संक्रमितको शव व्यवस्थापनमा चुनौती

अस्पतालमा शवगृह नहुँदा अस्पतालबाहिर त्रिपाल टाँगेर संक्रमितको शव राख्नुपर्ने बाध्यता
प्रतीक्षा काफ्ले

स्याङ्जा — गत साता आँधीखोला गाउँपालिका–२ मा कोरोना संक्रमित ९२ वर्षीया वृद्धाको मृत्यु भयो । धूवाँबाट कोरोना भाइरस फैलिन्छ भनेर वृद्धाको शव जलाउन दिएनन् । सेतीदोभानका एक विज्ञान शिक्षकले नै गाउँलेलाई समेत भ्रममा पारेर वृद्धाको शव जलाउन दिएनन् ।

प्रहरीले जनप्रतिनिधि अगुवासंग छलफल गरेर स्थानीय आमा समूहको भवन नजिकै शव गाडेर व्यवस्थापन गर्‍यो । मृतकका छोराबुहारीलाई पनि संक्रमण थियो । पुतलीबजार नगरपालिका–१० की ३२ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भयो । शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले पुतलीबजार–१० राङखोलास्थित आँधीखोला किनारमा खाल्डो खनेको थियो । आफूहरूलाई कोरोना सर्छ भन्दै स्थानीयले शव गाड्न अवरोध गरे ।

अवरोध गर्ने एक छिमेकी आफन्तको पनि कोरोनाबाटै मृत्यु भयो । उनको शव नदी किनारमै व्यवस्थापन भयो । गल्याङ नगरपालिका–८ करादीकी ३८ वर्षीया महिलाको संक्रमणकै कारण मृत्यु भयो । दाहसंस्कारका लागि राम्दीस्थित घाटमा शव जलाउन खोज्दा स्थानीयले अवरोध गरे । अन्तमा स्थानीय, जनप्रतिनिधि र प्रहरीको रोहवरले राम्दीमै शव व्यवस्थापन गरियो । अर्जुनचौपारी गाउँपालिका–२ गौश्वाराका ८० वर्षीया महिलाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भयो । अर्जुनचौपारी गापास्थित घाटमा उनको शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले रोके । प्रहरीले सम्झाइबुझाइ गरेपछि सेनाको टोलीले शव गाडेर व्यवस्थापन गर्‍यो ।

जेठयता मात्रै कोरोना संक्रमितको शव व्यवस्थापनमा भएका यी केही प्रतिनिधि घटनामात्र हुन् । कोरोना संक्रमितको शव व्यवस्थापनमा चुनौती रहेको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । ‘स्याङ्जामा शव जलाउने व्यवस्थित घाट छैन,’ उनले भने, ‘घाटबाट स्थानीय बस्ती नजिकै पर्छ । यसले स्थानीयले अवरोध गर्छन् । पहिले नै प्रहरीको ठूलो संख्यामा टोली खटाउनुपर्छ ।’

गाउँका ठूलाबडा, भद्रभलादमी, पढेलेखेका व्यक्तिले समेत कोरोना संक्रमितको शव व्यवस्थापन गर्न दिनुहुँदैन हामीलाई नै असर गर्छ भन्दै सिंगो गाउँ नै उचालेर भ्रम फैलाउने गरेको प्रहरी प्रमुख बोगटीले बताए । कतिपय आँधीखोला या कालीगण्डकीकै घाट व्यक्तिको निजी जग्गा भएकाले पनि शव व्यवस्थापनमा थप चुनौती भएको उनले बताए । ‘लास गाड्दा वर्षाको समयमा बाढीले उधिन्न सक्छ । शव उधिनिएपछि गन्हाएर झन् वातावरण प्रदूषण हुनुको साथै संक्रमण पनि फैलिने खतरा रहन्छ,’ उनले भने, ‘लास गाड्नुभन्दा जलाउनु राम्रो हो । तर, स्थानीयले जलाउन दिँदैनन् ।’

