कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अक्सिजन सिलिन्डर खोज्दै डीसीसीएमसी

खाली सिलिन्डर भर्न पोखरा पठाउनुपर्ने बाध्यता, हाइड्रोका सिलिन्डर उपलब्ध गराउन पत्राचार, नदिएमा छापा
आश गुरुङ

बागलुङ, लमजुङ — बागलुङको धौलागिरि अस्पतालमा शनिबार बिहानमात्रै २५ वटा अक्सिजन सिलिन्डर रित्तिएपछि भर्नका लागि हतारहतार पोखरा पठाइयो । बाँकी २५ सिलिन्डर प्रयोगमा छन् ।

अक्सिजन सिलिन्डर खोज्दै डीसीसीएमसी

बागलुङ नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा प्रयोगमा नआएका केही सिलिन्डर अस्पतालका लागि शनिबार बिहानै पठाइदिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

अस्पतालमा २८ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । अधिकांशलाई अक्सिजन दिनु परेकाले तत्काल पोखराबाट भरेर नआएमा संकट आइपर्छ ।

‘होम आइसोलेसनमा बसेकाले पनि अक्सिजनको खोजी गरिरहेका छन्, अस्पतालमै नपुगेपछि अन्यत्र पठाउन सक्ने अवस्था छैन । आवश्यक पर्नेलाई अस्पताल वा बागलुङ नगरले बनाएको आइसोलेसनमा बोलाएका छौं,’ खनालले भने, ‘मोटर ग्यारेजदेखि सबै उद्योगमा प्रयोग भएका सिलिन्डर खोजी गरिरहेका छौं ।’ बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले खनाललाई खोजीको जिम्मा दिएको थियो । उनले शनिबारसम्म ६० सिलिन्डर भेटिएको बताए ।

भेटिएका सिलिन्डर पनि भर्न पोखरा पठाउनुपर्ने बाध्यताले उपचारमा चुनौती आउने चिकित्सक बताउँछन् । ‘यहाँको प्लान्टमा भर्ने व्यवस्थापनका लागि उपकरण खोजी गरिरहेका थियौं, नसकेपछि पोखराको भर पर्नुपर्छ,’ अस्पतालका मेसु डा.शैलेन्द्र पोखरेलले भने, ‘हाई स्पिड अक्सिजन दिनुपर्ने बिरामी बढिरहेकाले सिलिन्डर धमाधम खाली भएका छन् ।’ धौलागिरि अस्पतालमा डेढ वर्षअघि स्थापना भएको अक्सिजन प्लान्टमा भर्ने व्यवस्थापन भने अझै हुन सकेको छैन । भर्ने व्यवस्था नभएपछि खाली सिलिन्डर पोखरा पठाउनु परेको हो ।

सर्भिसिङ अभावले बेडमा लगिएको अक्सिजन पनि सकिनै लागेकाले वैकल्पिक जोहो गर्न व्यस्त हुनुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए । ‘भैरहवाको एक कम्पनीबाट १८ सिलिन्डर मगाएको छु, आइसकेको छैन,’ रानामगरले भने, ‘५ लाख रुपैयाँ भुक्तानी दिइसकेकाले एक/दुई दिनमा आउने बताएको छ ।’ ती सिलिन्डरसमेत आइपुगेपछि जिल्लामा १ सय २३ सिलिन्डर पुग्नेछन् । डीसीसीएमसीले सार्वजनिक आह्वान गरेर कतै राखिएका भए पनि सोझै आइसोलेसन सेन्टर वा स्थानीय पालिकामा बुझाइदिन भनेको छ ।

समितिले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सर्भिसिङ र भर्ने मेसिन मगाए पनि नआएको रानामगरले बताए । ‘प्रदेशले २० लाख रुपैयाँ तत्काल पठाउने आश्वासन दिएको छ, त्यसैले सर्भिसिङ गरिहाल्ने योजनामा छौं,’ उनले भने, ‘बेडमा रहेका बिरामीलाई त्यसले कम्तीमा सात महिनालाई अक्सिजन पुग्नेछ ।’ त्यसबाहेक अक्सिजन भर्ने कम्प्रेसन मेसिनको खोजी भइरहेको खनालले बताए । थप २० लाख रकम भएमा उक्त मेसिन ल्याएर प्लान्टबाट नियमित भर्ने व्यवस्था मिलाउन सकिने उनले बताए ।

