कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेन्टिलेटर प्रयोगविहीन

म्याग्दी — बेनी अस्पतालमा प्रदेश सरकारले अघिल्लो वर्ष पठाएका चार वटा भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आएका छैनन् ।

अस्पतालका अनुसार पछिल्लो एक वर्षमा एक जना सुगरका बिरामीको उपचारका क्रममा मुटुको चाल बन्द भएपछि २४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्योबाहेक अहिलेसम्म भेन्टिलेटरको उपयोग भएको छैन ।

अस्पतालमा आईसीयू ५ बेड छ । तर जनशक्ति अभावमा आईसीयू सञ्चालन नभएको हो । बिरामीलाई भेन्टिलेटर चलाएपछि २४ सै घण्टा चल्नुपर्‍यो । त्यसका लागि मेडिकल डाक्टर र स्टाफ नर्स खटिनुपर्ने हुँदा अतिरिक्त जनशक्ति नहुँदा उपकरण भए पनि उपयोग हुन नसकेको अस्पतालले जनाएको छ । भेन्टिलेटर उपलब्ध भए पनि डाक्टरसहितको गुणस्तरीय स्याहार दिन नसक्ने भएपछि अस्पतालले बिरामीलाई बाहिर रेफर गर्दै आएको छ । ‘भेन्टिलेटर चलाउनु ठूलो कुरा होइन । बिरामीलाई भेन्टिलेटरमा राखेपछि चौबिसै घण्टा एक डाक्टर र स्टाफ नर्स स्ट्यान्डबाई रहेर मनिटरिङ गर्न मुख्य समस्या हो,’ अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले भने, ‘गुणस्तरीय सेवा दिन नसकेपछि बिरामीले आफैंले ठूला सहरका अस्पतालमा रेफर माग्छन् ।’

कँडेलका अनुसार दैनिक ८ घण्टाको ड्युटी राख्दा एक बिरामीको केयर गर्न २४ घण्टामा तीन डाक्टर र नर्स आवश्यक पर्छ । तर त्यो जनशक्ति अस्पतालमा छैन । ‘नर्मल अवस्थामै उपचार सेवा प्रभावित छ, आईसीयू झन् परको कुरा भयो’ उनले भने । अस्पताल प्रशासनका अनुसार अहिले स्थायीतर्फ एक जना एमडीजीपी र करारका ४ मेडिकल अफिसरको भरमा अस्पताल चलेको छ । यी मेडिकल अफिसरमध्ये दुई जना पनि अध्ययनका लागि जाँदै छन् 

अस्पतालमा एक संस्थाबाट एमडीजीपीसमेत केही निजी स्रोत र छात्रवृत्तिका डाक्टर आएकाले अस्पतालले कोरोना, इमर्जेन्सी र जनरल वार्डतर्फका नियमित सेवा सञ्चालन गर्न सजिलो भएको छ । एक वर्षको अवधिमा एक जना सुगरका बिरामीको उपचारक्रममा मुटुको चाल बन्द भएपछि २४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको बाहेक भेन्टिलेटरको उपयोग भएको छैन ।

प्रकाशित : जेष्ठ २९, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?