यसै कुहिन दिँदैनौँ,’ उनले भनिन् । यो वर्ष लिची उत्पादन राम्रो रहेको पनि उनले बताइन् ।

२०३० मा परीक्षणका रूपमा लगाइएको लिची फस्टाएपछि किसानले यहाँ यो खेतीलाई व्यावसायिक बनाएका छन् । घरपिच्छे लिचीका बगैचा छन् । ३ वटै वडाबाट एक सिजनमा १० देखि १२ करोड रुपैयाँसम्मको लिची बिक्री हुने गरेको संयुक्त लिची ब्लक सञ्चालन समन्वय समितिका अध्यक्ष तथा पालुङटार नगरपालिका–७ आलेवगरका लिची किसान भोजबहादुर गुरुङले बताए ।

‘धान मकैभन्दा लिचीबाट १० गुणा बढी फाइदा भएको छ,’ उनले भने । गुरुङले २०४२ बाट लिची खेती थालेका हुन् । १२ रोपनी क्षेत्रफलमा उनको लिची बगैंचा छ । यस वर्ष २ लाख रुपैयाँमा बगैंचाका लिची बिक्री गरेको उनले बताए । ‘लिची फल्यो भने बिक्रीका लागि गाह्रो छैन,’ उनले भने, ‘निषेधाज्ञामा पनि लिची किन्न व्यापारी आइरहेका छन् ।’ २०३० बाट च्याङ्लीमा लिची खेती सुरु भएको उनले बताए । ‘सकैभन्दा पहिले

च्याङ्लीमा लिची लगाइएको हो, पछि यो भूगोलमा सुहाउँदो देखेपछि विस्तार भयो,’ उनले भने, ‘जिल्लामै यहाँजस्तो लिची अन्यत्र छैन ।’ उनका अनुसार ३० बोटभन्दा बढी लिची हुने किसान अहिले ३ वटा वडामा २ सयको हाराहारीमा छन् । एउटै बोटबाट किसानले ७ देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । यी वडाका ३५ सय बढी रोपनीमा लिची खेती छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?