अस्पतालमै थन्कियो अक्सिजन प्लान्ट- गण्डकी - कान्तिपुर समाचार

अस्पतालमै थन्कियो अक्सिजन प्लान्ट

अगन्धर तिवारी

पर्वत — गम्भीर प्रकृतिका बिरामीका लागि सहज उपचार गराउन जिल्ला अस्पतालमा जोडिएको अक्सिजन प्लान्ट त्यत्तिकै खेर गएको छ । अस्पतालमा गत कात्तिक पहिलो साता १२ बेडलाई पुग्ने गरी प्लान्ट जोडिएको थियो ।

पर्वत अस्पतालमा गत कात्तिकमा जडान गरिएकोअक्सिजन प्लान्ट । तस्बिर : कान्तिपुर

गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्ट अहिले उत्पादनविहीन छ । पछिल्लो समय कोरोना संक्रमित अक्सिजनको अभावमा मृत्युको मुखमा जाने अवस्थामा भए पनि प्लान्टबाट अस्पतालले बिरामीको बेडसम्म अक्सिजन पुर्‍याउन नसकेको हो ।

अस्पताल स्रोतका अनुसार प्रशासनले भएको प्लान्टबाट उत्पादन गरी बिरामीको बेडसम्म अक्सिजन लैजान झन्झट मानेर बाहिरबाट ल्याएका सिलिन्डरको प्रयोग गरिरहेको छ । ‘कर्मचारीले भन्दा प्रशासनले सुन्दैन । भएको प्लान्ट थन्क्याएर सिलिन्डरको प्रयोग भएको छ,’ एक कर्मचारीले भने, ‘सिलिन्डर जोगाउन सके अप्ठेरो परेको बेला काम लाग्थ्यो ।’

अक्सिजन उत्पादन नगरेको विषयमा कोभिड रोकथाम जिल्लास्तरीय समिति (डीसीसीएमसी) ले केही दिनअघि अनुगमनसमेत गरेको थियो । डीसीसीएमसीका सदस्य एवं पर्वत प्रशासनका प्रशासकीय अधिकृत विमल गौतमका अनुसार १२ बेडमा पुग्ने प्लान्टबाट उत्पादित अक्सिजन ४ बेडमा मात्रै पुगेको र बाँकी बेड नभएका कारण उत्पादन नभएको बताए । ‘हामीले त्यो विषयमा स्पष्ट जानकारी लिएका हौं,’ गौतमले भने, ‘उत्पादन गर्न मिल्ने भएर पनि सबै खपत नहुने भएकोले रोकिएको रहेछ ।’

अस्पताल प्रशासनले अक्सिजन उत्पादन नभएको विषयलाई खण्डन गरेको छ । ‘अक्सिजन प्लान्टको वायरिङ इमर्जेन्सीमा मात्रै गरिएको छ,’ निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा.ढुण्डीराज पौडेलले भने, ‘चार बेडमा त्यहींबाट दिइएको छ । बाँकी बेडमा सिलिन्डर चलाउनुको विकल्प छैन ।’

उनका अनुसार शुक्रबारसम्म अस्पतालमा ५ बिरामीलाई अक्सिजन दिएर राखिएको छ । उत्पादित अक्सिजन सिलिन्डरमा भर्नका लागि १५ लाख पर्ने छुट्टै मेसिन आवश्यक पर्ने भएकोले तत्काल त्यो सम्भव नभएको उनले बताए ।

४९ थान अक्सिजन सिलिन्डरमध्ये ४० वटा भरी सिलिन्डर रहेको अस्पताल प्रशासनले जनाएको छ । यो प्लान्टबाट मेसिन सञ्चालनमा रहँदा १२ वटा सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुन्छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीका अनुसार हालको मेसिनबाट सिलिन्डरमा भरेर राख्न मिल्ने व्यवस्था छैन । यसका लागि छुट्टै अक्सिजन कम्प्रेसर आवश्यक पर्दछ ।

प्रकाशित : वैशाख २५, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

पहाडी बस्तीमा बढ्दै संक्रमण

दिनहुँ ठूलो संख्यामा संक्रमित थपिँदै
स्वास्थ्य पूर्वाधार नहुँदा उपचार छैन
माधव अर्याल, वीरेन्द्र केसी, काशीराम डाँगी

पाल्पा, अर्घाखाँची र रोल्पा — लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा तीव्र रूपमा फैलिएको कोरोना संक्रमण एक सातायता पहाडी जिल्लाको समुदायस्तरमा पनि फैलिएको छ । एक सातायता परीक्षण गरिएका नमुनामध्ये ८० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारी संक्रमित भएका छन् ।

निषेधाज्ञाका कारण सुनसान रहेको तानसेनको मखनटोल । तस्बिर : माधव अर्याल/कान्तिपुर 

प्रदेशका पहाडी ६ जिल्लामा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त छैनन् । पाल्पामा सीमित छ भने अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र पुर्वी रुकुममा यस्ता पूर्वाधार छैनन् । उनीहरू उपचारका लागि रूपन्देहीको बुटवल, भैरहवा र दाङमा निर्भर छन् । ती जिल्लामा रहेका कोरोना लगायत अस्पताल यसअघि नै संक्रमितले भरिभराउ छन् ।

