कोरोनाले गाउँभर सन्नाटा

गोरखाको क्यामुनटार गाउँमा संक्रमितको संख्या ७० पुगेसँगै स्थानीय त्रसित
हरिराम उप्रेती

गोरखा — भीमसेन थापा गाउपालिका–७ वोर्लाङस्थित क्यामुनटार गाउँमा वैशाख पहिलो साता रुघाखोकीको लहर चल्यो । कोरोना आशंकामा यहाँका ३१ जनाको पीसीआर परीक्षण गराउँदा २५ को रिपोर्ट पोजिटिभ आयो ।

कोरोना संक्रमण देखिएसँगै त्यसयता गाउँ सुनसान छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा यही गाउँका थप ४५ जनाको रिपोर्ट पोजिटिभ आयो । एउटै गाउँमा संक्रमितको संख्या ७० पुगेसँगै स्थानीय त्रसित छन् ।

‘घरघर कोरोनाका संक्रमित छन्, एउटै परिवारमा तीनदेखि चार जनासम्मलाई पोजिटिभ देखिएको छ,’ क्यामुनटारका रामहरि कुमालले भने । दोस्रो चरणमा १ सय ७३ को पीसीआर परीक्षण गराउँदा ३२ र तेस्रो चरणमा ४० जनाको पीसीआर परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

चौथो चरणमा पीसीआर परीक्षण गराएका २८ जनाको रिपोर्ट आउनै बाँकी छ । वैशाख पहिलो साता पाँच–सात जना स्थानीयमा रुघाखोकी देखिएपछि कोरोना भित्रिएको आशंका स्थानीयको छ । संक्रमण कहाँबाट भित्रियो भन्नेमा भने स्थानीय अलमलमा छन् । कोरोना संक्रमण देखिएपछि अघिल्लो बुधबारबाट क्यामुनटारसहित भीमसेन थापा–७ र ८ वडामा निषेधाज्ञा जारी भएको छ ।

क्यामुनटारका अधिकांश स्थानीय कृषि र मजदुरी पेसामा निर्भर छन् । संक्रमण देखिएपछि ज्याला मजदुरी गर्न पनि नपाएको कुमालले गुनासो पोखे । संक्रमण पुष्टि भएका केहि घैया धान गोड्ने, मकै गोड्ने, घाँस दाउरा गर्ने काम गर्ने गरेको स्थानीय बताउँछन् । ‘मेला पर्म ठप्पै छ,’ उनले भने, ‘कोरोना देखिएका र नदेखिएका एउटै परिवारका भने आफ्नै खेतीबारीमा गएर काम गरेका छन् ।’ काम नगरे गुजारा चलाउन मुस्किल पर्ने यही गाउँका ४८ वर्षीय एक कोरोना संक्रमितले बताए ।

‘यो कोरोनाअघिसम्म घर बनाउन गइन्थ्यो, अहिले त्यो काम पनि गर्न पाएनौं,’ कुमालले भने, ‘आफ्नै खेतबारी हुने कम छन्, अरूको खेतबारी कमाएर जीविकोपार्जन गर्ने हो । कामै नगरे के खाने ।’ यहाँका संक्रमित पीसीआर परीक्षण गरी कोरोनाबाट मुक्ति भए नभएको जानकारी पाए आफूहरूलाई समाजमा घुलमिल हुन सहज हुने माग गर्छन् ।

‘१४ दिन क्वारेन्टाइन बस्ने अवधि पूरा भयो, तर साथीभाइहरूले अल्ली पर बसभन्दा मनचाहिँ दुख्दो रहेछ,’ ती संक्रमितले भने, ‘परीक्षण गरेर कोरोना छैन भनिदिए समाजमा घुलमिल हुन सहज हुन्थ्यो ।’ जोखिम बढेसँगै माध्यमिक विद्यालय बन्द छ । विद्यालयका ११ विद्यार्थी संक्रमित भएको प्रध्यानाध्यापक सन्तोष पोखरलले बताए । संक्रमित विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

चौतारामा सामूहिक रूपमा भेला भएर बस्ने कार्य बन्द गरिएको भीमसेन थापा गाउँपालिका–८ का वडा सदस्य जीवन कुमाल बताउँछन् । छाक टार्न मुस्किल रहेको दलित बस्तीमा समस्या थपिएको उनले बताए । ‘परिवार संख्या हेरेर एक चरण दाल चामल वितरण पनि भइसक्यो,’ उनले भने, ‘दिनभरि कमाएर बिहान–बेलुकी खाने परिवार समस्यामा परेका छन् ।’


प्रकाशित : वैशाख २९, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?