गण्डकी प्रदेशसभा बैठक स्थगित

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशसभाको आइतबार बस्ने भनिएको बैठक अनिश्चित भएको छ । अर्को सूचना जारी नहुदाँसम्मलाई बैठक स्थगित गरिएको संसद सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । गण्डकीमा शनिबार मात्रै नयाँ सरकार गठन भएकाले संसदको तयारी नहुदाँ बैठक स्थगित गर्नुपरेको सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशसभा बैठक स्थगित

‘संसदमा बिजनेस पनि छैन’ सचिव पोखरेलले भने, ‘बैठक सञ्चालन गर्नको लागि सरकारले तयारी गरेको छैन । यसैले बैठक कहिले बस्ने भन्ने टुंगो छैन् ।’

सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला भएकाले बैठक तत्काल बस्नुपर्ने सरकारका प्रवक्ता कुमार खड्का बताउछन् । शनिबार बनेको नयाँ सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सो अनुसार विश्वासको मत लिने तयारी भइरहेको खड्काले बताए । ‘हामी एक दुईदिनमै विश्वासको मत लिन्छौं’ उनले भने, ‘यसको लागि तयारी भइरहेको छ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने समय गुज्रिसकेको छ । असार १ मा त बजेट नै ल्याउनुपर्छ ।’ नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउने गरी तयारी भइरहेको उनले बताए । चार दलको समर्थनमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको नेतृत्वमा सरकार गठन भएको थियो । यसो त, सरकारले कुन बिजनेस लैजाने भन्ने विषयमा पनि छलफल गरेको छैन् ।

आइतबार बसेको मन्त्री परिषद्को बैठकमा पूर्वमुख्यमन्त्रीको सेवासुविधाको विषयमा छलफल गरिएको थियो भने मन्त्री कुमार खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ५ जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । पृथ्वीसब्बा गुरुङको नेतृत्वको सरकार जेठ २७ मा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको थियो । जेठ १६ देखि चलेको बर्खे अधिवेशनले आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?