प्रदेश संरचना खारेज गरौं : राजमो सांसद थापा

बजेट संघीयताविरोधी भएको प्रतिपक्षको आरोप
प्रतीक्षा काफ्ले

पोखरा — राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेकी छन् । वर्तमान सरकार संघीयताविरोधी रहेको बताउँदै उनले जनता र राष्ट्रियताको पक्षमा काम गर्न नसकेको आरोप लगाइन् ।

प्रदेश संरचना खारेज गरौं : राजमो सांसद थापा

‘स्थानीय तहलाई बलियो बनाएर प्रदेश संरचना हटाउनुपर्छ,’ गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा उनले भनिन्, ‘अनावश्यकरूपमा आर्थिक भार थपिएको छ ।’

संघीय सरकारले शनिवार ल्याएको बजेटमाथि व्याख्या गर्दै उनले सरकारले प्रदेशको संरचनालाई नहेरेको बताइन् । प्रदेश संरचनाको आवश्यक नरहेको बताउँदै खारेज गर्नुपर्ने माग राखेकी थिइन् । उनले नागरिकतासम्बन्धी अध्यादेशको पनि विरोध गरिन् । उनले सरकारले ल्याएको बजेट पनि संघीयताविपरीत रहेको बताएकी छन् ।

‘बजेट, नागरिकता विधेयक र सत्तासँग सौदाबाजी गरिएको छ,’ उनले भनिन् । प्रदेश सरकारले पनि सत्ता टिकाउन मन्त्रालय विस्तार गरेको बताउँदै उनले चुनावमा खर्च गर्ने रकम जनतालाई बचाउनतर्फ लाग्न अनुरोध गरिन् ।

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले अहिलेको स्थिति सामान्य नरहेको बताउँदै सरकारले ल्याएको बजेट संघीयताविरोधी रहेको बताए । वर्तमान सरकार संघीयताविरोधी भएकाले प्रदेशलाई प्रदेश भन्न नसक्ने उनको भनाइ थियो । कोभिड–१९ र केन्द्रीय राजनीति संकटमा अहिले मुलुक रहेको बताउँदै उनले ७२ वर्षसम्म रगत, पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत तोड्ने काम भएको बताएका थिए ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट चुनाव लक्षित रहेको बताए । यो बजेट नभई झूटको खेती रहेको उनको भनाइ थियो । ‘काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन सक्दैन,’ उनले भने, ‘पूर्ण बजेट ल्याउनु संविधानविपरीत छ ।’ उनले राष्ट्रिय राजनीतिको प्रभाव प्रदेशमा पनि परेको बताउँदै गण्डकीमा रहेको अल्पमतको सरकारले विश्वासको मत नलिई बजेट ल्याउन नसक्ने बताए ।

संसद्मा नेताहरूले गण्डकीको सबैभन्दा ठूलो अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन नपाएर सुत्केरीसहित ८ जनाको मृत्यु हुनु दुःखद रहेको बताएका थिए । छानबिन समिति गठन गर्दै सरकारले यस घटनामा माफी माग्नुपर्ने उनीहरूको भनाइ थियो । जसपाका हरिशरण आचार्यले संघीयताको विरोध गर्ने व्यक्तिलाई अहिले कुर्सी प्यारो भएको बताएका थिए ।

‘जनताले लडेर ल्याएको संसद् पटकपटक विघटन गर्दै कुर्सीमा बस्ने अधिकार छैन,’ उनले भने, ‘तीन वर्षको अवधिमा नेपाल एसियाकै भ्रष्ट मुलुकमध्ये पहिलोमा परेको छ । यो कसका कारणले हो ?’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी भएका कारण संसद्मा उपस्थित भएनन् । सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकार अहिलेसम्म समन्वय र सहकार्यमा अगाडि बढेको बताउँदै आगामी दिनमा पनि सहकार्यबाटै अगाडि बढ्न चाहेको बताए ।

प्रकाशित : जेष्ठ १७, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?