भारतबाट फर्किरहेका सर्वसाधारण सिधै घरमा गइरहेका छन् । काठमाडौं र प्रदेशका तराईका जिल्लामा भएको धेरै पहाडका घरमा फर्किएका छन् । यसरी फर्किएकाले सँगै संक्रमण पनि गाउँ बस्तीमा पुर्‍याएका छन् । गत वर्ष भारत र जिल्ला बाहिरबाट फर्किनेलाई दुई साता क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो । यसपालि सीमा नाका र जिल्ला प्रवेश बिन्दुमा क्वारेन्टाइन अनिवार्य गरिएको छैन । अहिले जिल्लामा दैनिक संक्रमित बढेपछि पहाडी बस्तीको अवस्था भयावह हुने देखिएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । केहीले उपचार नपाएर ज्यान गुमाइसकेका छन् ।

पाल्पामा वैशाखयता संक्रमण दर उकालो लागेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म ८ सय ३४ जना सक्रिय संक्रमित छन् । ६१ जना अस्पतालमा उपचाररत छन् भने वैशाखयता १० जनाको मृत्यु भइसकेको छ । ‘तीव्र गतिमा संक्रमण फैलिरहेको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने, ‘गाउँगाउँमा बिरामी छन् भन्ने सुनिएको छ । केही स्थानीय तहले किट लगेर परीक्षण नगर्दा झन् समस्या भइरहेको छ ।’ दोस्रो लहर सुरु भएयता दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि भइरहेको उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार चैत मसान्तसम्म १ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ८ सय २९ पुगेको छ ।

सदरमुकाम तानसेन नगरपालिकामा संक्रमित धेरै छन् । पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश कुँवरका अनुसार तानसेनमा कोरोना जाँच गर्न सहज छ । ‘कतिपयलाई नगरपालिकाले सिफारिस दिएर पठाएको छ,’ उनले भने, ‘कतिपय आफैं पैसा तिरेर पनि ल्याबसम्म पुग्न सहज छ ।’ रैनादेवी छहराले वैशाखमा १ सय १० जनाको पीसीआर परीक्षण गरेको छ । धेरै स्थानीय तहले परीक्षणलाई बेवास्ता गरेका छन् ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका–७ का ६० वर्षीय कृष्णप्रसाद बेल्वासे एक साताअघि भारतबाट फर्किएका थिए । यहाँ आएपछि ज्वरो आयो । रुघाखोकीका लक्षण देखिएपछि स्थानीय मेडिकलबाट औषधि किनेर खाए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल जान एम्बुलेन्स खोज्दा दुई दिनसम्म पाएनन् । जब एम्बुलेन्स आयो, उनलाई स्वास फेर्न कठिन भइसकेको थियो । रूपन्देहीको बुटवलका अस्पतालमा बेड पाएनन् । चितवनमा बेड पाइयो । घरबाट निस्किएको केही क्षणमा एम्बुलेन्समै उनको ज्यान गएको स्थानीय चन्द्रमणि पौडेलले बताए । ‘गाउँमा ज्वरो, रुघाखोकीका बिरामी धेरै छन्, पीसीआर परीक्षण गर्दा पोजिभिट देखिन्छ,’ उनले भने, ‘दुर्गम बस्ती भएकाले एम्बुलेन्स आउन दुई–तीन दिन कुर्नुपर्छ । स्वास्थ्य संयन्त्र छैनन् ।’ यहाँका विपन्न परिवारका व्यक्ति सिकिस्त भएपछि मात्रै अस्पताल जाने गर्छन् ।

‘कोरोना जताततै फैलिएको छ, रुघाखोकी लागेका र ज्वरो आएका बिरामी घरैपिच्छे छन्,’ शीतगंगा–१० वडाध्यक्ष हिम्मत पोखरेलले भने, ‘स्वास्थ्य चौकी, मेडिकलबाट सिटामोल ल्याएर खाएका छन् । तातोपानी, घरेलु जडिबुटी लिएका छन् । अस्पतालमा बेड नपाइने हल्लाले कोही जाँदैनन् ।’ भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न भने पनि मान्दैनन् । सरकारले क्वारेन्टाइन बनाउन सर्कुलर नगरेको उनले बताए । जिल्लामा शुक्रबारसम्म १ हजार १ जना ३७ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ५६ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी सबै होम आइसोलेसनमा छन् ।

रोल्पाको गंगादेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरेर ४५ जनामा संक्रमण पुष्टि भएको छ । ‘संक्रमितलाई सामान्य ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको छ’ गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले भने, ‘केहीलाई लक्षण छैन ।’ उनका अनुसार एक साताअघि कोरोनासित मेल खाने लक्षण देखिएपछि ४३ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि तीन जनामा संक्रमण पुष्टि भइसकेको छ । गाउँपालिकामा शंकास्पद एक सयभन्दा बढीको पीसीआर परीक्षण गर्न लागेको अध्यक्ष खत्रीले बताए । कर्मचारी र जनप्रतिनिधिको सम्पर्कमा आएका उपभोक्ता समितिका पदाधिकारी, होटल व्यवसायी, शिक्षक र उनीहरूका परिवारलाई लक्षित गरेर पीसीआर परीक्षण गर्न लागेको उनले बताए ।

