१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

निःशुल्क एम्बुलेन्स, रेखदेखमा स्वास्थ्यकर्मी टोली

एम्बुलेन्स नपाउँदा एक वृद्धको सोमबार ज्यान गएको थियो
नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीका स्थानीय तहले कोरोना संक्रमितका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई एम्बुलेन्सले बोक्न नमानेपछि जनप्रतिनिधिको चौतर्फी विरोध भएको थियो ।

निःशुल्क एम्बुलेन्स, रेखदेखमा स्वास्थ्यकर्मी टोली

सोमबार देवचुली नगरपालिका–१३ का ६८ वर्षीयको समयमै एम्बुलेन्स नपाउँदा ट्र्याक्टरमा अस्पताल लैजानुपरेको थियो । तर बाटोमै उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । ट्र्याक्टरमा बिरामी छटपटाउँदै अस्पताल लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना संक्रमितका लागि आइसोलेसन र एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएका छन् ।

कावासोती नगरपालिकाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स र होम आइसोलेसनमा बसेकाका लागि परामर्श स्वास्थ्य टोली खटाएको छ । ‘नगर क्षेत्रमा रहेका एम्बुलेन्सलाई कोरोना संक्रमित र लक्षण मिल्ने बिरामीका र अन्य प्रकृतिका बिरामी बोक्ने गरेर कार्य विभाजन गरिएको छ,’ उपप्रमुख एवं विपद् व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियाले भने, ‘नगरको आइसोलेसनमा अक्सिजन अभाव हुन दिइने छैन भने गम्भीर प्रकृतिका बिरामीलाई ठूला अस्पताल पुर्‍याउन एम्बुलेन्स निःशुल्क गरेका छौं । संक्रमित भएर घरमै बसेकाको स्वास्थ्य अवस्था बुझ्न टोली परिचालित छ ।’

जिल्लाको गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाले पनि कोरोना संक्रमितलाई समयमै एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेका छन् । ‘समाचार तथा सामाजिक सञ्जालमा उपचार अभावमा मृत्यु भएको खबरले मन आत्तिने गरेको छ,’ कावासोती–१७ का प्रेमनारायण शर्माले भने, ‘रोगले भन्दा पनि उपचार नपाइने र अस्पताल पुग्न नसकिने हो कि भन्ने पीर लागेको थियो । नगरपालिकाले निःशुल्क एम्बुलेन्स र आइसोलेसनमा राख्ने भनेपछि केही आधार मिलेको छ ।’

जिल्लामा पर्याप्त मात्रामा अक्सिजन र स्वास्थ्यकर्मी नहुँदा स्थानीय तहले सुविधासम्पन्न आइसोलेसन निर्माण गर्न पाएका छैनन् । विनयीत्रिवेणी गाउँपालिकाले भने चौबीसै घण्टा अक्सिजन हुने गरी चिकित्सकसहितको ५ बेडको आइसोलेसन बनाएको छ ।

‘अहिले अक्सिजन र चिकित्सकबिनाको आइसोलेसन बनाउन पाइँदैन,’ विनयीत्रिवेणीका प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले भने, ‘एक चिकित्सक र अन्य स्वास्थ्यकर्मी भएकाले आइसोलेसन सञ्चालन गरेका छौं ।’ जिल्ला प्रशासनले जिल्लाभरिका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने र अक्सिजनको अभाव हुन नदिन अक्सिजन उद्योगलाई नवलपुर क्षेत्रका अस्पताल र आइसोलेसनलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । ‘कोरोना नियन्त्रणका लागि सबैभन्दा पहिले स्वास्थ्य सतर्कता अपनाउनु नै उत्तम उपाय हो,’ प्रजिअ मनमाया पंगेनी भट्टराईले भनिन्, ‘निषेधाज्ञालाई कडा गर्ने र आवश्यक अक्सिजन तथा एम्बुलेन्सको व्यवस्थापन गर्नेछौं ।’

प्रकाशित : वैशाख २५, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?