१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पार्टी कार्यालय आइसोलेसनलाई

आँपपीपल र गोरखा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन माग

गोरखा — जिल्ला कांग्रेस र माओवादी केन्द्रले सदरमुकामस्थित पार्टी कार्यालयको भवन कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसन बनाउन दिने भएका छन् । 

संक्रमितको उपचारमा ठाउँ अभाव देखिएकाले बीपी गणेशमान मेमोरियल सभा हल आइसोलेसन केन्द्र निर्माण गरी संक्रमितको औषधोपचारका लागि प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस सचिव नन्दप्रसाद न्यौपानेले बताए । यसैगरी पार्टी कार्यालय र सभा हल आइसोलेसनका लागि दिने निर्णय भएको माओवादी केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी पार्टी कार्यालय भवन आइसोलेसन निर्माणका लागि दिने निर्णय गरेको उक्त पार्टीले जनाएको छ । ‘बिरामी उपचारमा जिल्लामा ठाउँ अभाव भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको स्वास्थ्य सुरक्षा नै हाम्रो मुख्य सवाल हो ।’

न्यौपानेका अनुसार २ सभा हललाई आइसोलेसन केन्द्रका रूपमा प्रयोग गर्न दिने निर्णय गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराइएको बताए । न्यौपानेले भने, ‘पार्टीको एउटा प्रमुख दायित्व नै जनताको जीवन रक्षा गर्नु हो, उपचारमा सहज होस् भनेर पार्टी कार्यालय आइसोलेसन बनाउन दिने निर्णय गरेका हौँ ।’

त्यस्तै कांग्रेसले नागरिकको जीवनरक्षाका लागि अक्सिजन, आईसीयू बेड, खोपलगायत आवश्यक औषधि उपकरणको व्यवस्था गर्न माग गरेको छ । गोरखा अस्पताल, आँपपीपल अस्पताल तथा आरुघाट मकैसिङ र जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको आइसोलेसन बेड बढाउनुपर्ने कांग्रेसले माग गरेको हो । गोरखा अस्पतालमा रहेको सात बेडको आइसोलेसनले थेग्न सक्ने अवस्था नदेखिएको कांग्रेस सचिव न्यौपानेले बताए । ‘गोरखा अस्पताल र आँपपीपल अस्पतालमा तत्काल अक्सिजन प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेका छौँ,’ न्यौपानेले भने ।

संक्रमितको घरघरमै स्वास्थ्य सामग्री

पूर्वी नवलपरासी– सदरमुकाम कावासोतीमा कोराना संक्रमितका घरघरमा स्वास्थ्य किट वितरण गरिएको छ । मंगलबार दिउँसोसम्म १ सय ४० घरमा वितरण भइसकेको छ । कावासोतीमा २ सय ८० जना कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य शाखा कावासोती नगरपालिकाका निमित्त प्रमुख पारेश्वर भुर्तेलका अनुसार संक्रमितका घरघरमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि पुगेर स्वास्थ्य किट वितरण गरिएको हो । नगरपालिका विपद् व्यवस्थापन समितिको निर्देशनअनुसार वितरण गरिएको स्वास्थ्य किटमा मास्क, सेनिटाइजर, साबुन र औषधि छन् । वितरणका लागि कावासोतीका १७ वडामा एकएक जना स्वास्थ्यकर्मी र त्यहीका जनप्रतिनिधि खटिएका छन् ।

उनीहरूले संक्रमतिको अवस्था पनि बुझ्ने गरेका छन् । अवस्था गम्भीर भएका बिरामीको लागत संकलन गरेर तत्काल नजिकको स्वास्थ्य केन्द्रमा पठाउने व्यवस्था रहेको छ । पूर्वी नवलपरासीमा मंगलबारसम्म ९ सय जना संक्रमित छन् ।

गल्याङ नगर अस्पतालमा आइसोलेसन वार्ड

स्याङ्जा– गल्याङ नगरपालिकाले अक्सिजन सिलिन्डरसहितका आइसोलेसन वार्ड तयार पारेको छ । बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै गल्याङ–३ स्थित गल्याङ नगर अस्पतालमा ९ अक्सिजन सिलिन्डरसहितका ३० वेडको आइसोलेसन वार्ड स्थापना गरेको नगरप्रमुख भूपराज अधिकारीले बताए ।

‘नगरभित्रका कोभिडका बिरामीलाई सहजै उपचार दिने उद्देश्यले अक्सिजनसहितको वार्ड निर्माण गरेका छौं,’ उनले भने, ‘यहाँबाट तीन जना चिकित्सकसहितको टोलीले बिरामीलाई सेवा दिँदै आएका छन् ।’ हाल अस्पतालमा कोरोना भाइरसको परीक्षण गरिए पनि नतिजा पोजिटिभ देखिएका बिरामी होम आइसोलेसनमा बस्दै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोरोनाबाट गम्भीर बिरामी भएकालाई पोखरा धाउनु नपर्ने गरी नगरभित्र अक्सिजनसहितको बेड स्थापना गरेको बताएको छ ।

यसैगरी, कोरोना संक्रमितको उपचारका लागि नगरप्रमुख चढ्दै आएको गाडी पनि प्रयोग गरिने भएको छ । आवश्यकताअनुसार आफ्नो सवारीसाधन जुनसुकै बेला प्रयोग गर्ने निर्णय गरेको नगरप्रमुख अधिकारीले बताए । गल्याङले २ वटा एम्बुलेन्स पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?