कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संक्रमित सुत्केरीको शिशुसँगै टेन्टमा उपचार

आइसोलेसन भरिएपछि अस्पतालको आँगनमै उपचार, बेड नपाएपछि २ घण्टा एम्बुलेन्समा राखेर अक्सिजन
हरिराम उप्रेती

गोरखा — निरन्तरको ज्वरोपछि आइतबार गोरखा अस्पताल भर्ना भएकी २७ वर्षीया सुत्केरी नवजात शिशुसँगै टेन्टमा छिन् । गोरखा अस्पतालको आइसोलेसन भरिएपछि कोरोना संक्रमित सिरानचोक गाउँपालिका–५ जरेवरीकी सुत्केरी महिलालाई टेन्टमा राखेर उपचार गरिएको हो ।

संक्रमित सुत्केरीको शिशुसँगै टेन्टमा उपचार

‘१४ गते सुत्केरी भएकी हुन्, आइतबार अस्पताल ल्यायौं, बेड नभएपछि टेन्टमा राखिदिनुभयो,’ महिलाका आफन्तले भने । सात बेड क्षमताको आइसोलेसन भरिएपछि आइतबारदेखि एक सुत्केरी महिलालाई टेन्टमा राखेर उपचार गरेको अस्पतालले जनाएको छ ।

निरन्तर ज्वरो देखिएर स्वास्थ्यमा समस्या थपिएपछि अक्सिजन लगाएर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । अस्पताल तथा सरोकार राख्ने निकायको कमजोर पूर्व तयारीले बिरामी समस्यामा परेका हुन् ।

यसैगरी सोमबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गोरखा नगरपालिका–६ का अर्जुन श्रेष्ठ एम्बुलेन्समार्फत अस्पताल आए । बेड अभावमा उनलाई झन्डै २ घण्टा एम्बुलेन्समै अक्सिजन दिएर राखियो । बिहान १० बजेतिर एम्बुलेन्सबाट अस्पताल आँगनमा रहेको बेन्चमा सारेर उनलाई अक्सिजन दिइयो । ‘अस्पतालमा बेड पाइएनन्,’ श्रेष्ठका आफन्त नवीन श्रेष्ठले भने, ‘डाक्टरले भित्रको बिरामी डिस्चार्ज गरेपछि बेड मिल्छ भन्नुभएको छ ।’ छातीमा इन्फेक्सन देखिएर सास फेर्न गाह्रो भएपछि अस्पताल ल्याएको उनले बताए । अस्पतालमा बेड अभाव भएपछि सोमबार बिरामीलाई टेन्ट र बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ढकालले बताए ।

सात बेडको आइसोलेसनमा ८ कोरोना संक्रमित उपचाररत रहेको उनले बताए । अन्य सात बेडमा पनि अक्सिजन दिनुपर्ने जटिल खालका बिरामी रहेकाले ठाउँ व्यवस्थापन गर्न नसकिएको ढकालले बताए । गाउँगाउँबाट स्वास्थ्य समस्या आएको भन्दै १० भन्दा बढीले टेलिफोन गरेको अस्पतालले जनाएको छ । ‘यही अवस्था भइरहे धान्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘छेउकुना कहाँकहाँ थप्न मिल्छ केही बेड थप्छौं ।’

बेड भरिएपछि अस्पतालको प्रांगणमा रहेको बेन्चमा राखेर उपचार गरिँदै । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

ठाउँ अभाव भए पनि जटिल खालका बिरामी फिर्ता नपठाएको उनले बताए । ‘नजिकका स्वास्थ्यकर्मीलाई अक्सिजन घटेका बिरामी गाउँ नराख्नु भनेका छौं,’ उनले भने, ‘संक्रमण देखिएकामध्ये १० देखि १५ प्रतिशतको स्वास्थ्यमा समस्या पर्छ भन्ने आकलनअनुसार हामी पनि तयारी अवस्थामा छौं ।’ पीसीआर नगरी जनरल बेडमा बिरामी भर्ना गर्न नमिल्ने उनले बताए ।

भूकम्पपछि भत्किएको अस्पतालको भवन पुनर्निर्माणले पूर्णता नपाउँदा पनि ठाउँ अभाव भएको उनले बताए । अस्पताल भवन निर्माणले पूर्णता नपाउँदा हाल अस्पतालले कर्मचारी आवास भवनबाट सेवा प्रवाह गर्दै आएको छ । जनशक्ति र औषधिभन्दा पनि ठाउँकै अभाव रहेको हो । ५० बेड क्षमतामा स्तरोन्नति भएको अस्पताल भवनले पूर्णता पाए सहज हुने ढकालले बताए ।

प्रकाशित : वैशाख २८, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?