१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्पतालमै थन्कियो अक्सिजन प्लान्ट

अगन्धर तिवारी

पर्वत — गम्भीर प्रकृतिका बिरामीका लागि सहज उपचार गराउन जिल्ला अस्पतालमा जोडिएको अक्सिजन प्लान्ट त्यत्तिकै खेर गएको छ । अस्पतालमा गत कात्तिक पहिलो साता १२ बेडलाई पुग्ने गरी प्लान्ट जोडिएको थियो ।

अस्पतालमै थन्कियो अक्सिजन प्लान्ट

गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्ट अहिले उत्पादनविहीन छ । पछिल्लो समय कोरोना संक्रमित अक्सिजनको अभावमा मृत्युको मुखमा जाने अवस्थामा भए पनि प्लान्टबाट अस्पतालले बिरामीको बेडसम्म अक्सिजन पुर्‍याउन नसकेको हो ।

अस्पताल स्रोतका अनुसार प्रशासनले भएको प्लान्टबाट उत्पादन गरी बिरामीको बेडसम्म अक्सिजन लैजान झन्झट मानेर बाहिरबाट ल्याएका सिलिन्डरको प्रयोग गरिरहेको छ । ‘कर्मचारीले भन्दा प्रशासनले सुन्दैन । भएको प्लान्ट थन्क्याएर सिलिन्डरको प्रयोग भएको छ,’ एक कर्मचारीले भने, ‘सिलिन्डर जोगाउन सके अप्ठेरो परेको बेला काम लाग्थ्यो ।’

अक्सिजन उत्पादन नगरेको विषयमा कोभिड रोकथाम जिल्लास्तरीय समिति (डीसीसीएमसी) ले केही दिनअघि अनुगमनसमेत गरेको थियो । डीसीसीएमसीका सदस्य एवं पर्वत प्रशासनका प्रशासकीय अधिकृत विमल गौतमका अनुसार १२ बेडमा पुग्ने प्लान्टबाट उत्पादित अक्सिजन ४ बेडमा मात्रै पुगेको र बाँकी बेड नभएका कारण उत्पादन नभएको बताए । ‘हामीले त्यो विषयमा स्पष्ट जानकारी लिएका हौं,’ गौतमले भने, ‘उत्पादन गर्न मिल्ने भएर पनि सबै खपत नहुने भएकोले रोकिएको रहेछ ।’

अस्पताल प्रशासनले अक्सिजन उत्पादन नभएको विषयलाई खण्डन गरेको छ । ‘अक्सिजन प्लान्टको वायरिङ इमर्जेन्सीमा मात्रै गरिएको छ,’ निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा.ढुण्डीराज पौडेलले भने, ‘चार बेडमा त्यहींबाट दिइएको छ । बाँकी बेडमा सिलिन्डर चलाउनुको विकल्प छैन ।’

उनका अनुसार शुक्रबारसम्म अस्पतालमा ५ बिरामीलाई अक्सिजन दिएर राखिएको छ । उत्पादित अक्सिजन सिलिन्डरमा भर्नका लागि १५ लाख पर्ने छुट्टै मेसिन आवश्यक पर्ने भएकोले तत्काल त्यो सम्भव नभएको उनले बताए ।

४९ थान अक्सिजन सिलिन्डरमध्ये ४० वटा भरी सिलिन्डर रहेको अस्पताल प्रशासनले जनाएको छ । यो प्लान्टबाट मेसिन सञ्चालनमा रहँदा १२ वटा सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुन्छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीका अनुसार हालको मेसिनबाट सिलिन्डरमा भरेर राख्न मिल्ने व्यवस्था छैन । यसका लागि छुट्टै अक्सिजन कम्प्रेसर आवश्यक पर्दछ ।

प्रकाशित : वैशाख २५, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?