कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जनमोर्चा सांसदको विज्ञप्ति ‘किर्ते’ : सचेतक थापा

मैले विपक्षी गठबन्धनमा हस्ताक्षर गरेको हुँ, मेरो नाममा नक्कली विज्ञप्ति सार्वजनिक गरियो : सांसद शाही
दीपक परियार

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसदद्वय कृष्ण थापा र खिमविक्रम शाहीद्वारा जारी गरिएको भनिएको विज्ञप्ति किर्ते भएको पार्टीको संसदीय दलकी सचेतक पियारी थापाले बताएकी छन् । एमालेइतरको गठबन्धनमा नरहेको ब्यहोराको दुई सांसदको विज्ञप्तिमा कुनै सत्यता नरहेको उनले बुधबार फेसबुकमार्फत् बताएकी हुन् ।

जनमोर्चा सांसदको विज्ञप्ति ‘किर्ते’ : सचेतक थापा

‘एक त राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्णबहादुर थापा भन्ने नामको सांसद हुनुहुन्न, उहाँको नाम कृष्ण थापा हो,’ उनले भनेकी छन्, ‘अर्को, खिमविक्रम शाहीको नामबाट आएका विज्ञप्तिमा उहाँको हस्ताक्षर नभएको र किर्ते काम भएको छ ।’

बुधबार सांसद कृष्ण थापाले पार्टीको ह्विप नमानेको भन्दै जनमोर्चाले संसदीय दलको नेताबाट हटाएर उनलाई कारबाही गरेको थियो । त्यसलगत्तै आफूमाथि गरिएको कारबाही गैर संवैधानिक र गैरकानुनी भएको भन्दै सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ रहेको ब्यहोराको विज्ञप्ति आएको थियो ।

केहीबेरमा खिमविक्रम शाहीको नामबाट समेत आफू कुनै पनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी सहितको विज्ञप्ति सार्वजनिक भयो । सांसद शाहीले उक्त विज्ञप्ति आफ्नो नभएको कान्तिपुरसँग बताएका छन् । ‘मैले मंगलबार नै गठबन्धनका पक्षमा हस्ताक्षर गरेर बागलुङ आएको हुँ,’ उनले भने, ‘यो मेरो चरित्र हत्या गर्ने र जनमोर्चाको बद्नाम गर्ने गरी किर्ते गरियो ।’ कसले विज्ञप्ति सार्वजनिक गरेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

सांसद कृष्ण थापाले भने उक्त विज्ञप्ति आफ्नै भएको बताए । ‘मैले हस्ताक्षर स्क्यान गरेर पठाएको थिएँ, लेटरप्याडमा कृष्णबहादुर थापा भएछ । साथीहरुले त्यही विज्ञप्ति सार्वजनिक गरेछन्,’ उनले भने, ‘प्रदेश प्रमुखलाई बुझाएको पत्रमा कृष्ण थापा नै छ ।’

जनमोर्चाका सांसदहरुको आफू विपक्षी गठबन्धनमा नरहेको भन्ने विज्ञप्ति सार्वजनिक भएपछि प्रदेश प्रमुखले विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेको पेश गरेको दावीलाई सांसदको संख्या नपुगेको भन्दै अस्विकार गरेकी थिइन् । लगत्तै उनले ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङलाई बुधबार नै मुख्यमन्त्री नियुक्ति गरिसकेकी छन् । गुरुङले बुधबार नै मुख्यमन्त्रीको सपथ लिइसकेका छन् ।

प्रकाशित : वैशाख २९, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?