कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्पताल चलाउँदै स्थानीय तह

अगन्धर तिवारी

पर्वत — कोरोनाको पहिलो लहरमा कुश्मा बजारमा सामूहिक रूपमा अस्थायी अस्पताल बनाएका जिल्लाका स्थानीय तहले यसपटक आफ्नै पालिकामा अस्पताल सञ्चालनमा ल्याउने भएका छन् ।

अस्पताल चलाउँदै स्थानीय तह

सबैजसो पालिकाले कम्तीमा ५ बेडको अस्थायी अस्पतालका संरचना तयार गर्न लागेका हुन् । महाशिला गाउँपालिकाले वडा ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको हो । पालिकाले १० वटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । ‘हामीसँग अक्सिजन नभएको भए ३ बिरामीलाई पोखरा पठाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले अक्सिजन दिएर यहीं उपचार गरिरहेका छौं ।’

पैयुँ गाउँपालिकाका प्रवक्ता भीमबहादुर गुरुङले यसअघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको छ । जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको छ । तर पालिकासँग अक्सिजनका २ वटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देविन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरिद गरेर व्यवस्थापनको तयारी गरेको छ ।

मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा छ । ‘अहिलेको कोरोनाको लक्षण भनेकै अक्सिजनको कमी देखिएकाले हामीले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेका छौं,’ उनले भने ।

बिहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेसन बेडलाई अक्सिजनलगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए ।

कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनाको प्रयोगले ठूलीपोखरी वा बजारक्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । ‘यसअघि सबै पालिकाले खर्च व्यहोर्ने भनेर अस्थायी अस्पताल बनायौं । खर्च व्यहोर्न आनाकानी गरेपछि त्यो सम्भव भएन । अहिले हामी आफैँले संरचना तयार गर्दैछौं,’ जोशीले भने ।

प्रकाशित : वैशाख २२, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?