‘पहिला खोप अनि पढाइ’

सम्झना रसाइली

तनहुँ — नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना कहरका कारण शिक्षण संस्थाले नियमित पठनपाठन मात्र होइन शैक्षिक सत्रको अन्तिम परीक्षासमेत लिन सकेनन् । कोरोना संक्रमणको त्रासका कारण रोकिएका वार्षिक परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने तयारी भएको छ ।

‘पहिला खोप अनि पढाइ’

जिल्लाका १० वटै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

यता सरकारले यही असार १ देखि नयाँ शैक्षिक सत्र सञ्चालनको तयारी गरेको छ । तर जिल्लाका शैक्षिक संस्था भने कसरी अगाडि बढ्ने भन्ने दोधारमा छन् । संक्रमण जोखिम पनि नघटेको र कोरोनाविरुद्धको खोप पनि शिक्षक, विद्यार्थी तथा अभिभावकको पहुँचमा नभएकाले आगामी दिनमा कसरी पठनपाठन गर्ने भन्ने समस्या आइलागेको भानु नगरपालिका–२ स्थित होमराज लोहनी राष्ट्रिय शिक्षा सदन माविका प्रधानाध्यापक होमनारायण श्रेष्ठ बताउँछन् । उनले भने, ‘मुलुकका तीनै तहका सरकार तथा सरोकारवाला निकायले यस्तो विषम परिस्थितिलाई ख्याल गरी पठनपाठन कसरी गर्ने भन्ने विषयमा प्रस्ट नीति बनाउनुपर्छ ।’ दैनिक रूपमा कोरोना संक्रमण बढ्दो रहेको र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दा विद्यार्थी तथा शिक्षकमा संक्रमण हुने जोखिम पनि उत्तिकै रहेको उनले बताए । ‘कोरोनाको जोखिम कायमै छ, शिक्षक अझै पनि खोपको दायरामा आएका छैनन् । संक्रमणको जोखिममा विद्यार्थीलाई पढाउन पनि मुस्किल छ । विद्यार्थीले मन लगाएर पढ्न पनि सक्दैनन्,’ उनले भने ।

विद्यार्थी र शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउन सकिए भौतिक कक्षा सञ्चालनमा समस्या नहुने ऋषिङ गाउँपालिका–१ कोइदिमस्थित अम्मर माविका प्रअ कर्मसिंह थापाले बताए । उनले भने, ‘खोप लगाइसकेपछि ढुक्क भएर कक्षा सञ्चालन गर्न सकिन्थ्यो ।’ भौगोलिक विकटताका कारण सबै विद्यार्थी प्रविधिको पहुँचमा नरहेको उनको भनाइ छ । ‘ग्रामीण क्षेत्र भएकाले विद्यार्थी १/२ घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुई सिफ्ट विद्यालय सञ्चालनका लागि पनि कठिन छ । त्यसैले विद्यार्थी र शिक्षकलाई खोपको दायरामा ल्याउन सके सुरक्षित वातावरणमा पठनपाठन गर्न गराउन सकिन्थ्यो ।’

सरकारले चाँडो सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भानुका नगरप्रमुख उदयराज गौलीले बताए । उनले भने, ‘मुलुकका तीनै तहका सरकारले यस वर्षको विकास बजेटलाई कटौती गरी नागरिकलाई सहज रूपमा कोरोनाविरुद्धको खोप व्यवस्थापनमा ध्यान दिनुपर्छ । हाम्रा सबै विद्यार्थीसँग प्रविधिको पहुँच छैन ।’

प्रकाशित : जेष्ठ २८, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?