कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तात्न थाले स्थानीय तह

घनश्याम खड्का

म्याग्दी — नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणले च्याप्दै लगेपछि जिल्लाका स्थानीय तह व्यवस्थापनका लागि बल्ल तात्न थालेका छन । कोरोना संक्रमण समुदायमा भुसको आगोझैं फैलिएपछि कोभिड अस्पताल सक्रिय बनाउने, अक्सिजनसमेतका कोरोना उपचार उपकरण थप्ने र छुट्टै थप आइसोलेसन बेड थप्न लागेका हुन् । 

तात्न थाले स्थानीय तह

करिब ५ किमि क्षेत्रफलमा ५ हजार हाराहारी जनसंख्या रहेको सदरमुकाम बेनीबजार क्षेत्रमा मात्र ६० बढी सक्रिय संक्रमित भेटिएपछि बेनी नगरपालिकाले कोरोना संक्रमणको चेनब्रेक गर्न १० दिने लकडाउन गरेको छ । साथै २० बेडको प्रिआइसोलेसन तयार पारेको छ । बेनी अस्पताल कोरोना संक्रमितको छुट्टै उपचार गर्न कोभिड ब्लक निर्माणमा साझेदारी गर्न तयार भएको हो । ‘जिल्ला अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी परिचालन हुने गरी अस्पतालमा कोरोना उपचार गर्ने छुट्टै सेक्सन बन्न लागेको हो,’ बेनीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने ।

त्यसैगरी कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि चेनब्रेक गर्न भन्दै मंगला गाउँपालिकाले आइतबार रातिदेखि जेठ ४ सम्म लकडाउन गर्ने भएको छ । ‘गाउँपालिका, वडा र बस्ती तहसम्मै कोरोना संकट व्यवस्थापन समिति गठन गरी लक्षणसहितका बिरामी र संक्रमणको जोखिममा परेका व्यक्तिको पहिचान र स्वाब संकलन गरेका छौं,’ मंगला गापा अध्यक्ष सतप्रसाद रोकाले भने, ‘कोरोनाको लक्षण मिल्ने बिरामी बस्तीमा धेरै भेटिएकाले घरमै आइसोलेसनमा राख्ने र संक्रमणको चेनब्रेक गर्न लकडाउन गर्नु परेको हो ।’

दुर्गम धौलागिरि गाउँपालिकाले स्थानीय कोरोना अस्पतालमै १५ अक्सिजन सिलिन्डरसहित २० बेड क्षमताको आइसोलेसन व्यवस्थापन गरेको छ । छुट्टै सबै स्वास्थ्य चौकीमा एक–एक वटा अक्सिजन, अक्सोमिटर र भ्यापोराइजर मेसिन राखेको गाउँपालिकाले जनाएको छ । आइसोलेसनमा संक्रमित बसेपछि बेड तथा कोठालाई डिस्इन्फेक्सन गर्न पर्याप्त सेनिटाइजर छर्ने, पीपीई र मास्कलगायतका स्वास्थ्य सामग्रीको जोहो गरिएको गाउँपालिकाले जनाएको छ ।

‘संक्रमित र अक्सिजन दिनुपर्ने बिरामीको औसत निकालेर अक्सिजन जोहो गरेका छौं,’ धौलागिरि गापा प्रमुख थमसरा पुनले भनिन, ‘हाईफ्लो अक्सिजन दिनुपर्ने बिरामीलाई रेफर गर्ने हो, सामान्य मात्रामा अक्सिजन दिनुपर्नेलाई यी सिलिन्डरले पुग्छ होला ।’

अर्को दुर्गम रघुगंगा गाउँपालिकाले पनि अक्सिजन सिलिन्डर रिफिल गरी कोभिड अस्पतालमा तयारी अवस्थामा राखिएको छ । गाउँपालिकाभित्रका सबै ८ स्वास्थ्यचौकीमा आपत्कालीन प्रयोगका लागि थप १–१ वटा अक्सिजन सिलिन्डर पुर्‍याइएको छ । ‘वडामा १० बेडका प्रिआइसोलेसन र कोभिड अस्पतालमा मेडिकल अधिकृतसहित १० बेडको शय्या र अक्सिजन तयारी राखेका छौं,’ रघुगंगा गापा अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन गाउँपालिका तथा सबै वडामा एक/एक वटा गाडी तयारी अवस्थामा राखेका छौं ।’

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुद्र बरुवालका अनुसार नारच्याङमा ५ बेडको कोरोना अस्पताल र २० बेडको प्रिआइसोलेसन स्थापना गरिएको छ । मालिका गाउँपालिका–६ दरवाङस्थित कोरोना अस्पतालमा २ अक्सिजन सिलिन्डरसहित २० बेडको प्रिआइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । ‘कोभिड अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरी ९ वटा अक्सिजन सिलिन्डर छन् । संक्रमितको संख्या बढ्दै गएकाले नथेग्ने आकलन गरी थप २० सिलिन्डर माग भएको छ,’ दरवाङ कोभिड अस्पतालका डा. रोशन आचार्यले भने, ‘देशभर अक्सिजन सिलिन्डरकै अभाव रहेका बेला तत्काल सिलिन्डर ल्याउन कति सजिलो होला ।’ त्यस्तै मंगला गाउँपालिकाको कोभिड अस्पतालमा २ वटा अक्सिजनसहित ५ शय्या क्षमताको आइसोलेसन स्थापना भएको छ । काठका खाट राखेर छुट्टै १० शय्याको प्रिआइसोलेसन स्थापना पनि गरिएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?