कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अनुगमनमा चुक्दा बढ्दै महामारी

कन्ट्याक्ट ट्रेसिङ र प्रभावित जिल्लाबाट आउनेको तथ्यांक राख्न चुकेको
अगन्धर तिवारी

पर्वत — स्थानीय तह तथा सम्बन्धित निकायको फितलो अनुगमन तथा सर्वसाधारणको लापरबाहीका कारण जिल्लामा कोरोना संक्रमण भुसको आगोजस्तै फैलिइरहेको छ ।

गत वर्ष कोरोनाको पहिलो लहरमा जस्तो स्थानीय तहले क्वारेन्टाइन, बाहिरबाट आउनेको निगरानी राख्नेलगायत पूर्वतयारीमा यस पटक चुकिरहेका छन् ।

कोरोना रोकथामका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित डीसीसीएमसीले कोरोना रोकथामका लागि गरेका निर्णय पालिकाले हुबहु कार्यान्वयन नगर्दा समुदायमा कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । जिल्लामा कोरोनाको दोस्रो लहर प्रवेश गरेको ३ साताभित्रै १० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

सोमबार मात्रै कुस्माका २ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । कुस्मा–४ का ७७ वर्षीय पुरुष तथा कुस्मा–२ का ५२ वर्षीय पुरुषको ज्यान गएको हो । दुई सयभन्दा बढी संक्रमित भइसकेको तथ्यांक सार्वजनिक भएको छ । गम्भीर बिरामी भएपछि मात्रै परीक्षण गर्ने प्रवृत्तिका कारण कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या अझ तीव्र रूपमा बढ्न सक्ने चिन्ता स्वास्थ्यकर्मीले व्यक्त गरेका छन् ।

वैशाख पहिलो सातादेखि नै सक्रिय देखिएको डीसीसीएमसीले प्रभावित क्षेत्रबाट गाउँ फर्किनेको निगरानी राख्ने, क्वारेन्टाइनमा बस्न लगाउने, नाकाहरूमा चेकजाँचलाई तीव्रता दिनेलगायत निर्णय गरेको थियो । तर, सम्बन्धित पालिका, जनप्रतिनिधि तथा स्वयं सर्वसाधारणले त्यसको पालना नगर्दा संक्रमण र मृत्युदर बढिरहेको छ ।

‘हामीले भनेकै हो,’ डीसीसीएमसी सदस्य एवं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत घनश्याम गौतमले भने, ‘देखिने खालका निर्णय कार्यान्वयन भएका छन् । नदेखिनेमा कमजोरी हुँदा संक्रमण बढेको छ ।’ पालिकाले आइसोलेसन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको देखिए पनि कन्ट्याक्ट ट्रेसिङ र प्रभावित जिल्लाबाट आउनेहरूको तथ्यांक राख्न चुकेको उनले बताए ।

स्थानीय तहका प्रमुख भने बाहिरबाट आउनेको तथ्यांक राख्न सम्भव नभएको बताउँछन् । कुस्मा नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘को कहाँबाट आउने हो, आउँदै छ । कसरी खोज्नु ? यो साह्रै कठिन रहेछ ।’ यसमा सर्वसाधारण आफैं सचेत बन्नुपर्ने उनको तर्क छ । लापरबाहीकै कारण जलजला गाउँपालिका–२, ३ र ४ वडा कोरोनाको हटस्पट बनिरहेको छ ।

सो गाउँमा शुक्रबार ४८ जनामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको थियो । स्थानीय युवा नवीन जीसीका अनुसार वैशाख १२ मा गाउँमा ७ वटा वैवाहिक कार्यक्रम थिए । नेपालगन्ज, पोखरा, नुवाकोटलगायतबाट जन्ती आउने र जाने हुँदा संक्रमण फैलिएको हुन सक्ने उनले बताए । ‘विवा हमा सामाजिक दूरी कायम हुने कुरै भएन,’ जीसीले भने, ‘अर्को कुरा त्यतिबेलासम्म पर्वतमा कोरोनाको यस्तो त्रास थिएन ।’

प्रकाशित : वैशाख २८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?