१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चुमनुब्रीमा पहिलो पटक कोरोना

हरिराम उप्रेती

गोरखा — एघार स्थानीय रहेको जिल्लामा अन्य स्थानीय तहमा कोरोना संक्रमण फैलावट तीव्र हुँदा दुर्गमको चुमनुब्री गाउँपालिका सुरक्षित बन्यो । पहिलो लहरको संक्रमणका बेला चुमनुब्रीमा एक जना संक्रमित पनि थिएनन् । 

चुमनुब्रीमा पहिलो पटक कोरोना

दोस्रो लहरको कोरोना संक्रमणको फैलावटको ग्राफ अन्य ठाउँमा बढिरहँदा चुमनुब्रीमा देखिएको थिएन । रुघाखोकीका बिरामी बढेसँगै गत बिहीबार चुमनुब्री–३ पाङसिङमा २० जनाको एन्टिजेन परीक्षण भयो । सबैको रिपोर्ट नेगेटिभ आयो । तर शुक्रबार भने पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । एन्टिजेन परीक्षणमा चुमनुब्री–३ घट्टेखोलाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

२६ जनाको कोरोना परीक्षण गर्दा ३१ वर्षीया महिला र ६ र २१ वर्षका पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । ‘पहिलो लहरको संक्रमणका बेला चुमनुब्री संक्रमणको जोखिम थिएन,’ उनले भने, ‘दोस्रो लहरअन्तर्गत गाउँपालिकामा नै परीक्षण गर्दा पहिलो पटक संक्रमित भेटिएका हुन् ।’ दोस्रो लहरको संक्रमण फैलिएयता चुमनुब्री स्थायी घर भई उपचारका लागि काठमाडौं पुगेका २ जनामा भने पोजिटिभ देखिएको खड्काले बताए । स्वास्थ्य कार्यालयले चुमनुब्रीका लागि ५ सय एन्टिजेन किट पठाएको छ ।

‘एन्टिजेन किट जाँदै छ, आइतबारसम्म पुग्छ,’ खड्काले भने, ‘अब परीक्षणको दायरा बढाउँछौं ।’ चुमनुब्री–३ कै पाती बस्तीमा शनिबार एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मी पुगेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षणका लागि बस्तीबस्तीमा स्वास्थ्यकर्मी परिचालन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । परीक्षणका लागि गाउँपालिका स्वास्थ्य शाखा र सिर्दिवास स्वास्थ्य चौकीका कर्मचारी परिचालन गरिएको उनले बताए । ‘डाक्टरको दरबन्दी नभएको हो, अन्य स्वास्थ्यकर्मी हुनुहुन्छ,’ उनले भने, ‘हाललाई एन्टिजेन किट पनि पर्याप्त छ, स्वास्थ्य समस्या देखिएका ठाउँमा परीक्षण बढाउँदै छौं ।’

सिर्दिवासको बुद्ध माविमा १२ बेड क्षमताको आइसोलेसन बनाइएको छ । मनास्लु पदमार्गअन्तर्गतको चुमनुब्रीमा हाल पर्यटक आवागमन पनि ठप्प छ । होटल बन्द छन् । गाउँपालिका प्रवेश गर्ने जगत नाकामा हेल्थडेक्स स्थापना गरिएको छ ।

हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीले ज्वरोलगायत सामान्य स्वास्थ्य जाँच गरेपछि मात्र गाउँपालिका प्रवेश गर्ने अनुमति दिने गरेको श्रेष्ठले बताए । तिब्बतसँग जोडिएको सामागाउँ र छेकम्पारको नाका पनि बन्द छ । स्थानीय तिब्बतका बजारबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे । हाल आरुघाटबाट खच्चडमार्फत सामग्री ढुवानी भइरहेको छ ।

बागलुङको उपल्लाचौर सिल

बागलुङ– सदरमुकामस्थित बागलुङ नगरपालिका–४ को उपल्लाचौरमा मात्रै एक सय जनाभन्दा बढी कोरोना संक्रमित पुगेपछि तीनवटा टोल सिल गरिएको छ । टोलमा कोही पनि छिर्न नपाउने गरी तारबार लगाइएको छ । कोरोना सचेतनासम्बन्धी व्यानर लेखेर टाँगिएको छ । साथै ती बस्तीको चारैतिर जनपथ र सशस्त्र प्रहरीको चौबिसै घण्टा पहरा दिने व्यवस्था मिलाइएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

श्रीनगरटोलदेखि डुंडुंगा जाने सडकका २५ घरमा ४० बढी संक्रमित छन् । त्यस्तै राइटरचोकदेखि कटरको बोटसम्म र नेपाली सेनाको २३ नम्बर बाहिनीदेखि गौरीधाम जाने सडक पनि पूर्ण रूपमा सिल गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘यति धेरै संक्रमण र फैलावटको दर अन्यत्र छैन, त्यसैले टोल सिलको निर्णयमा पुग्यौं,’ खनालले भने, ‘सबै घरमा सरसफाइका सामग्री वितरण गर्ने र लक्षणसहितका बिरामी देखिएमा तत्काल उपचारका लागि अस्पताल पठाउन निगरानी बढाएका छौं ।’

यी सबै टोलमा अत्यावश्यक सामग्री वडाबाट वितरण गर्ने, तर कसैलाई घरबाट निस्कन नदिने योजना बनाइएको वडाध्यक्ष ध्रुबबहादुर केसीले जानकारी दिए । वडा कार्यालय रहेको स्थानमा पनि संक्रमित अत्यधिक बढेपछि कार्यालय बन्द गरेर सबै सेवा ठप्प पारिएको उनले जनाए ।

प्रकाशित : जेष्ठ २३, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?