गाउँपालिकामा संक्रमित धेरै पाइए पनि जिल्ला स्वास्थ्यले १५ वटा एन्टिजेन किट मात्र पठाएको छ । स्वाब परीक्षण गर्ने भीटीएम वा एन्टिजेन किट पर्याप्त मात्रामा नभएकाले शंकास्पद व्यक्तिहरूको अवस्था परीक्षण गर्न ढिलाइ भएको गंगादेव–५ का वडाध्यक्ष मानबहादुर डाँगीले बताए । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नोखराज पोखरेलले गंगादेवमा एकैपटक बढी जनामा कोरोना संक्रमण देखिएपछि परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिएको बताए । ‘जुन जुन स्थानमा संक्रमण पुष्टि भएको छ, ती क्षेत्र आसपासमा सम्पर्कमा आएकाको पनि स्वाब परीक्षण गर्नुपर्ने हुन्छ ।’

पाल्पामा पर्याप्त स्वास्थ्य पूर्वाधार नहुँदा संक्रमितले सास्ती खेपिरहेका छन् । यहाँको लुम्बिनी मेडिकल कलेजमा तीन भेन्टिलेटरसहित २६ अक्सिजनयुक्त बेड छन् । मिसन अस्पतालले अक्सिजनयुक्त ६ बेडमात्र छुट्याएको जनाएको छ । पाल्पा अस्पतालले १५ बेडको तयारी गरेको छ । रामपुर अस्पतालमा नगरपालिकाको सहयोगमा ३५ बेडको तयारी भइरहेको छ । संक्रमण बढ्दै भयावह हुने स्थिति छ तर स्थानीय तह भने तयारीमा जुट्न सकेका छैनन् ।

तानसेन नगरपालिकाले ५० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गर्ने भने पनि अहिलेसम्म बनाएको छैन । आठ स्थानीय तहले संघीय सरकारको १० लाख सहयोगमा कोरोना अस्थायी अस्पताल ५ बेडको तयार गरेका छन् । बगनासकालीले थप ५ बेड तयारी गरेको छ । ‘हामीले ५ बेडको कोरोना अस्थायी अस्पतालमा थप १० बेड तयार गर्ने योजना बनाएका छौं,’ बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले भने, ‘१० बेड अक्सिजनसहितको आइसोलेसन तयार भइसकेको छ । ५ बेड पनि थप्ने तयारी गरेका छौ. ।’ रम्भाले कोरोना अस्थायी अस्पतालबाहेक थप ५ बेड तयार गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

रैनादेवी छहरा गाउँपालिकाले पनि अक्सिजनसहित ५ र थप ५ बेड आइसोलेसनका लागि तयार गरेको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए । अर्घाखाँचीमा धेरै सक्रिय संक्रमित भए पनि उपचारका लागि स्वास्थ्य पूर्वाधार छैन । जिल्ला अस्पतालमा सामान्य १५ बेड छन् । तीमध्ये ५ वटा संक्रमितलाई छुट्याइएको छ । तिनमा अक्सिजन जडान छैन । अहिलेसम्म आईसीयू बेड छैनन् । संक्रमितको स्वास्थ्यमा समस्या देखिए सहरी क्षेत्रका अस्पतालमा पुर्‍याउनुपर्ने बाध्यता छ ।

अर्घाखाँचीमा पनि पूर्वाधारको अभाव चर्को छ । ‘जिल्ला अस्पतालमा आईसीयू सञ्चालन गर्न मन्त्रालयसित माग गरिएको छ तर अहिलेसम्म टुंगो लागेको छैन,’ सन्धिखर्क अस्पताल प्रमुख डा. कपिल गौतमले भने, ‘अक्सिजन जडित आइसोलेसन बेड निर्माणको काम भइहेको छ । केही दिनमै सेवा सुचारु हुन्छ ।’ अस्पतालमा सिकिस्तै भएर बिरामी आउँछन् । ‘पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिन्छ, आईसीयूमा राखेर उपचार गर्ने बिरामी हुन्छन्, यहाँ नभएकाले धेरैको ज्यान बचाउन सक्ने अवस्था छैन,’ उनले भने । जिल्लाका ६ वटा स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन छैनन् । जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र छन् । त्यहाँ पनि आइसोलेसन बेड छैनन् । अस्पतालमा दुईवटा भेन्टिलेटर छन् ।

रोल्पामा एउटा अस्पताल छ । १५ बेडको अस्पतालमा एक दर्जनलाई पुग्ने अक्सिजन व्यवस्था छ । गम्भीर खालका बिरामीलाई दाङ, नेपालगन्ज, बुटवल–भैरहवाका अस्पतालमा पुर्‍याउनु मात्रै विकल्प हो । तर, त्यहाँ पुर्‍याइएका बिरामीले बेड पाउने सम्भावना निकै न्यून छ । यहाँका संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×