मुख्यमन्त्री गुरुङले प्रदेशसभामा पाएनन् विश्वासको मत - गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री गुरुङले प्रदेशसभामा पाएनन् विश्वासको मत 

जम्मा उपस्थित ५८- विश्वासको मतको पक्षमा २७, विपक्षमा ३० । मन्त्री मनाङ्गे अनुपस्थित, राजमोका कृष्ण थापा तटस्थ ।
कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाए । यो उनको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो । 

खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतदान गरे । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमै उपस्थित नभएकाले मतदान प्रक्रियामा पनि सहभागिता जनाएनन् ।

यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बसे । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

बीपी राजमार्गमा सवारीको लर्को

राजकुमार कार्की

सिन्धुली — जारी निषेधाज्ञालाइ अवज्ञा गर्दै बीपी राजमार्गमा सवारी चाप ह्वात्तै बढेको छ । संघीय राजधानीसँग जोड्ने छोटो दुरीको यो वैकल्पिक राजमार्गमा यात्रुवाहक सवारी निषेधाज्ञाको अवज्ञा गर्दै चल्न थालेपछि चाप बढेको हो ।

चेकिङमा रहेका प्रहरीकै मिलेमतोमा सयौं यात्रुबाहक सवारी साधनहरु आउने जाने गरेको व्यवासायीहरुले बताएका छन् । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमा मात्रै प्रहरीको ६ स्थानमा चेक प्वाइन्ट छ तर पास भएको यात्रुवाहक सवारी भन्दै रकम असुलेर छाड्ने गरिएको ती व्यवसायीहरुको आरोप छ ।

एक यातायात व्यवसायीले भने, ‘केहीलाइ कमाउको धन्दा भएको छ । कोरोना महामारी नै नभएको अवस्थामा जसरी सवारी साधन चलेका छन् ।’ निषेधाज्ञाको पालना गरेर यातायात व्यवसायीहरुले सवारी साधन थन्क्याएको अवस्थामा केहीले भने प्रहरीको मिलिभगतमा कमाउने अवसर बनाएको उनले बताए ।

प्रदेश नम्बर १ र २ का जिल्लाहरुबाट सवारी पास बनाएर यात्रुसहित राजधानीतर्फ जाने सवारीको चाप बढेको ट्राफिक प्रहरीको भनाइ छ । बिरामी, अत्यावश्यक काम देखाएर सवारी धनीले पास लिइ यात्रु बोकेर ओहोर दोहोर गरिरहेका छन् । तराईका जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, सप्तरी, मोरङ, सुनसरी, झापा जिल्लाबाट सवारी पास लिइ यात्रुवाहक हायस, बोलेरो, सुमो लगाएतका सवारी साधनहरु काठमाडौं जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको सवारी अनुमति लिएर यात्रुहरु ओसारेकाले बढी भाडा असुल्ने गरिएको छ । सवारी पासमा समेत चलखेल भएको कमलामाइ नगरपालिका ६ का उत्पल खड्काले बताएका छन् । भन्छन्, ‘एकादुइ पो अत्यावश्यक हुन्छ, सयौं सवारी साधनलाइ पास दिइ पठाइएकाले चलखेल भएको प्रष्टै हुन्छ ।’ खुला हुँदाको जस्तै सवारी ओहोर–दोहोर गर्दा संक्रमण बढ्ने खतरा रहेको छ । अनुमति नहुने सवारी साधनलाइ भने कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुशहरी भण्डारी पास भएका यात्रुवाहक सवारीलाई नरोक्दा राजमार्गमा लर्को देखिएको बताउँछन् । राति चल्न रोक लगाएकाले बिहान छोड्दा एकैपटक यात्रुवाहक सवारीको ताँती देखिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×