कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बस्तीमा बाढी, पहिरोको त्रास

घनश्याम खड्का

म्याग्दी — मनसुन सुरु भएकै दिनको भारी वर्षाले म्याग्दी सदरमुकाम बेनीमा बाढी बस्तीमा पसेको छ । बेनीको सिरानमा अवस्थित बलौटे भित्तामा डोजर लगाएर खनेका सडकले प्राकृतिक खोल्सा नासेपछि भेल बाढी निकास खोज्दै बस्ती छिरेको हो ।

बस्तीमा बाढी, पहिरोको त्रास

शुक्रबार राति ११ बजेदेखि २ बजेसम्म परेको भारी वर्षापछि कुरिलाखर्कको भित्तादेखि आँपारुख सम्मको सडकमा पहिरो झरेपछि भेल बाढीले पहिरोकाले लेदो बगाएर ल्याएपछि बेनी नगरपालिका–७ मंगलाघाटस्थित कृषि, भेटेनरी, वन र भू–संरक्षण कार्यालयका आवास क्षेत्र पनि बाढी पसेर डुबान गरेको छ । बाढीले सो स्थानमा रहेको हाइटेक प्रविधिमा आधारित वन नर्सरीमा पनि क्षति पुर्‍याएको छ । मंगलाघाट महारानी थान मन्दीर क्षेत्रमा पनि क्षति पुऱ्याएको छ ।

‘हामीले योजना बनाउँदा संरक्षण र व्यवस्थापनमा ख्यालै गरेनौं । सडकसँगै समयमै संरक्षणका काम गरेनौं । नालीमा थुपारेका निर्माण सामाग्रीले बाटो बन्द गरेपछि भेलबाढी बस्ती पस्यो’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘भेल बाढीबाट हामी पनि प्रभावित रह्यौ । बस्तीमाथि सडकमा काम गरिरहेको पूर्वाधार कायालयले समयमा र व्यवस्थित काम नगर्दा बाढीले लक्षण देखायो ।’ अधिकृत सुवेदीले समुदायका पाका मान्छेहरुबाट रैथाने ज्ञानलाई समेत बुटुलेर योजना बनाउनु आवश्यक रहेकाे बताए ।

हस्पिटल चोकबाट खैरेनी बस्ती हुँदै माथि जामुनाखर्क पुग्ने सडकबाट निक्लेको माटोले कालीपुल बसपार्कमा, बेनी–अर्थुङे–पाखापानी र पुलाचौर जाने सडकबाटआउने भेल बाढीले क्याम्पस चोक र मंगलाघाटतथा बेनी–अग्नीखेत सडकले मंगलाघाट बजारमा बाढी पसेर समस्या मात्र होइन, पहिरो खसेर मानवीय क्षतिको जोखिम बढेको छ ।

‘बेनी–अर्थुङ्गे–पाखापानी सडकको कुरिलाखर्क–आँपारुख–आर्मिब्यारेकमुनि सम्मको करिब ३ किलोमिटर सडक नै बेनी बजारमा पहिरोको मुख्य जोखिम हो । पछिल्लो एक दशकदेखि यही सडकबाट निक्लेको माटो र भेल बाढीको प्राकृतिक मार्ग परिर्वतन हुँदा बेनीमा बाढीकाे जाेखिम छ,’ बेनीका क्याम्पस चोक भेल बाढी व्यस्थापन समितिका अध्यक्ष गोविन्द बानियाँले भने, ‘कुरिलाखर्क–आँपारुखसम्मको सडकको एलाइमेन्ट नै परिवर्तन जरुरी छ नत्र समस्याजहिल्यै उस्तै रहन्छ ।’

त्यस्तै, महारानीथान नजिकै भित्ता भत्कन थालेपछि मंगलाघाटको माथिल्लो बस्ती उच्च जोखिममा परेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?