कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निषेधाज्ञाको मारमा बस व्यवसायी

प्रकाश बराल

बागलुङ — लालकाजी पुन ६ वर्षदेखि बागलुङ बजारमा डेरामा बस्दै आएका छन् । १२ घण्टा बस चलाउने उनको दैनिकी थियो । २०७६ चैत ८ देखि उनको पेसामा संकट सुरु भयो ।

निषेधाज्ञाको मारमा बस व्यवसायी

चैत ११ गते लकडाउन सुरु हुनु तीन दिन पहिलेदेखि बसको यात्रा रोकिएको थियो । त्यसपछि सहज दिन फर्केर आएन । चैतदेखि असोजसम्म बस चलाउनै पाइएन, त्यसपछि बसमा स्वास्थ्य मापदण्डको नियमित अनुगमन भयो । सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने स्वास्थ्य मापदण्डको पालना गर्दा यात्री चढेनन् । ‘जिपमा ७ देखि १० जना कोचाकोच हिँड्दा कसैले पनि जाँच गरेनन् । बसमा १०–१५ जना हुँदा पनि दिनदिनै अनुगमनमा परिन्थ्यो,’ पुनले भने, ‘तिनै जिपले दोब्बर भाडा असुल्थे, बसमा ५ रुपैयाँ बढी भाडा माग्न पाइएन ।’ निषेधाज्ञाको समयमा भने रातो प्लेटको सवारीले १० गुणासम्म भाडा लिएर यात्री ओसारेको उनले बताए ।

बसको यात्रा गर्दा बागलुङदेखि पर्वतको कुस्मा ५० रुपैयाँ, पोखरा गएको २ सय रुपैयाँ भाडा छ । तर रातो प्लेटका जिपले एक जनाको ५ हजार रुपैयाँसम्म असुल गरेका छन् । ‘बिरामीलाई काठमाडौंबाट घर ल्याउँदा ५० हजार तिर्न बाध्य भयौं,’ स्थानीय राधिका कँडेलले भनिन्, ‘अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने ठाउँ थिएन, ऋण खोजेरै घर आइयो ।’ ट्याक्सीमा पनि अन्य समयभन्दा चारदेखि पाँच गुणा भाडा तिरेपछि मात्रै एकठाउँबाट अर्को ठाउँ पुग्न सकिने उनले बताइन् ।

खाद्य सामग्री र निर्माण सामग्री बोक्ने निहुँमा हजारौं ठगी भएको पुनको भनाइ छ । ‘खाद्यान्न बोक्ने भनेका छन्, चर्को भाडा असुल्छन्, प्रहरी चेकिङ छलेर मानिस पनि ओसार्छन्,’ पुनले भने । पुनले ६ वर्षअघि ३० लाख रुपैयाँमा २५ सिटको बस किनेका थिए । बैंकबाट लिएको ऋणको किस्ता मासिक ४० हजार रुपैयाँ तिर्नुपर्छ । सुरुमा चालक राखेका थिए, पछि आफैंले चलाउन थाले । ‘चालकको खर्च ३५ हजार, सहयोगीको खर्च १५ हजार, नियमित तेल खर्च र मर्मत गर्नैपर्छ,’ उनले भने, ‘महिनाको लाख रुपैयाँ कमाइ भयो भने मुस्किलले २५ देखि ३० हजार बचाउन सकिन्छ ।’ त्यही बचतले घरपरिवार धान्ने गरेकोमा पोहोरको ६ महिना र अहिलेको २ महिना बन्दले ऋणको भारी बढेको उनले गुनासो गरे । पुनमात्र हैन बस व्यवसायी नन्दु घिमिरे, रामबहादुर श्रेष्ठ र लक्ष्मी शर्माले पनि लाखौंको बस ग्यारेजमा राखेर नियमित किस्ता, ब्याज र कर तिर्नुपर्दा घरपरिवारको उठीबास लाग्ने खतरा बढेको गुनासो गरे ।

धौलागिरि गण्डकी यातायात कम्पनीमा ३ सय बस छन् । थन्किएका अधिकांश बसको इन्जिनमा खिया लागेको छ । कम्पनीका क्यू तथा प्रशासन इन्चार्ज रामप्रसाद अधिकारीका अनुसार पुराना बस विस्थापित गरेर केही वर्षदेखि डिलक्स र एसी बस चल्न थालेका थिए । अधिकांश बस ७० लाखदेखि ९० लाख रुपैयाँ लगानीबाट भित्रिएका हुन् । यो कम्पनीमा सूचीकृत बसमा मात्रै २ अर्ब १० करोड रुपैयाँ लगानी छ । त्योमध्ये ९० प्रतिशत ऋणमा निकालिएका बस हुन् ।

स्थानीय भगवती यातायात कम्पनीले जिप र बसमा झन्डै ५० करोड लगानी गरेको छ । बुर्तिबाङ यातायात सेवा कम्पनीमा ८० सवारी सूचीकृत छन् । कम्पनीका वरिष्ठ उपाध्यक्ष कुलबहादुर सिँजालीका अनुसार ६० करोड लगानी छ ।'

प्रकाशित : जेष्ठ २८, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?