कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा वैकल्पिक सरकार गठनको आह्वान

प्रदेश प्रमुखको आह्वानपछि स–शरीर बहुमत सांसद उपस्थित गराउने विपक्षीको तयारी
दीपक परियार

पोखरा — गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार वैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी छन् । उनले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् । 

गण्डकीमा वैकल्पिक सरकार गठनको आह्वान

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि संसद सचिवालयले शुक्रबार प्रदेश प्रमुखलाई औपचारिक जानकारी गराएको थियो । संसद सचिवालयको पत्र प्राप्त हुनासाथ प्रदेश प्रमुख पौडेलले सरकार गठनको आह्वान गरिन् ।

प्रदेश प्रमुखको आह्वानसँग नयाँ सरकार गठनको बाटो खुलेको छ । धारा १६८ (५) अनुसार आफूसँग बहुमत भएको आधार प्रस्तुत गर्न सक्ने कुनै एक प्रदेशसभा सदस्यको नेतृत्वमा नयाँ सरकार गठन हुने व्यवस्था छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यकता पर्छ । त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएका थिए । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले मत हाले । जनमोर्चाका पियारी थापा र खिमविक्रम शाहीले विपक्षमा मतदान गरे पनि अर्का सांसद कृष्ण थापाले भने पार्टी ह्विप उल्लंघन गर्दै तटस्थ बसे । उक्त ह्विप उल्लंघन भएकैले थापा कारबाहीमा परेका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिने बताइसकेका छन् ।

यसरी हेर्दा विपक्षी गठबन्धनको पक्षमा ३१ सांसद पुग्ने देखिन्छ । प्रदेश प्रमुखको आह्वानपछि स–शरीर बहुमत सांसद उपस्थित गराउने विपक्षीको तयारी छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई यसअघि नै सरकारको नेतृत्वका लागि अघि सारेको छ । संविधानको धारा १६८ (५) बमोजिम पोखरेल आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?