कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पैदलै घर फिर्दै मजदुर

गाडी पाइँदैन, खाने, बस्ने ठेगान छैन, तातो सडकमा पाउरोटीको भरमा यात्रा
हरिराम उप्रेती

गोरखा — काखे बच्चा च्यापेर कान्छी गुरुङ र सदीक्षा गुरुङ पोखराबाट २ दिनको पैदल यात्रापछि गोरखा आइपुगे । दैनिक ज्याला मजदुरीबाट जीविकोपार्जन गर्दै आएका उनीहरू कोरोना जोखिम बढेसँगै थातथलो चुमनुब्री गाउँपालिका–३ सिर्दिवास फर्किएका हुन् । 

पैदलै घर फिर्दै मजदुर

पोखराबाट पैदल आएका कान्छीका ६ परिवार शुक्रबार दिउँसो तेह्रोकिलोमा पैदल हिँडिरहेको भेटिए । कान्छी गुरुङको ६ महिने छोरी, १० वर्षको छोरा, बुहारी सदीक्षा, ९ महिने नातिनी र श्रीमान् कान्छा गुरुङले १३ किलोसम्मको सडक यात्रा निकै सकसपूर्ण भएको बताए ।

‘बिहीबार पोखराबाट निक्लिएको, दमौली आएर बास बस्यौँ । चिनेजानेका एकजना दाइले दमौलीमा खाना खुवाउनुभयो,’ सदीक्षाले भनिन्, ‘आज सबेरै हिँडेको थकाइ मार्न पनि पाएका छैनौँ, बच्चा बोकेर हिँडेको देखेर होला कुनै कुनै गाडीका ड्राइभरले थोरै–थोरै बाटो भए पनि चढाउने र झारिदिने गर्नुभयो । आँबुखैरेनी कटेपछि कुनै गाडी रोकेनन् ।

अल्ली पर पाउरोटी किन्यौं, खाँदै भोक मार्दै हिँडेका छौँ ।’ पैदल यात्राको क्रममा गुरुङ परिवारले गाडी रोक्ने प्रयास नगरेका होइनन् । सडक मार्गमा गुडेको खाद्यान्न र निर्माण सामग्री बोक्ने सवारीले समेत नरोकेको सदीक्षाले गुनासो गरिन् । शुक्रबार गोरखा सदरमुकाम आइपुगेका यो परिवार अब कम्तीमा दुई दिनको पैदल यात्रापछि मात्र सिर्दिवास पुग्नेछन् ।

पोखरामा मजदुरी गर्ने उनीहरू कोरोना कहर, निषेधाज्ञाका कारण गाउँ फर्किएको बताए । मजदुरहरू पहिलो लहरको कोरोना महामारीका बेला पनि पैदलै हिँडेर घर फर्किएका थिए । गत बुधबारबाट गोरखा जिल्लाभर निषेधाज्ञा जारी भएपछि ग्रामीण क्षेत्रमा विकास निर्माण तथा भूकम्पको घर बनाउन आएका मजदुरहरू फर्किन थालेका छन् । निषेधाज्ञाको तेस्रो दिन शुक्रबार गोरखा–आँबुखैरेनी सडक खण्डमा पैदल हिँडेर घर फर्कन कस्सिएका मजदुरहरू भेटिए ।

गोरखा नगरपालिका–३ नारेश्वरस्थित भोगटेनीमा भूकम्पपछि पुनर्निर्माण गरिने घर बनाउन सुर्खेतबाट आएका ५ मजदुरहरू शुक्रबार पैदलै घरतर्फ लागे । भोगटेनीबाट सुर्खेत पुग्न निक्लिएका मजदुरहरू कहाँ बस्ने, के खाने अन्योलमा थिए । ‘गाडी पाइँदैन रहेछ, बस्ने ठाउँ हामीलाई कसले दिने,’ सुर्खेत इत्राम घर बताउने नेत्रबहादुर नेपालीले भने, ‘लुगा र कम्बल बोकेका छौँ, जहाँ रात पर्छ त्यहीं सुत्छौँ ।’ यसरी पैदल जानुपरे कम्तीमा १० दिनमा सुर्खेत पुगिने नेपालीले बताए ।

निषेधाज्ञापछि निर्माणको काम पनि पाइन छाडेपछि आफ्नै घर फर्किएको उनले बताए । बसेर मात्र दिन काट्न मुस्किल पर्ने भएकाले तथा खाद्यान्नको जोहो गर्नै सकस पर्ने देखेपछि फर्किएको ५३ वर्षीय तिलबहादुर परियार बताउँछन् ।

प्रकाशित : वैशाख २५, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?