१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अखाद्य वस्तु बेच्ने समातिए

कुहिएको चामलसमेत बेच्ने गरिएको, अधिकांश पसलमा लेबल नभएका चामल, तेल र अन्य खाद्यवस्तु
प्रकाश बराल

बागलुङ — कोरोना संक्रमणको कारण बन्दाबन्दी भइरहेका बेला सदरमुकामसहित ग्रामीण बजारमा म्याद गुज्रेका र अखाद्य वस्तु बिक्री भइरहेको भेटिएको छ । 

अखाद्य वस्तु बेच्ने समातिए

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन र उपभोक्ता मञ्चको अनुगमनमा यस्तो भेटिएको हो । बन्दाबन्दीमा बिहानबेलुकी खुलेका अत्यावश्यक सामग्रीका पसलमा पनि गुणस्तरहीन सामान बेचेको पाइएको मञ्चले जनाएको छ ।

नियमित अनुगमन भइरहेका बेलामा पनि व्यवसायीले उपभोक्तालाई ठग्ने र गुणस्तरहीन सामान बेच्ने गरेको मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । बागलुङ बजारमा त कुहिएको चामलसमेत बेच्ने गरिएको छ । त्यस्तो चामलको नमुना भैरहवास्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला पठाएर परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रमाणित भएको श्रेष्ठले बताए । मञ्चको अगुवाइमा २५ बोरा अखाद्य चामल सुरक्षित रूपमा नष्ट गर्ने तयारी छ । अन्यत्र पनि त्यस्तो चामल हुन सक्ने भन्दै खोजी भइरहेको छ ।

अखाद्य चामल बेच्ने शशि भट्टराईलाई कारबाहीको सिफारिस गरिएको छ । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० ले अखाद्य वस्तु बिक्री गर्नेलाई कारबाही गर्ने र त्यस्तो सामान बिक्री गरेको भए उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । रूपन्देहीको अरिहन्टा इन्टरप्राइजेसले उत्पादन गरेको उक्त चामल बागलुङमा बिक्रीका लागि ल्याइएको हो ।

म्याद गुज्रेका र अखाद्य वस्तु पठाउने कम्पनीलाई पनि कारबाही हुने कानुनी व्यवस्था छ । प्रशासनले कारबाहीको प्रक्रियाबारे बैठक बसेर निर्णय लिने मुद्दा शाखाका प्रमुख रामप्रसाद शर्माले बताए । अधिकांश पसलमा लेबल नभएका चामल, तेल र अन्य खाद्यवस्तु भेटिएकोले परीक्षणकै क्रममा रहेको शर्माले जानकारी दिए ।

कोरोना संक्रमणले बन्दाबन्दी भइरहेका बेला बजार क्षेत्रमा अखाद्य वस्तु बिक्री गर्नेसँगै कालोबजारी गर्नेसमेत बढेको भेटिएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख गुमादेवी रिजालले बताइन् । ‘अधिकांश पसलमा तेलको मूल्य जथाभावी बढाएको र मूल्यसूची नराखेकाले कालोबजारी भएको भेटायौं,’ रिजालले भनिन् ‘उनीहरूलाई पनि कारबाही प्रक्रिया थालेका छौं ।’ बन्दाबन्दीका कारण अन्य पसलमा अनुगमन नभएको उनले बताइन् । किराना पसल बिहानबेलुकी खोल्ने गरेकोले त्यही समयमा अनुगमन भइरहेको हो ।

अखाद्य वस्तु प्रमाणित गर्ने र कारबाही चलाउने काममा गुण नियन्त्रण कार्यालय सक्रिय भएको हो । मूल्यसूची राखे नराखेको, दर्ता गरे नगरेको र करछली भए नभएको काममा भने नगरपालिका र घरेलुले संयुक्त अनुगमन बढाएको बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘एउटै पसलमा तीनथरी सामग्रीको व्यापार भइरहेको छ, तर उनीहरूले दर्तासमेत नगरेको पाइयो,’ सुवेदीले भने, ‘दर्ता नगर्दा कर र राजस्व छली भइरहेको छ ।’

प्रकाशित : वैशाख २९, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?