जिल्ला अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको शव पनि छोटो समयमै अस्पतालबाट निकाल्न नसकिने नेपाली सेनाका एक अधिकृतले बताए । उनका अनुसार कोरोनाबाट मृत्यु भएकाको कारण उपचाररत अन्य बिरामी पनि हतोत्साहित हुने गरेका छन् । उनले भने, ‘न शववाहन छ । न त अन्य सवारीसाधन बोक्न मान्छन् । सरोकारवाला निकायसँग बारम्बार शव व्यवस्थापनको पहल गर्न भन्छौं तर छिटो हुँदैन । उस्तैपरे मृत्यु भएको भोलिपल्ट मात्र शव निकाल्नुपर्छ ।’

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा. रमेश आचार्यले शव जलाउँदा भाइरस मर्ने भएकाले कुनै असर नहुने भएकाले उत्तम विकल्प जलाउनु नै रहेको बताए । ‘मानिसको सोचाइ हो,’ उनले भने, ‘पारिवारका सदस्य त्रसित हुनुका साथै सामाजिक तिरस्कारका कारण पनि शव व्यवस्थापनमा विकृति आएको छ । बिरामी भर्ना गर्दा शव व्यवस्थापन हामी आफैं गर्छौं भन्ने परिवारका सदस्य पनि मृत्यु भएको ३/४ घण्टापछि मात्रै सेनालाई जिम्मा लगाइदिनुस् भन्नुहुन्छ ।’ उनले शव व्यवस्थापनमा स्थानीय तहको पनि कमजोरी रहेको बताए ।

अन्य स्थानीय तहका व्यक्ति उपचारका क्रममा जिल्ला अस्पतालमै मृत्यु भयो भने उनीहरूको शव पुतलीबजारले नगरी आफ्नै स्थानीय तहमा पठाउनुपर्छ भन्ने गैरजिम्मेवारीपूर्ण सोचाइका कारण शव व्यवस्थापनमा थप समस्या भएको डा.आचार्यले बताए । भन्छन्, ‘कोरोना बिरामीको मृत्यु भए डीसीसीएमसीमार्फत जानकारी गराउँछौं,’ उनले भने, ‘सो समितिले सेनालाई पत्राचार गर्छ । एक त पत्राचार हुनै समय लाग्छ । अर्को कुरा पत्राचार भए पनि सेनाले शव उठाउनै ढिला गर्छ । उठाइहालेको शव लैजाने ठाउँ नभएकाले अस्पतालमै छाड्नुपर्छ ।’ उनले जिल्ला अस्पतालमा शवगृह नहुँदा अस्पताल बाहिर त्रिपाल टाँगेर संक्रमितको शव राख्ने गरेको बताए । ‘भित्र एचडीयूमा राखौं अन्य बिरामी हतोत्साहित हुन्छन्, बाहिर निकालौं राख्ने ठाउँ छैन,’ उनले थपे ।

जिल्ला अस्पतालमा हालसम्म बाहिरी जिल्लाका ४ संक्रमितको मृत्यु भएको छ । एक जना संक्रमितको स्थानीय तहको सहमतिमा शव व्यवस्थापन गरिएको बताउँदै डा. आचार्यले एक जनाको शव पोखरा पठाइएको बताए । यसो त, अन्य २ जनाको शव पनि उनीहरूकै स्थानीय तहमा पठाइयो । तथ्यांकअनुसार संक्रमितको शव थोरैमा पनि १२/१३ घण्टासम्म अस्पतालमै राख्नुपरेको छ ।

पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले डीसीसीएमसीको बैठकले आफ्नो पालिकाको शव सम्बन्धित पालिकाले नै व्यवस्थापन गर्नुपर्ने निर्णय भएको बताए । उनले आफ्नो पालिकाको शव लगेको भएमा आफूहरूलाई जानकारी नहुने र यदि दाहसंस्कार गर्नुपरेमा पुतलीबजारले नै गरेको दाबी गरे ।

प्रकाशित : जेष्ठ २६, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?