कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पार्टी कार्यालय आइसोलेसनलाई दिने

कांग्रेसद्वारा पर्वत, स्याङ्जाका जिल्ला पार्टी कार्यालय र पूर्वी नवलपरासीको देवचुली नगरस्तरीय कार्यालय दिने निर्णय
अगन्धर तिवारी

पर्वत — कांग्रेसले नवनिर्मित जिल्ला पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि अस्पतालका रूपमा प्रयोग गर्न दिने भएको छ । कार्यकर्ताबाट चन्दा संकलन गरी करिब साढे २ करोड रुपैयाँको लागतमा बनेको उक्त भवनमा एक सय बेडसम्मको अस्पताल सञ्चालन गर्न मिल्छ । 

पार्टी कार्यालय आइसोलेसनलाई दिने

करिब डेढ वर्षअघिदेखि निर्माण थालिएको भवन हालै सम्पन्न भएको हो । नवनिर्मित भवन बस्तीभन्दा टाढा रहेको र शौचालय, स्नान कक्षसमेत व्यवस्थित रहेकाले कोभिड अस्पतालका लागि उपयुक्त हुने भएकाले प्रस्ताव गरिएको कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले बताए ।

‘मैले यो विषयमा केही दिनदेखि सोचिरहेको थिएँ,’ उनले भने, ‘प्रशासनसँग शुक्रबार मौखिक रूपमा प्रस्ताव गरेको छु । उहाँहरू खुसी हुनुहुन्छ । हामीले यस्तै बेलामा त हो जनताका लागि सहयोग गर्ने ।’ उनका अनुसार अस्थायी अस्पताल सञ्चालनका लागि आवश्यक बेड, अक्सिजनलगायत अन्य पूर्वाधारका लागि सहयोग गर्न कार्यकर्ता तयार छन् ।

जिल्लामा दैनिकजसो कोरोना संक्रमित बढेपछि जिल्ला अस्पतालमा बेड अभाव हुने भएकाले कांग्रेस पर्वतले यस्तो निर्णय गरेको पार्टी सचिव अशोक उचैठकुरीले बताए । साढे १४ आनामा बनेको भवन साढे २ तले छ । भुइँतलाको हलमा करिब ६० बेड, बीचको ५ कोठामा २/२ बेडको दरले १० बेड, तेस्रो तलाको हलमा ३० बेड गरी एक सय बेडको अस्पताल सहजै सञ्चालन गर्न सकिने पार्टी सभापति खिमप्रसाद भुसालले बताए । सबै तलामा छुट्टाछुट्टै शौचालय र स्नान कक्ष रहेकाले कोभिड प्रभावितलाई उपयोगी हुने कांग्रेसले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले पार्टी कार्यालय कोभिड अस्पतालका रूपमा प्रयोग गर्न दिनु सकारात्मक निर्णय भएको बताइन् । आवश्यकतानुसार भवन प्रयोग गरिने उनको भनाइ छ । गतवर्ष गुप्तेश्वर क्याम्पसको भवनलाई अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो । २ साताअघिसम्म क्याम्पसमा नियमित अध्यापन भइरहेको र त्यहाँ रहेका अस्पतालका संरचना अन्यत्र हटाइएकाले क्याम्पस प्रशासनले अस्पतालका रूपमा प्रयोग गर्न तत्काल नमिल्ने जनाएको छ ।

स्याङ्जा संवाददाताका अनुसार स्याङ्जा कांग्रेसले पनि आफ्नो जिल्ला पार्टी कार्यालय आइसोलेसन बनाउन दिने भएको छ । कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) का अनुसार शुक्रबार बसेको जिल्ला पार्टी कार्यालयको बैठकले कोरोनाका बिरामीलाई मध्यनजर गर्दै कार्यालय भवन आइसोलेसन सेन्टर बनाउन दिने निर्णय गरेको हो । तीन तलाको उक्त भवनमा माथिल्लो तलमा कार्यालय नै रहने भए पनि अन्य दुईवटा तलामा आइसोलेसन सेन्टर बनाउन सकिने रानाले बताए ।

‘बिरामीलाई बेड अभाव नहोस्,’ उनले भने, ‘कांग्रेस पार्टी कार्यालयमा ६० वटा बेड निर्माण गर्न सकिन्छ । हामीले भवन दिएका छौं । संघ, प्रदेश र स्थानीय सरकारले आवश्यकताअनुसार आइसोलेसन सेन्टर निर्माण गर्न सक्छन् ।’ सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित बजारको पछाडिपट्टि रहेको पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाउँदा बिरामी पनि सुरक्षित रहने र अन्य व्यक्तिलाई पनि जोखिम नहुने रानाले बताए ।

पूर्वी नवलपरासीको देवचुली नगरस्तरीय कांग्रेस पार्टी कार्यालय भवन पनि कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाइने भएको त्यहाँस्थित संवाददाताले जनाएका छन् । कांग्रेस देवचुली नगर सचिव नारायण पौडेलका अनुसार शनिबारको पदाधिकारी बैठकले कोरोना संक्रमणमा सघाउन पार्टी कार्यालयमा आइसोलेसन बनाउने नगरपालिकालाई लिखित जानकारी दिएको हो ।

देवचुली–१३ मा रहेको कार्यालयमा कम्तीमा ५० बेड राख्न मिल्छ । नगरपालिकासँग आइसोलेसन बनाउनेबारे यसअघि नै मौखिक सहमति भएको र शनिबारको पदाधिकारी बैठकले निर्णय गरेर जिम्मा दिइएको पौडेलले बताए । नगरप्रमुख पूर्णकुमार श्रेष्ठ नै देवचुली कांग्रेसका नगर सभापति हुन् । महेन्द्र राजमार्गबाट नजिक एकान्तमा रहेको पार्टी कार्यालय आइसोलेसनका लागि उपयुक्त हुने भएकाले त्यस्तो निर्णय गरिएको हो । देवचुलीमा कोरोना संक्रमित १ सय ११ पुगेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?