मध्यविन्दु अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट- गण्डकी - कान्तिपुर समाचार

मध्यविन्दु अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट

चितवन रेफर गर्नुपर्ने बाध्यता हट्ने
नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अक्सिजन अभाव भएर चितवन रेफर गर्नुपर्ने अवस्था भएपछि अस्पतालले प्लान्ट सञ्चालनमा ल्याएको हो ।

प्लान्टबाट दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । प्लान्ट यसअघि नै जोडिएको भए पनि अन्य आवश्यक उपकरण अभावमा सञ्चालनमा आउन सकेको थिएन् । अस्पताल सञ्चालक समितिले अक्सिजनको माग उच्च भएपछि हतारहतार प्लान्ट प्रयोगमा ल्याएको हो । निजी अक्सिजन उद्योगबाट अक्सिजन खरिद गरेर उपचार गर्दै आएको अस्पतालले अब पाइपलाइनमार्फत २० बेडमा सोझै अक्सिजन पुर्‍याउनेछ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरबहादुर थापाले आवश्यक ५० प्रतिशतभन्दा बढी अक्सिजन अब आफैंले उत्पादन गर्नसक्ने र बाँकी निजी उद्योगबाट खरिद गरिने बताए । ‘कोरोना बिरामीको चाप हुँदासम्म अक्सिजनको माग उच्च हुने हो । त्यसपछि आफ्नै प्लान्टबाट उत्पादन भएकाले पुग्छ,’ थापाले भने, ‘अक्सिजन अभावमा छटपटाएका बिरामीलाई चितवन रेफर गर्नुपर्ने अवस्था थियो । अब सहज हुनेछ ।’

अहिले अस्पतालमा दैनिक ३५ देखि ४० सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । अस्पतालमा २० वेडको एचडीयू सेवा पनि सञ्चालनमा ल्याइएको छ । अस्पतालमा ४० बेड कोरोना संक्रमितका लागि छुट्टाइएको छ । प्लान्ट सञ्चालनका लागि ३८ लाख र पाइपलाइनका लागि १९ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको हो ।

प्रकाशित : जेष्ठ १०, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितको टाउकोको शल्यक्रिया

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको अप्रेसन थिएटरमा एक कोरोना संक्रमित पुरुषको टाउकोको जटिल शल्यक्रिया गरिएको छ ।

टाउको दुख्ने, रिँगटा चल्ने र उल्टी पनि बारम्बार हुन थालेपछि धरानका ५७ वर्षीय एक पुरुषले आफूलाई कोरोना संक्रमण भएको आशंका गर्दै प्रतिष्ठानमा उपचारका लागि गत मंगलबार भर्ना भएका थिए ।

भर्ना भएलगत्तै उनको बायाँ हात र खुट्टा पनि चल्न छाडेको र बोली लर्बराउन थालेपछि चिकित्सकहरूले थप परीक्षण गर्दा टाउकोमा रगत जमेको पत्ता लागेको थियो ।

त्यसपछि तत्काल शल्यक्रिया गरिएको थियो । बिरामी पुरुषको करिब दुई साताअघि बाटोमा लडेर टाउको ठोक्किए पनि कतै चोटपटक नलागेपछि घरैमा बसेका थिए । तर एक सातापछि टाउको दुख्ने, रिँगटा चल्ने र उल्टी हुन थालेपछि तत्काल शल्यक्रिया नगरे मृत्यु हुन सक्ने भएकाले शल्यक्रिया गरेको प्रतिष्ठानका न्युरो सर्जन डा. आलोक दाहालले बताए ।

कोभिड अस्पतालको अप्रेसन थिएटरमा टाउकोको हड्डी फोरेर उनको टाउकोको दिमाग र हड्डीको बीचमा फैलिएको रगत हटाउन करिब २ घण्टा समय लागेको डा. दाहालले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७८ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×