यसैबीच बडिगाड गाउँपालिकाले कराँते प्रशिक्षण केन्द्रमा अक्सिजनसहितको १० बेड आइसोलेसन बनाएको छ । स्वास्थ्य चौकीमा भने यसअघि नै १५ बेड बनिसकेको छ । ‘हामीले गैरसरकारी संस्थाको सहयोगमा दुईवटा ‘कन्सल्टेन्ट मेसिन’ राखेका छौं,’ आइसोलेसन व्यवस्थापन समितिका संयोजक राजन पाइजाले भने, ‘नियमित बिजुली भएमा यो मेसिनबाट अक्सिजन आइरहन्छ ।’ सिलिन्डर जस्तो गह्रौं पनि नहुने, नियमित अक्सिजन पनि दिने भएकाले यो प्रयोगमा ल्याएको उनले बताए । गाउँपालिकाले कम्तीमा ५ वटा अन्य मेसिन खरिदका लागि बजेट विनियोजन गरेर खोजीमा प्राविधिक खटाइएको समेत उनले जानकारी दिए ।

ताराखोला गाउँपालिकामा सञ्चालित १५ बेडको आइसोलेसनमा पर्याप्त अक्सिजन छैन । भएका एक दुईवटाले नपुग्ने भएकाले खोजी भइरहेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि २/४ मात्रै सिलिन्डर रहेकोले बजार क्षेत्रमा खोजी भइरहेको केन्द्र प्रमुख डा.मिलन मल्लले बताए ।

हाइड्रोदेखि निजी पसलसम्मका सिलिन्डर खोजिँदै

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले अक्सिजन सिलिन्डर खोजी थालेको छ ।

संकटका बेला अक्सिजन सिलिन्डर कोरोना संक्रमितको उपचारका लागि दिन डीसीसीएमसीले आग्रह गरेको छ । लमजुङमा स्थापना गरिएको ६५ बेडको आइसोलेसनमा समेत अक्सिजन सिलिन्डर पुगेको छैन । अक्सिजन सिलिन्डर नपुगेपछि डीसीसीएमसीले अक्सिजन सिलिन्डरको खोजी थालेको हो ।

आइसोलेसनका लागि अक्सिजन सिलिन्डर नपुगेको र थप तयारी अवस्थामा राख्नु पर्ने भएकाले अक्सिजन सिलिन्डरको खोजी थालिएको लुइँटेलले बताए । उनका अनुसार निर्माणाधीन जलविद्युतु आयोजनामा प्रयोग गरिएका अक्सिजन सिलिन्डर उपलब्ध गराउन पत्राचार गरिएको छ । ‘जलविद्युत् आयोजना निर्माणका क्रममा अक्सिजनको प्रयोग गरिएको हुन्छ । निर्माण भइरहेका र भइसकेका आयोजनासँग अक्सिजन सिलिन्डर मागेका छौं’ उनले भने । उनका अनुसार जिल्लाका निर्माणाधीन र निर्माण सकिएका गरी डेढ दर्जन बढी आयोजनासँग अक्सिजन सिलिन्डर मागिएको छ । ‘सुरुमा हाइड्रोसँग मागेका छौं । त्यसपछि ग्यारजेसँग भन्छौं,’ उनले भने ।

प्रशासन स्रोतका अनुसार बजारमा रहेका ग्यारेज, ग्रील सटर उद्योग तथा अक्सिजन सिलिन्डर प्रयोग गर्नुपर्ने उद्योगका अक्सिजन सिलिन्डरको खोजी भइरहेको छ । सबैको अनौपचारिक ढंगले लगत संकलन गरिने र अक्सिजन सिलिन्डर चाहिने अवस्थामा दिन आग्रह गरिने छ । सिलिन्डर राखेर नदिएका उद्योगमा छापा मारेर प्रयोग गर्नेसम्मको तयारी प्रशासनको छ ।

प्रहरीले नै थाल्यो संकलन

अस्पतालहरूमा अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यसहित कास्की प्रहरीले सिलिन्डर संकलन गरी उद्योगलाई बुझाएको छ । पोखराका विभिन्न मेटल, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका अक्सिजन ग्यास सिलिन्डर पछि सम्बन्धितलाई फिर्ता गर्ने गरी संलकन गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ विभिन्न अस्पतालमा पठाउने गरी १ सय ८७ सिलिन्डर पोखरा अक्सिजन प्रालि र कालीगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य कम्पनी तथा व्यक्तिसँग त्यस्ता अक्सिजन सिलिन्डर भएमा अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?