कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पर्वतमा पाँच बस्ती सार्न सिफारिस

भूकम्पले हल्लिएको भिरालो जमिनमा अवस्थित बस्तीमा सधैं पहिरोकै डर
अगन्धर तिवारी

पर्वत — वर्षायामको सुरुसँगै बाढीपहिरोको उच्च जोखिममा परेका जिल्लाका ५ बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका ती बस्ती तत्काल स्थानान्तरण गर्न राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको हो । 

पर्वतमा पाँच बस्ती सार्न सिफारिस

कुश्मा–३ दुर्लुङको ढकालबारी, कोटघर, कोटगाउँ र नुवारखोला छन् । कुश्मा–१२ को राम्चेलाई पनि यसअघि नै स्थानान्तरणको सिफारिस पठाइसकिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । उनका अनुसार जलजला–४ को गौरेटे र वडा ८ फर्सेका केही घरलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिस गरिएको छ ।

सबै बस्ती मनसुनी वर्षाका कारण भत्किने जोखिममा छन् । २०७२ को भूकम्पले हल्लिएको भिरालो जमिनमा अवस्थित बस्तीमा बेलाबखत गइरहने पहिरोका कारण धेरैले ज्यान गुमाउनुपरेको छ । गत वर्ष जेठ ३१ गते गएको पहिरोले दुर्लुङमा ९ जनाले ज्यान गुमाएका थिए । तीन घरगोठ बगाएको थियो । पहिरोको स्थलगत अनुगमनका लागि आएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले समेत बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । सोही सिफारिसका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल बस्ती सार्ने निर्णय गरेको हो । त्यस्तै २०७६ साउनमा जलजला–८ फर्सेमा गएको पहिरोले ११ घर पुरिनुका साथै एक जनाको ज्यान गएको थियो । राम्चेमा २०७२ सालको वर्षाको समयदेखि नै पहिरो खस्न सुरु गरेपछि त्यहाँका १४ परिवार पहिरोको उच्च जोखिममा छन् ।

विपद् व्यस्थापन समितिले बस्ती सार्ने निर्णय गरेपछि केही राहतको महसुस भएको जोखिम क्षेत्रका बस्तीवासीले बताएका छन् । ‘धेरैतिर धाउँदा वाक्क भएका थियौं,’ कुश्मा–१२ का दुर्गा लामिछानेले भने, ‘सीडीओ कार्यालयले हाम्रा घर पनि सार्ने निर्णय गरेको समाचार सुन्दा खुसी लाग्यो ।’ ढिलै भए पनि सुरक्षित बास पाउनेमा आशावादी भएको उनले बताए । सोही गाउँकी पार्वती लामिछानेले बस्ती सार्ने निर्णय ढिला भएको भन्दै मुखैमा आएको मनसुनबाट जोगिने उपाय अपनाउनुपर्ने बताइन् । ‘अब बर्खा लागिहाल्यो,’ उनले भनिन्, ‘यतिबेला निर्णय गरेर अब कहिले घर बनाएर सर्ने हो ? यो बर्खामा बच्ने उपाय पहिला चाहियो ।’ आउँदो हिउँदसम्म बच्ने उपाय अपनाउन जोखिमको बस्तीवासीले माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?