कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहकै व्यवस्थापनमा कोभिड अस्पताल

नगरपालिकाले यहाँका चिकित्सकलाई ज्येष्ठ नागरिक घरदैलो कार्यक्रममा समेत खटाएको छ
आश गुरुङ

लमजुङ — स्थानीय तहले अक्सिजन सिलिन्डरसहितका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । कोरोना संक्रमित बिरामीको उपचारका लागि स्थानीय तह आफैंले व्यवस्थापन गरी अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

स्थानीय तहकै व्यवस्थापनमा कोभिड अस्पताल

बढी प्रभावित क्षेत्रमा कोभिड अस्पताल सञ्चालनमा छ । कम प्रभावित क्षेत्रमा स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

संघीय सरकारले बजेट पठाएपछि स्थानीय तहले गत मंसिर १५ देखि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । केन्द्रको बजेटले ३ महिना मात्रै धानेपछि अहिले स्थानीय तह आफैंले कोभिड अस्पताल सञ्चालन गर्न थालेका छन् ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले वडा नं. ३, श्रीमन्ज्याङस्थित आयुर्वेदको कार्यालयमा ५ वटा बेड र अक्सिजनसहित कोभिड अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार एक जना एमबीबीएस डाक्टर, २ जना नर्स र १ जना कार्यालय सहयोगी भर्ना गरेर राखिएको छ ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले मध्यनेपाल नगरपालिका १, जिताबेंसी निबुवाटारीमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरिएको बताए । उनले ५ बेड बनाएर सबै बेडमा अक्सिजन राखिएको बताए । २५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको उनले बताए । ‘कोरोना संक्रमित बिरामीको उपचार गर्न डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेका छौं’ उनले भने ।

मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार निबुवाटारीको सहरी स्वास्थ्य केन्द्र नजिकैको सूर्यज्योति माविको पुनानो भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालका लागि नगरपालिकाले १ जना एमबीबीएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी खटाएको छ । पौडेलका अनुसार कोभिड अस्पतालका लागि नियुक्त चिकित्सकलाई नगरपालिकाले ज्येष्ठ नागरिक घरदैलो कार्यक्रममा समेत खटाएको थियो ।

क्व्होलासोंथर गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । उनीहरूले नर्स भर्ना गरेर राखेका छन् । बेंसीसहर र सुन्दरबजार नगरपालिकाले भने यसअघि नै कोभिड अस्पताल बनाएको थिएन । बेंसीसहरमा जिल्ला अस्पताल रहेको र सुन्दरबजारमा सुन्दरबजार अस्पताल रहेकाले स्थानीय तहले कोभिड अस्पताल सञ्चालन नगरेको हो । अन्य स्थानीय तहले कोभिड अस्पताल सञ्चालनको तयारी गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले केही स्थानीय तहले डाक्टर र केहीले नर्स भर्ना गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको बताए । ‘गाउँ गाउँमै संक्रमित देखिन थालेपछि स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेका हुन्’ उनले भने । उनका अनुसार स्थानीय तहले गत मंसिरबाट सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताललाई अहिले अक्सिजनसहित थप व्यवस्थापन गरिएको बताए ।

प्रकाशित : वैशाख ३०, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?