बागलुङमा असार ७ सम्म निषेधाज्ञा- गण्डकी - कान्तिपुर समाचार

बागलुङमा असार ७ सम्म निषेधाज्ञा

प्रकाश बराल

बागलुङ — कोरोना संक्रमण नियन्त्रण नभएकोले जिल्ला प्रशासन कार्यालय बागलुङले असार ७ गते सम्मका लागि निशेधाज्ञा थपेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीको आइतबारको बैठकले निषेधाज्ञा थप गर्न प्रशासनलाई सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

यसअघिको निर्णय भन्दा निषेधाज्ञा केही खुकुलो पार्ने गरी प्रशासनले तयारी समेत गरेको छ । यसअघि आइतबार र बुधबार खुलेका वित्तीय संस्था सातामा ४ दिन खुल्न पाउने व्यवस्था गरिएको छ । ती संस्थालाई बिहान ७ देखि १० बजेसम्म खुलाइनेछ । त्यस्तै तरकारी, फलफूल दूध र दैनिक उपभोग्य सामाग्री खरिद गर्ने पसल बिहानको समयमा खुलाउन पाउने समेत निर्णय गरिएको छ । आइतबार, मंगलबार, बुधबार र शुक्रबार ती संस्था खुलाउन पाइने उल्लेख छ ।

सेवा प्रवाह गर्दापनि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य गर्नुपर्ने छ । यसपटक प्रशासनबाट कुनैपनि पाससमेत जारी नहुने प्रजिअ कार्कीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । तोकिएको समयबाहेक अन्य समयमा निषेधाज्ञा कडाइ हुनेछ ।

विज्ञप्तिमा सरकारले हालै जारी गरेको निषेधाज्ञा सम्बन्धी अध्यादेश २०७८ उल्लंघन गरेमा ६ महिना जेल र तीन लाख रुपैयाँसम्म जरिवाना गरिने जनाइएको छ । अध्यादेश लागू गर्न अवरोध गर्नेलाई १ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवान हुनेछ । व्यक्तिले निषेधाज्ञा उल्लंघन गरेमा १ लाख र संस्थाले उल्लंघन गरेमा ५ लाख जरिवाना गरिने समेत बताइएको छ । मास्क नलगाइ आवतजावत गरेमा हरेक पटक २ सय जरिवाना प्रहरीले तिराउन सक्ने व्यवस्था गरिएको हो ।

अनुमतिबिना सवारी साधन सञ्चालन भएमा पटकै पिच्छे दुई पाङग्रेलाई २ हजार र चारपाङग्रेलाई ५ हजार जरिवाना लगाइने बताइएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

अति लोपोन्मुख दुरा र लुङखिम भाषाको पाठ्यपुस्तक बन्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — भाषा आयोगले अति लोपोन्मुख सूचीमा रहेका दुरा र लुङखिम भाषा संवर्द्धनका निम्ति पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै पाठ्यपुस्तक निर्माण कार्य पूरा हुने आयोगकी सदस्य उषा हमालले जनाएकी छिन् ।

‘आयोगले अति लोपोन्मुख भाषा संरक्षण पहल गरेको छ,’ आयोगले सम्बन्धित समुदायसँग आइतबार गरेको भर्चुअल संवादमा सदस्य हमालले भनिन्, ‘असार पन्ध्रभित्र दुरा र लुङखिम भाषाको पाठ्यसामग्रीको प्रारम्भिक खाका तयार गरिनेछ र सम्भव भएसम्म चाँडै विद्यालयमा औपचारिक पठनपाठनका निम्ति पाठ्यपुस्तक उपलब्ध गराइनेछ ।’

तथ्यांकमा दुरा भाषा बोल्नेको संख्या २ हजार १ सय ५६ जना छन् तर व्यवहारमा दुरा भाषा बोल्ने शून्यप्राय: रहेको अनुसन्धानमा संलग्न भाषाशास्त्री तारामणि राईले बताए । ‘दुराको वक्ता कोही पनि छैन, तर अहिले दुरा भाषाका वक्ता अध्यता मुक्तिनाथ घिमिरेको पहलमा यो भाषाको पुनःउत्थान भएको छ,’ भाषाशास्त्री राईले भने, ‘दुरा सेवा समाजले बच्चालाई मातृभाषा सिकाउने, गीत गाउँनेजस्ता क्रियाकलापले पुस्तान्तरण गर्ने प्रयास सकारात्मक रूपमा अघि बढेको छ ।’

दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुराले दुरा भाषाको शब्दकोश, आधारभूत व्याकरण निर्माणको काम भएको जनाएका छन् । लमजुङका स्थानीय शिक्षक मुक्तिनाथ घिमिरेले २०५४ सालमा दुरा भाषामा स्नातकोत्तर हासिल गरेका थिए । उनै घिमिरको पहलमा दुरा भाषा, शब्दकोश र व्याकरण निर्माणको कार्य भएको हो । ‘वक्तै छैन भनिराखे पनि दुरा बस्तीको विद्यालयमा दुराका बच्चाले एकापसमा संवाद गर्न सक्ने अवस्था बनेको छ,’ अध्यक्ष दुराले भने ।

आयोगको तर्फबाट भाषाशास्त्री राईको टोलीले इलाम जिल्लाको सूर्योदय नगरपालिका क्षेत्रमा बोलिने लुङखिम भाषाको अध्ययन भएको छ । ‘लुङखिम भाषा अत्यन्तै संकटमा छ,’ लोपोन्मुख भाषा संरक्षणमा स्थानीय सरकारको सहयोग नरहेको उल्लेख गर्दै उनले भने, ‘लुङखिमका वक्ताको स्थिति एउटा घरमा मात्रै सीमित छ । राम्रो दखल राख्ने नन्दलाल राईको गत हप्ता निधन भयो । त्यसैले संकट देखिन्छ । अब चार–पाँच जनामात्र वक्ता छन् ।’ लुङखिम राई समाजका सदस्य पूर्णबहादुर राईले मातृभाषा संरक्षण पहल जारी राखेको बताए ।

आयोगका कामु सचिव लक्ष्मीप्रसाद भट्टराईले यसअघि अति लोपोन्मुख तिलुङ, बराम र कुसुन्डा भाषाको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन भइरहेको जनाए । आयोगका सूचना अधिकारी लोकबहादुर लोप्चनले लोपोन्मुख भाषाको पाठ्यपुस्तक निर्माणसँगै ९० घण्टाको मातृभाषा कक्षा संचालन गरिने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×