‘मास्क लगाउँदैनन्, उल्टै थर्काउँछन्’

टोल, गल्ली, बस्ती, समुदाय, बाटोघाटो मानिस हूलका हूल हिंडेका छन् । तर मास्क भने लगाएका छैनन् ।
आश गुरुङ

लमजुङ — बेंसीसहरमा मात्रै होइन, भोटेओडार, सुन्दरबजार, भोर्लेटार, उदिपुर, खुदीलगायत बजार क्षेत्रमा साविक झैं मानिसको आवतजावत छ । सवारी निर्बाध चलिरहेका छन् ।

‘मास्क लगाउँदैनन्, उल्टै थर्काउँछन्’

कोरोना संक्रमण दिनदिनै बढे पनि बेवास्ता गरिरहेका छन् । सार्वजनिक सवारी साधनमा हूलका हूल चढाइएका छन् । कोरोना सर्छ भन्ने हेक्का कसैलाई छैन ।

बेंसीसहरका तरकारी व्यवसायी पप्पु साहका अनुसार तरकारी किन्न आउँदा कतिपय ग्राहकले मास्कसमेत लगाउँदैनन् । दूरीमा बस्न आग्रह गर्दा ‘छिटो देऊ, गइहाल्छु’ भन्छन् । ‘न मास्क लगाउँछन् । न दूरी कायम गरेर बस्छन् । उल्टै नकराउनू भन्छन्,’ उनले भने, ‘सबैका लागि भनेको हो । कसैले मान्छन् । कसैले मान्दैनन् ।’

सबैभन्दा बढी सडकमा बिनाकाम हिंडिरहनेले लापरबाही गरिरहेका छन् । ‘मास्क लगाएर हिंड्नु भन्दा लगाए पनि नलगाए पनि हाम्रो खुसी हो भन्दै हिंड्छन्’ बेंसीसहरको पुरानो बैंकचोकमा ड्युटीमा खटिएका एक प्रहरीले भने, ‘कोही मान्छन् । कोही मान्दैनन् । कसैले चिउँडोमा लगाएर जान्छन् ।’

डीएसपी गंगाबहादुर थापाका अनुसार प्रहरीले केही ठाउँमा यात्रुलाई मास्क वितरण गरेको छ । ‘तपाईंको मास्क खोइ भन्ने ब्यानरहरू टाँगिएका छन् । अझै पनि सर्वसाधारण मास्क लगाउँदैनन्’ उनले भने । उनका अनुसार सबैखाले स्वास्थ्य सुरक्षा अपनाउन माइकिङ समेत गरिएको छ । कोरोना संक्रमण बढेपछि राइनास नगरपालिका ७ र दूधपोखरी गाउँपालिका १ र २ मा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?